PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लकडाउनमा प्रकाशमान सिंह : बिहान तौल घटाउन एक्सरसाइज, दिउँसो भागवत गीताको पढाई



कुञ्जरमणि भट्टराई

लकडाउनमा प्रकाशमान सिंह : बिहान तौल घटाउन एक्सरसाइज, दिउँसो भागवत गीताको पढाई

काठमाडौँ : पार्टी र संसदीय गतिविधिबाट यतिबेला फुर्सदिला बनेका छन् प्रकाशमान सिंह। चाक्सीबारीस्थित निवासमा कार्यकर्ताको भीड घटेको छ। निर्वाचन क्षेत्रको विकासे कामकाजबाट पनि फुर्सद मिलेको छ। सदन र पार्टीका गतिविधि लकडाउनसँगै 'लक' भएपछि काँग्रेस नेता सिंहको दैनिकी चाक्सीबारीको निवासमै खुम्चिएको छ।

लकडाउनले बाह्य गतिविधि कम भए पनि नियमित तालिका भने उनको फेरिएको छैन।

खेलमा चासो दिने सिंहको तौल भने पछिल्लो पटक बढेको छ। लकडाउनको मेसोमा तौल घटाउने प्रयासमा छन् उनी।

'लकडाउनले भेटघाट पातलिए पनि उठ्ने समय बिहान ५ बजे नै हो। अहिले पनि त्यही समयमा नै उठ्छु, 'उनले भने, 'त्यसपछि एक्सरसाइजमा जुट्छु। तौल घटाउनुपर्‍यो नि।'

चिकित्सकको सुझाव अनुसार नै आफूले व्यायम थालेको उनले बताए। भने, 'डाक्टरले सल्लाह पनि दिनुभएको छ। घरकै कम्पाउण्डमा बिहान एक-डेढ घण्टा एक्सरसाइज गर्छु।'

तौल घटाउन व्यायममात्र गरेर पनि भएन। त्यसैले खानपानमा पनि ध्यान दिने गरेको सिंह बताउँछन्।

'तौल घटाउन खानपिनमा पनि कन्ट्रोल गरेको छु', उनले सुनाए।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहको दिन भने अध्ययनमा बित्ने रहेछ। भन्छन्, 'दिउँसो पुस्तक पढ्छु, बढीजसो आर्टिकल पढ्ने गर्छु। कोरोना भाइरसका विषयमा अनलाइनमा प्रकाशित समाचार, आर्टिकलहरू हेर्छु।'

यसपटक धार्मिक किताबमा पनि केही समय दिन थालेको उनले बताए। 'भागवत गीता पढ्न थालेको छु। पहिले नै पढिसकेको हो। फेरि एक चरण पढ्दै छु', सिंहले भने।

केही समय युट्युबमा पनि बिताउँछन् उनी। भन्छन्, 'म युट्युबमा सफलता हासिल गरेका, इन्सपायरिङ व्यक्तिहरूको अन्तर्वार्ता हेर्छु। कोरोनासँग सम्बन्धित अन्तर्वार्ता पनि हेर्छु।'

गीत सुन्नेदेखि टेलिभिजनमा समाचार हेर्न पनि भ्याउँछन् नेता सिंह।

जमघटबाट टाढा बस्नुपर्दा न्यास्रो लाग्छ होला नि? सिंह हाँस्दै जवाफ दिन्छन्, 'जेलमा पनि बसेकाले भित्र बस्न अभ्यस्त छु। लामो समय जेल बसिसकेकाहरूलाई यसरी बस्न असहज हुँदैन। बानी परेको हुन्छ नि।'

यसो त अहिले लकडाउनका कारण जनता पनि समस्यामा परेका छन्।

जनतालाई दुःख सुखमा साथ दिन्छु भन्ने वाचा गरेका नेताहरुको विपद्का बेला यसरी मात्र दिन बित्ने कुरै भएन। भेटेर भन्न नपाए पनि फोनमा समस्याका पोका फुकाउँछन् जनताहरूले।

भन्छन्, 'बाटामा अलपत्र पर्‍यौँ, जाने खर्च भएन, खाद्यान्न सकियो भनेर विभिन्न जिल्लाबाट फोन आउँछ। फोनबाटै आफूले सकेसम्म ती समस्याको समाधान गरेको छु। आफ्ना-साथीभाइहरु, सम्बन्धित ठाउँका चिने जानेका मानिसहरूसँग समन्वय गरेर समस्या सुल्झाएको छु।'

त्यस्तै नेता सिंहले काठमाडौं महानगरपालिकाले जनताहरूका लागि राहत बाँडेको ठाउँमा गएर जनताका समस्याबारे जानकारी लिइरहेको बताए।

'सामाजिक दूरी कायम गरी महानगरले राहत बाँडिरहेको केही ठाउँमा पुगेँ। मेरा एक जना साथीले सहयोग गर्नुभएको रहेछ। आइदिनुपर्‍यो, हौसला बढाइदिनुपर्‍यो भन्नुहुन्छ।' उनले भने।

कोरोना जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको उनले समर्थन गरे। तर विपदको अवस्थामा पनि विभिन्न अनिमियताको कुरा उठ्नु दुःखलाग्दो भएको नेता सिंहले बताए।

न्यूनतम रूपमा कोरोना संक्रमित कति भनेर टेस्ट गर्न नसकेकोमा पनि सिंहले असन्तुष्टि जनाए। 'जाँच्दै नजाँचेपछि रोगी हो भनेर कसरी थाहा पाउन सकिन्छ?' सिंहको प्रश्न छ।

स्वास्थ्य सामाग्री खरिदमा भएको भनिएको अनियमिततामा पनि उनले असन्तुष्टि जनाए। उनले भने, 'स्वास्थ्य सामाग्री चीनबाट खरिद गरेर ल्याउँदा अनियमितता भएको खबर आएको छ। प्रदेशमा पठाइएको सामाग्रीमा भने अनुसार आएको छैन भन्नेछ। विपद्को अवस्थामा खेलबाड गर्ने? यसको जिम्मेवारी सरकारले लिनुपर्छ।'

त्यस्तै सीमा नाकामा अलपत्र परेकाहरूको समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell