
काठमाडौं :‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ। आयोजकले थप सात वटा नाटक यस भर्चुअल नाटक महोत्सवमा देखाउने भएको हो। जस अन्तर्गत् शुक्रबार 'उपियाँको निबन्ध' नाटकको भिडियो प्रसारण हुँदैछ।
केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटकले शिक्षक र विद्यार्थीको सम्बन्धमार्फत देशको शैक्षिक पद्धति र त्यसले बाल मनोविज्ञानमा पार्ने असरको चर्चा गर्छ।
दर्शकलाई घरी बाल्यकालमा पुर्याउने, घरी शैक्षिक बहसले गम्भीर बनाउने नाटक ‘उपियाँको निबन्ध’ रमाइलो त छँदैछ, त्यससँगै शैक्षिक पद्धतिमाथि सोच्न समेत बाध्य बनाउँछ यस नाटकले।
साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् नाटकको भिडियो प्रसारण हुनेछ। नाटक यसअघि थिएटर मलमा चार वर्षअघि र मण्डला थिएटरमा दुई वर्षअघि मञ्चण भएको थियो।
थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले यस भर्चुअल महोत्सवलाई संयुक्त रुपमा आयोजना गरेका हुन्। त्यस्तै काठमाडौंका अन्य थिएटरको समेत सहकार्य रहेको छ।