PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लकडाउनकै बीच पनि मेलम्चीमा यसरी चलिरहेको छ काम, ७० कामदार ड्युटीमा



दिनेश खड्का

लकडाउनकै बीच पनि मेलम्चीमा यसरी चलिरहेको छ काम, ७० कामदार ड्युटीमा

काठमाडौं : कोरोनाको संक्रमण फैलनबाट रोक्न लकडाउन गरेयता सबैजसो सरकारी आयोजना प्रभावित छन्। तर मेलम्ची खानेपानी आयोजनामा भने कामदार यतिबेला पनि काम गरिरहेका छन्।  

आयोजना प्रमुख तिरेश खत्रीका अनुसार घर टाढा भएका कारण चाहेर पनि फर्कन नपाएका ७० कामदार यतिबेला ड्युटीमै छन्। जुम्ला, कैलाली, महेन्द्रनगर र पाल्पा लगायतका कामदारहरु अहिले पनि काम गरिरहेका हुन्।  

‘ठूलो भोलुममा काम भएको छैन। यहाँ बसेका कामदारहरुले रड बाँध्ने, फर्माहरु हाल्ने काम गरिरहेका छन्,‘ आयोजनाका साइट इन्जिनियर शेखर खनालले भने ‘सिनो हाईड्रोमा काम गर्ने ‍कामदार ड्राइभर र इन्जिनयरहरु गरेर करिब ७० जनाले काम गरिरहेका छन्।‘ बिहिबार विहानै ६ बजेदेखि सुरुङमार्ग भित्र र हेडवर्क्स काम भइरहेको उनले बताए।

एक ठाउँमा ३/४ जनाले गर्नेगरि कलस्टर बनाएर आयोजनाले काम लगाइरहेको छ। 'सुरुङ भित्रका केही काम भइरहेको छ। भोलि ढलान हुँदैछ,' इन्जिनियर खनालले भने, 'ग्याल्थुम सिन्धु लगायत अरु साइटमा काम भएको छैन्। मेरो साइट अम्बाथानमा कफर र स्थायी हेडवर्क्सको काम भइरहेको छ।‘

साइट कार्यालयका अनुसार स्थानीय केही कामदारहरुलाई भने घरै फर्काइएको छ। तिम्बु र आसपासबाट आउने कामदारहरुलाई फर्काइएको हो। त्यसैगरि केही दिनअघि घर फर्कन चाहने कामदारहरुलाई आयोजनाले जान दिएको थियो।

लकडाउन भएको एक सातासम्म डेढ सय जनाले काम गरिरहेका थिए। लकडाउनपछि यातायात सेवा बन्द भएपछि केही कामदार हिडेरै घरतर्फ गएका थिए । फर्कन चाहने कामदारहरुलाई फर्काइरहेको भए पनि धेरै टाढा घर भएकाहरू आयोजनाको निर्माणस्थलमै सुरक्षित बसेका छन्। दुई दिनअघि करिव ३५ जना कामदारलाई फर्काइएको आयोजनाले जनाएको छ।

'हामीले चिनियाँहरुलाई काम रोक भनेका हौ। उनीहरुले नै बाहिरको कोही आउने होइन, हामीलाई काम गर्न समस्या छैन भनेर काम गरिरहेका छन्,' आयोजनाका एक अधिकारीले भने, 'दैनिक स्वास्थ्य जाँच गरेर काम सुरु हुन्छ।'

सिनो हाइड्रो कर्पोरेशनले हरेक महिना ८ तारिखमा पैसा दिन्छ। पैसा पाएपछि फर्कने बताउँदै केही कामदारले भने काम गरेका छैनन्।आयोजनामा स्थायी र अस्थायी गरि दुई वटा हेडवर्क्स निर्माण गर्न लागिएको छ । स्थायी हेडवर्क्स बनाउन समय लाग्ने भएपछि अस्थायी बनाएर केही महिनामा पानी ल्याउने योजना बनाइएको हो। अस्थायी हेडवर्क्सलाई कफर ड्याम भनिन्छ। यो अस्थायी बाँध हो। अहिले यहाँ २० जनाले काम गरिरहेका छन्।

बाँकीले स्थायी हेडवर्क्सभित्रै काम गरिरहेका छन्। जसको काम ५० प्रतिशत पूरा भएको छ। मुख्य काम भने अहिले नभएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार वर्षायाम अघि नै बाँध बनाउन सकिएन भने पछि काम गर्न सकिँदैन्। वर्षामा खोलाको आकार ठूलो हुने हुँदा आसपास काम गर्न सकिदैन। बाँध बनाउन नसके असोजमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने काम हुन सकिदैन।

आयोजना निर्माणको जिम्मा पाएको सिनो हाइड्रो कर्पोरेशनले त्यसैले लकडाउनका बेला पनि काम रोकेको छैन।आयोजनाका इन्जिनियर र परामर्शदाता कम्पनीका इन्जिनियरहरु भने साइटमा गएका छैनन्। उनीहरु क्याम्पमा नै छन्।

आपतकालीन अवस्थामा सुरुङमा पानी हालेर काठमाडौं ल्याउन मिल्छ ?

विश्वभरी महामारीको रुप लिएको भाइरसको संक्रमण बढ्दै गए लामो समयसम्म लकडाउन गर्नुपर्ने अवस्था आउन पनि सक्छ।

जसले काठमाडौंमा खानेपानीको समस्या हुन सक्छ। काठमाडौंमा आपतकलीन अवस्था आए सुरुङमार्गमा पानी हालेर ल्याउन सकिन्छ ? जवाफमा आयोजनाका इन्जिनियर शेखर खनालले कम्तीमा पनि तीन महिनाअघि सम्भव नहुने बताए । 'धेरै काम बाँकी नभएपनि टेक्निकल रुपमा महत्वपूर्ण कामहरु बाँकी नै छ,' उनले भने।

अहिले असोजमा पानी ल्याउने गरि मेलम्ची खानेपानी आयोजनाले संशोधित तालिका सार्वजनिक गरेको छ। अस्थायी बाँध अर्थात कफर ड्याम बनाएर सुरुङमार्ग पानी हालेर ल्याउन लागिएको छ। स्थायी बाँध बनेपछि त्यहीँ ल्याइनेछ।

आयोजनाका अनुसार अहिले कफर ड्याम बनाएर डाइभर्सन आउटलेटमा पानी हालिएको छ। आउटलेटको गेट हालेर थुन्नेबित्तिकै पानी सुरुङमा जान्छ। तर त्यसका लागि सुरुङमार्ग तयार छैन। सुरुङमार्ग तयार भएको भए तत्कालै पानी ल्याउन कुनै समस्या हुँदैनथ्यो।

सुरुङमार्गमा रहेका 'अडिट टनेल' हरुमा गेट हाल्ने काम बाँकी नै छ। अम्बाथान, सिन्धु र ग्याल्थुमका अडिट टनेलमा गेट हाल्नुपर्छ। गेट हालिएन भने पानी अडिट टनेलबाट बाहिर निस्कन्छ। एउटा गेट हाल्नमा कम्तिमा एकदेखि डेढ महिना लाग्ने इन्जिनियरहरुको भनाई छ। यही हिसाबमा पनि 'वर्क फोर्स' नबढाउने हो भने गेट हाल्नै तीन महिना लाग्नेछ।

भेन्टिलेसनको साफ्टको काम बाँकी छ। सुरुङमार्गको सतह समथर नभएका कारण पानी हालेपछि हावा जमेर सुरुङमार्गमा क्षति पुग्न सक्छ। सुरुङमार्गको भित्रबाट हावा बाहिर जानका लागि प्वाल पार्ने काम 'भेन्ट साफ्ट' हो। तीनवटा भेन्ट साफ्ट बनाउनु पर्नेछ, जसमा एउटामात्रै तयार छ।

त्यसैगरि खोलाको पानीसँग आउने गिटी र बालुवा लगायतलाई पुन: मेलम्ची खोलामा नै पठाउने गरि अम्बाथानमा फ्लसिङ सिस्टम बनाउन लागिएको छ। जसको काम नै सुरु भएको छैन। फ्लसिङ नबनाइ सुरुङमा पानी हाल्न मिल्दैन। यस्तो संरचना बनाउन कम्तीमा दुई महिना लाग्नेछ।

त्यसैगरि सुरुङमार्गको अवस्थामा बारे जानकारी लिन र सर्भिलेन्स गर्न इन्ट्रमेन्ट जोड्ने काम बाँकी नै छ। जसले आयोजनाको एउटा रुममा बसेर सम्पूर्ण अवस्थाको जानकारी दिन्छ। फाइनल फेजमा फिनिसिङका केही काम बाँकी छ। त्यसका लागि फुल फेजमा काम भए महिना दिन लाग्छ। 'अहिले पहिलेको तुलनामा काम भएको छैन। यही गतिमा कहिले हो भन्न सकिदैन,' एक इन्जिनियरले भने।

यता सुन्दरीजलमा ट्रिटमेन्ट प्लान्ट र राजधानीवासीको घरघरमा पुग्नेगरि पाइप जडान गरिसकेको भएपनि सुरुङमार्ग नै तयार अवस्थामा छैन्। करिब दुई दशकदेखि राजधानीवासीको मृगतृष्णा बनेको मेलम्ची कोरोनाको कारण थप लम्वबने निश्चित छ।

कोरोनाको रोकथाम छिट्टै भएर काम गर्न पाए अब धेरै समय पर्खिनु नपर्ने आयोजनाको अधिकारीहरुको दाबी छ। तर यो प्रकोप कहिले सकिने  र कामलाई गति दिने भन्नेमा अन्योल  छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell