PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कोभिड - १९ अप्रिल अन्तिमसम्म नियन्त्रणमा आउने चिनियाँ विज्ञको भनाइ, रिपोर्ट भन्छ : युरोपमा एक लाख २० हजार मानिसको सम्भावित मृत्यु टर्‍यो



पहिलोपोस्ट

कोभिड - १९ अप्रिल अन्तिमसम्म नियन्त्रणमा आउने चिनियाँ विज्ञको भनाइ, रिपोर्ट भन्छ : युरोपमा एक लाख २० हजार मानिसको सम्भावित मृत्यु टर्‍यो

काठमाडौं : चीनका श्वासप्रस्वास सम्बन्धी रोगका विज्ञले कोभिड-१९ को संक्रमण अप्रिल महिनाको अन्त्यसम्ममा विश्वभर नियन्त्रणमा आउने बताएका छन्।

यद्यपि, उनले अर्को स्प्रिङमा पुन: आउटब्रेक हुन्छ वा हुँदै भन्ने अनिश्चितता रहेको समेत बताएका छन्।

'सबै देशहरुले आक्रमक र प्रभावकारी रुपमा रोकथामका उपायहरु अपनाइरहेका छन्। मलाई विश्वास छ, यो संक्रमण नियन्त्रणमा आउनेछ। मेरो अनुमान अप्रिलको अन्त्यसम्म हुने छ,' कोभिड-१९ सम्बन्धी चिनियाँ सरकारले तयार पारेको विज्ञहरुको समूहका एक सदस्य जोङ नासानले शन्जेन टेलिभिजनसँगको अन्तर्रवार्तामा भनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

'अप्रिलको अन्त्यपछि, कसैले पनि यो भन्न सक्दैनन् कि अर्को भाइरस आउटब्रेक आगामी स्प्रिङमा हुन्छ या हुँदैन अथवा पूर्ण रुपमा गर्मी मौसममा हराउँछ भन्नेकुरा। तर, पनि भाइरसको गतिविधि निश्चित रुपमा उच्च तापक्रममा हराउँछ,' उनले भनेका छन्।

जोङले उनी यो निष्कर्षमा कुन आधारमा पुगे भन्ने खुलाएका छैनन्।

तर, अन्य विज्ञले पनि अमेरिका र युरोपमा भइरहेको पछिल्लो विकासक्रमलाई हेरेर यस्तै प्रक्षेपण गरेका छन्।

विश्व स्वास्थ्य संगठन डब्लएचओका स्वास्थ्य आपतकालीन कार्यक्रमका निर्देशक माइक रियनले यस साता यस्तै प्रक्षेपण गरेका थिए। उनले आउटब्रेक स्थिर हुने बताएका थिए।

अमेरिकामा पनि वासिङटन विश्वविद्यालयको इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसनले अप्रिल २० सम्म अस्पतालहरु कोभिड-१९ को विरामीमा चाप उच्च रुपमा व्यहोर्ने बताएको छ।

विश्वभर १० लाख मानिसहरु संक्रमित हुँदा सवा दुई लाख बढी अमेरिकामा संक्रमित छन्।

युरोपेली रोग नियन्त्रण तथा रोकथाम केन्द्रले इयु सदस्य राष्ट्र बेलायतमा चार लाख २१ हजार बढी संक्रमित भएको र स्पेन तथा इटालीको संक्रमण सबै युरोप भन्दा आधा रहेको जनाएको छ।

जोङले अहिले विश्वभरका सरकारहरुले पान्डेमिक विरुद्ध मिलेर काम गर्नुपर्ने बताए।

'अमेरिकासहितका देशहरुले आक्रमक र प्रभावकारी उपायहरु अपनाएका छन्। र प्रभावकारी र प्राथमिक उपाय भनेको मानिसहरुलाई घरमै सीमित बनाउनु हो,' उनले भनेका छन्।

लण्डनको इम्पेरिकल कलेजले यस साता सार्वजनिक गरेको रिपोर्टमा ११ युरोपेली देशहरुले अपनाएको सामाजिक दुरी कायम गर्ने नीतिले भाइरसको संक्रमण फैलिन घटाएको र एक लाख २० हजारको सम्भावित मृत्युलाई टालेको उल्लेख छ।

यस अध्ययनले युरोपमा कुल जनसंख्याको २ देखि १२ प्रतिशतसम्म संक्रमित हुने प्रक्षेपण गरेको छ। रिपोर्ट विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा तयार पारिएको हो।

'पक्कै पनि युरोपका लागि यो कठिन समय हो। तर पनि सरकारहरुले जनस्वास्थ्य प्रणालीका लागि महत्त्वपूर्ण कदम चाललेका छन् जनु खेर जाने छैन,' रिपोर्टका एक लेखक तथा स्कुल अफ हेल्थ साइन्सका सिनियर लेक्चर डा समिर भाटले भनेका छन्, 'यसले काम गरिरहेको भन्ने कुराको ठोस नतिजा देखिन थालेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell