अमेरिकी एयरक्राफ्ट क्यारियरमा कोभिड-१९ को संक्रमण भएको जानकारी गराउने कमाण्डरलाई पदबाट हटाइएको छ। उनलाई गलत निर्णय गरेको भन्दै पदबाट निकालिएको हो। उनले एक दिन अगाडिमात्र नेभि नेतृत्वलाई सहयोग आवश्यक भएको बताउँदै चेतावनी सहित मेमो लेखेका थिए। बिहीवार अमेरिकी नेभिका कार्यबाहक सचिव थोमस मोड्लीले उनलाई पदबाट हटाएको जानकारी दिए।
अमेरिकी थियोडोर रुजबेल्टका क्याप्टेन ब्रेत क्रोजियरलाई क्यारियर ग्रुपका कमाण्डर रिअर एडमिरल स्टीवर्ड बेकरेले प्रतिस्थापन गरेका छन्।
'क्रोजियरलाई एकदम गलत निर्णय गरेका कारण हटाइएको हो,' कार्यवहाक सचिव मोड्लीले भने। उनलाई कुनै गोप्य सूचना प्रेसलाई चुहाएको भएर नभइ उनलाई उनको गलत निर्णयका कारण हटाइएको जानकारी उनले दिए।
'मलाई यस विषयमा कुनै जानकारी छैन र मैले उनले सूचना चुहाएको भनेर प्रमाणित गर्न खोजेको पनि छैन। सान फ्रान्सिस्को क्रोनिकलमा प्रकाशित भएको थियो। यसले सबैलाई आश्चर्य बनाएको छ कि यो पत्रिकामा आयो। यस्तो मैले पहिलो पटक देखेको हुँ,' उनले भनेका थिए।
अमेरिकी नेभीको प्यासिफिक फ्लिटमा कोभिड-१९ को संक्रमणबारे समाचार आएको थियो। मोड्लीले क्रोजियरको नोटलाई 'ब्लास्ट आउट इमेल'को रुपमा संज्ञा दिएका छन्।
'हामी कुनै युद्धमा छैनौं। सेलरहरु मर्न आवश्यक छैन। यही हामीले समयमै ध्यान दिएनौं भने हामीले हाम्रो विश्वासिलो सम्पत्ति हाम्रा सेलरको रक्षा गर्न हामी असफल हुने छौं,' अमेरिकी रक्षा अधिकारीले भनेका छन्।
मोड्लीले क्रोजियर चेन अफ कमाण्डभन्दा बाहिर गरेर मेमो असुरक्षित प्रणालीबाट पठाएको र यो सूचना चुहिने खतरा भएको बताए।
'उनले सूचना चुहिएला भन्ने हेक्का राखेनन् जुन उनको जिम्मेवारी थियो,' मोड्लीले भनेका छन्, 'उनलाई हटाउन ममाथि कुनै दबाब पनि परेको छैन। मैले ह्वाइट हाउससँग यस विषयमा कुनै पनि संवाद गरेको छैन। मैले यस विषयमा सेक्रेटरी एस्परसँग कुरा गरेको र मेरो जस्तो निर्देशन आएपनि समर्थन गर्ने प्रतिवद्धता पाएँ।'
ह्वाइट हाउसका अधिकारीले बिहीवार उनको कदमको भर्त्सना गरेका थिए।
रुजबेल्टमा रहेका १ सय १४ जनालाई कोभिड-१९ को संक्रमण देखिएको छ। जुन अमेरिकी सेनामा भएको कूल संक्रमणको १० प्रतिशत बढी हो। गत सातामात्र ह्वाइट हाउसले रुजबेल्टमा रहेका तीन जनालाई संक्रमण भएको पुष्टि गरेका थिए। त्यसको दुई दिनमा यो संख्या २५ पुग्यो। बुधवारमात्र यो संख्या ७० पुग्यो र बिहीवार आइपुग्दा १०० बढ्यो।
सोमवारमात्र अमेरिकी रक्षा अधिकारीले अमेरिकी एयरक्राफ्ट क्यारियर रोनाल्ड रेगनमा पनि संक्रमण देखिएको सिएनएनलाई बताएका थिए।
क्रोजियरको मेमोमा नेभी नेतृत्वलाई तत्काल आवश्यक कदम उठाउन भनेका थिए। उनले अमेरिकी न्युक्लियर एयरक्राफ्ट क्यारिअरमा रहेकालाई तत्काल निकालेर आइसोलेसनमा राख्न सुझाव दिएका थिए।
रुजवेल्टमा चार हजार युवाहरुलाई राख्नु अनावश्यक जोखिम भएको र यसले विश्वास तोड्ने उनले मेमोमा भनेका थिए।
बुधवारमात्र मोड्लीले चार हजार ८ सय सदस्य रहेको रुजबेल्टका एक हजार २ सय ७३ जनाको परीक्षण भएको जानकारी दिएका थिए।
एक हजार जनालाई उद्दार गरी गुआमा रहेको होटलमा क्वारेन्टाइमा राखिएको थियो। अझै पनि जहाजमा एक हजार जना रहेका छन्।
'यो जहाजमा हतियार छन्। यसमा महँगा एयरक्राफ्ट छन्। यसमा एउटा न्युक्लियर पावर प्लान्ट छ। यसमा केही मानिसहरु आवश्यक छ जसले यसको सुरक्षा गरुन्,' मोड्लीले भनेका छन्।