PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कोभिड - १९ सँगै धार्मिक प्रोपोगाण्डा मच्चाउँदै



पहिलोपोस्ट

कोभिड - १९ सँगै धार्मिक प्रोपोगाण्डा मच्चाउँदै

काठमाडौं : कोभिड-१९ विश्वभर फैलिँदै गर्दा सोमालियाको मुस्लिम लडाकु समूहले यसलाई आफ्नो प्रोपागाण्डा हतियारको रुपमा प्रयोग गरेको छ। यहाँका मुस्लिम समुदाय कोभिड-१९ विरुद्धको लडाईँमा अग्रपङ्क्तिमा रहेर प्रोपोगाण्डाको रुपमा प्रयोग गरिरहेको बीबीसीले जनाएको छ।

सोमालियामा सक्रिय अलकायदा समर्थित अल शबाबले कोभिड १९ को संक्रमणबाट सचेत रहन सूचना जारी गरेको छ। उसले देशलाई गुलाम बनाउनेहरुले यसलाई फैलाएको आरोपसमेत लगाएको छ।

यो लडाकु समूहले सोमालियाको दक्षिणी र मध्ये क्षेत्रमा कब्जा गर्दै दशकदेखि आफ्नो उपस्थित जनाउँदै आएको छ। विश्व स्वास्थ्य संगठनले जारी गरेको बुधवारको रिपोर्टमा सोमालियमा पाँच जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको उल्लेख छ।

हाललाई संक्रमण कम भए पनि महामारीको रुप लिए यसविरुद्ध लड्न नसक्ने भन्दै त्यहाँका अधिकारीहरु चिन्तित छन्।

३० वर्ष लामो द्वन्द्वले यहाँका स्वास्थ्य सेवा धरासायी बनाएको छ। लाखौं मानिस शिविरमा थुप्रिएका छन्। यहाँ साबुन पानीको प्रबन्ध पनि राम्रो छैन। सामाजिक दुरी कायम गर्ने अवस्था पनि छैन।

सोमालियाका मुस्लिम धर्मगुरुहरुले कोभिड-१९ विरुद्ध लड्ने घोषणा गरेका छन्। यहाँका मदरसा बन्द गरिएका छन्। संक्रमण फैलिन नदिनका लागि बन्द गरिएका हुन्। सोमालियका हरेकजसो बालबालिका मदरसा जाने गर्छन्।

सोमालियको धार्मिक मामिला, स्वास्थ्य तथा सूचना मन्त्रालयले त्यहाँका मुस्लिम नेताहरुसँग मिलेर शिक्षक तथा धार्मिक गुरुहरुलाई 'एन्टी कोरोना आर्मी'को रुपमा परिवर्तन गराएको छ।

'उनीहरु सडकका किनारामा उभिने छन्। मानिस भेला हुने स्थानमा उभिने छन्। र कोभिड-१९ कसरी सर्छ भन्ने जानकारी सर्वसधारणलाई गराउने छन्, ' सोमालियाको प्रधानमन्त्री कार्यालयको अतिवाद प्रतिरोधी तथा हिंसा नियन्त्रण इकाइका सह-संयोजक कोसिन अब्दी हासीले भनेका छन्, 'उनीहरु लाउडस्पिकर जोडिएका गाडीमा चढेर शहर घुम्ने छन्। मास्क र मदरसाको सन्देश फैलाउने छन्।'

यहाँको एक विश्वविद्यालयका प्राध्यापक तथा धार्मिक मामिला मन्त्रालयका वरिष्ठ सल्लाहकार मोहमद अली इब्राहिमले यस्ता सन्देशमा धर्मिक चेतसमेत हुने बताए।

यसरी तयार गरिएको एन्टी कोरोना आर्मीले मानिसहरुले हात धोएका छन् वा छैनन्, साबुनको प्रयोग गरेका छन् कि छैनन् र सामाजिक दूरी कायम गरेका छन् कि छैनन् भन्ने अनुगमन गर्ने बताइएको छ।

यद्यपि धेरै जनघनत्व भएका शिविरमा यो सबै सम्भव छैन। हात धुने सुविधा केही शिविरहरुमा गरिए पनि सामाजिक दूरी कायम गर्ने विषय समस्याको विषय भएको हासीले बताए।

धार्मिक मामिला उपमन्त्री ओसमा अडेनले कोभिड-१९ विरुद्ध लड्नका लागि धार्मिक गुरुहरु तथा मदरसाका शिक्षकहरुलाई प्रयोग गरिने बताए। 'मानिसहरु अन्य व्यक्तिभन्दा उनीहरुलाई धेरै सुन्छन्। उनीहरुको निर्देशन मान्छन्, ' उनले भने।

तर पनि सोमालियामा कोभिड-१९ का विषयमा फैलिइरहेका मिथ्या सन्देशसँग लड्न सरकारलाई कठिन छ। यहाँ मानिसहरुले चीनलाई उसले मुस्लिमहरुलाई गरेको व्यवहारको सजाय दिन कोभिड-१९ सिर्जना गरिएको विश्वास लिइरहेका छन्।

संक्रमण अमेरिका पुग्दा मुस्लिम समुदायलाई दबाएको सजाय स्वरुप कोभिड पुगेको विश्वास राख्ने पनि छन्। असल मुस्लिमलाई रोगले नछुने विश्वाससमेत राख्छन्।

सोमालिया सरकारले कोभिड-१९ विरुद्धको अभियानमा चालेका कदमको विरोध त्यहाँको अल शबाब समूले गर्ने र यसको फाइदा उठाउने जोखिम पनि उत्तिकै छ। उसले मदरसा बन्द गरेको विरोध गर्दै धार्मिक समुदायलाई आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ।

कोभिड-१९ लाई उनीहरुले विदेशी हस्तक्षेपको रुपमा व्याख्या गर्दै आफ्नो पक्षमा जनमत पार्न सक्ने सम्भवाना पनि उत्तिकै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell