भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दियो बालेर कोरोना भाइरसको अन्धकारलाई चुनाैती दिन आह्वान गरेका छन्।
शुक्रबार विहान देशवासीका नाममा सम्बोधन गर्दै मोदीले १३० करोड भारतीयले आगामी आइतबार राती ९ बजे घरमै बसेर दियो जलाउन आह्वान गरेका हुन्।
'घरको सबै लाइट बन्द गरेर ढोका अथवा बाल्कोनीमा मोमबत्ती, दिया, टर्च र मोबाइलको फ्ल्यास लाइट अनिवार्य बाल्नुस्,' मोदीले भने, 'सबै लाइट बन्द गरेर चारैतिर सबै व्यक्तिले दियो बाल्दा प्रकाशको महाशक्तिलाई महसुस हुनेछ कि हामी कोरोनासँग एकसाथ लडिरहेका छौं। हामी एक्लै छैनौं।' मोदीले ९ मिनेटसम्म दियो जलाउन आग्रह गरे।
राजनीतिक विश्लेषकहरुले मोदीको आह्वानलाई सकारात्मकताका लागि उत्तम उपाय भएको टिप्पणी गरेका छन्। लकडाउनको निराशामा रहेका नागरिकलाई यसले सक्रिय बनाउने उनीहरुको भनाई छ।
मोदीले कोरोनाको अन्धकारबाट उज्यालोतर्फ जान, गरिब भाइबहिनीलाई कोरोना संकटबाट पैदा भएको निराशाबाट आशातर्फ डोर्याउन, कोरोना संकटको अन्धकार र अनिश्चितलाई पराजित गर्न प्रकाशको तेजलाई चारै दिशामा फैलाउनुपर्ने बताए। 'आइतबार सबै मिलेर कोरोना संकटको अन्धकारलाई चुनौती दिनुपर्छ। उज्यालोको ताकतको महसुस गराउनुपर्छ। महाशक्ति जागरण देखाउने बेला आयो,' मोदीले भने।
'जब घर घरमा दिया बल्नेछ महाशक्तिको अनुभूति हुनेछ। त्यो प्रकाश, उज्यालोमा हामी एक्लै छैनौ, १३० करोड भारतीय एकै संकल्पका साथ छन् भन्ने देखाउनेछ,' मोदीले थपे, '१३० करोड वासीको शक्ति हरेक व्यक्तिसँग छ। अनुभूति गर्नुपर्छ। जनता जनार्दन ईश्वरको रुप भनिन्छ। जनतारुपी महाशक्तिको साक्षात्कारले मनोबल र लक्ष्य दिनेछ। प्राप्तिका लागि उर्जा दिन्छ। मार्ग प्रशस्त गर्छ।'
सम्बोधनका क्रममा मोदीले दियो बाल्दा घरमै बस्न र सामाजिक दुरीको लक्ष्मण रेखा ननाघ्न अनुरोध गरे। 'महाशक्तिको जागरण गर्नुपर्छ। १३० करोड भारतीयको महासंकल्पलाई नयाँ उचाईंमा लैजाने छ,' मोदीले भने। लकडाउनमा मानिसहरु घरमा एक्लै भए पनि १३० करोड भारतीयको महाशक्ति हरेकको साथमा रहेको उनको भनाई छ।
यहीँ कोरोनाबाट बच्ने रामवाण भएको मोदीले बताए। 'संकट यो घडीमा सबै एकसाथ उभिएर कोरोनालाई हराउ भारतलाई विजय गराउ,' उनले आह्वान गरे।
यसअघि २२ मार्चमा जनता कर्फ्यूका दिन घण्टी र थाली बजाएर चिकित्सक, सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गर्न मोदीले आह्वान गरेका थिए। मानिसहरु थाली ठटाउँदै जुलसमै उत्रिएका थिए। त्यसपछि उनको आह्वानलाई लिएर आलोचना भएको थियो।