PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

नेपालमा १३ जना इन्डोनेसियन : सप्तरीमा अलपत्र, काठमाडौंका मस्जिदहरुमा रहन रोक, होटलबाट पनि निकालियो रातारात



सविन ढकाल

नेपालमा १३ जना इन्डोनेसियन : सप्तरीमा अलपत्र, काठमाडौंका मस्जिदहरुमा रहन रोक, होटलबाट पनि निकालियो रातारात
प्रतीकात्मक फाइल फोटो : पहिलोपोस्ट

काठमाडौं : जनवरी २१ फेब्रुअरी ११ तारिकका दिन १३ जनाको इन्डोनेसियन धार्मिक समूह बैंककबाट नेपाल ओर्लियो। घण्टाघरसँगैको मस्जिदमा उनीहरुका लागि विशेष व्यवस्था गरिएको थियो। दुई दिन उनीहरु त्यहीँ बसेर धार्मिक कार्यमा सरिक रहे।

सप्तरीमा इज्तमा सुरु हुन लागेको थियो। इज्तमा अर्थात् मुस्लिम समुदायको धार्मिक प्रवचन। उनीहरु फेब्रुअरी ८ मा काठमाडौंबाट सप्तरी पुगे। १४ देखि १६ तारिकसम्म त्यहाँ आयोजित कार्यक्रममा सहभागी भए। कार्यक्रम सकिएपछि पनि केही दिन उनीहरु त्यहीँ बसे।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको थियो। नेपाल पनि यसबाट अछुतो रहन सक्ने कुरै थिएन। संक्रमण फैलिने भएपछि चैत ११ गतेबाट लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गर्‍यो। लकडाउनका कारण धार्मिक कार्यक्रममा पुगेका उनीहरु त्यहीँ फसे। यसरी फस्नेहरुमा एक महिला र बाँकी पुरुष हुन्। 

थप एक साता लकडाउन लम्बियो। त्यसपछि उनीहरु काठमाडौं आउने योजना बन्यो। बुधवार उनीहरुले सप्तरी जिल्ला प्रशासनसँग अनुमति लिएर काठमाडौंको माछापोखरीमा रहेको मस्जिदमा आउनको लागि हिँडे। सिन्धुलीको बाटो हुँदै उनीहरु अनुमति लिएर हिँडेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए।

'उनीहरुले प्रशासनबाट नै अनुमति लिएर हिँडेको देखियो। सिन्धुली हुँदै गाडीमा आएका थिए,' एसएसपी राईले भने।

त्यसो त भारतमा कोरोना भाइरस फैलाउन मस्जिदमा आयोजित एक कार्यक्रमले यतिखेर निक्कै दोष खेपिरहेको छ। भारतीयसँगै धेरै विदेशीहरु पनि थिए त्यस धार्मिक सभामा। कतै उनीहरु त्यही कार्यक्रममा सहभागी त भएका थिएनन्?

उनीहरु भारतबाट आएको भन्ने हल्ला मात्र भएको एसएसपी राईको दाबी छ। 'इन्डोनेसियन नागरिक हुन्। भारत जाना उनीहरुलाई भिषा चाहिन्छ। भारतको भिषा देखिँदैन,' राईले भने।

सप्तरी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत आनन्दकुमार श्रेष्ठले उनीहरु अलपत्र परेको जानकारी आएपछि गाडीको व्यवस्था मिलाएर पठाएको जानकारी दिए।

'उनीहरु भारत गएको भन्ने देखिँदैन। अलपत्र परेपछि हामीले गाडीको व्यवस्था मिलाएका हौं,' अधिकृत श्रेष्ठले भने।

बुधवार राति उनीहरु माछापोखरीमा रहेको मस्जिदमा पुगेका थिए। तर, उनीहरुलाई मस्जिदमा बस्न दिइएन। कोरोना संक्रमणको हल्ला भएको कारण विरोध भयो। त्यसपछि उनीहरुलाई ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जान सुझाव दियो। उनीहरु इमाडोलको मस्जिदमा पुगे। तर, त्यहाँ पनि उनीहरुलाई लामो समयसम्म राखिएन। त्यहाँ पनि मानिसले विरोध गरे।

रातारात प्रहरीले उनीहरुलाई गोदावरीमा रहेको पार्क भिलेज होटलमा लगेर राख्ने व्यवस्था मिलाएको थियो। उनीहरुलाई त्यहाँ पुर्‍याइयो। तर, त्यहाँ पनि उनीहरुको बसाई लामो हुन भने सकेन।

राती नै अन्यन्त सार्न दवाव आयो। प्रहरीले अहिले उनीहरुलाई त्यहाँबाट अन्यन्त्र सारिएको परिसरका एसएसपी राईले बताए। 'हामीले उहाँहरुलाई अन्यन्त्र लगेका छौं,' एसएसी राईले भने, 'कहाँ लगियो चाहिँ नखुलाऔं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell