PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाबुराम, कमल थापापछि नेकपा नेता पनि विरोधमा : सबै काम सेनालाई दिने भए सरकार किन चाहियो?



पहिलोपोस्ट

बाबुराम, कमल थापापछि नेकपा नेता पनि विरोधमा : सबै काम सेनालाई दिने भए सरकार किन चाहियो?

काठमाडौं : विवादास्पद स्वास्थ्य सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिएसँगै विरोध सुरु भएको छ।

सामान महँगो भएको, अनियमितता भएको प्रश्न उठेपछि सरकारले ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेर सेनालाई कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री चीनबाट खरीद गर्नको लागि जिम्मा दिएको छ।

सेनालाई जिम्मा दिएपछि पूर्वप्रधामन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री कमल थापाले विरोध जनाइसकेका छन्। भट्टराईले सेनालाई अख्तियारले नछुने भएकाले अनियमितता चोख्याउन सेनालाई जिम्मा दिएको आशंका व्यक्त गरेका छन् भने थापाले सबै कुरा सेनालाई जिम्मा लगाउँदा राज्य कमजोर बन्ने चिन्ता व्यक्त गरेका छन्।

यसैक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) विदेश विभाग उपप्रमुख विष्णु रिजालले सबै काम सेनालाई दिँदा राज्य किन चाँहियो भन्ने प्रश्न गरेका छन्।

रिजालले घर बनाउन, बाटो बनाउन सेनालाई नै जिम्मा दिएको स्मरण गर्दै यो सेनाको कामै नभएको उल्लेख गरेका छन्।

उनले सेनालाई अख्तियारले हेर्न नपाउने भएकाले लिनेदिने दुबैलाई राम्रै लागे पनि राज्य प्रणाली कमजोर हुने चेतावनी दिएका छन्। यसबारे दीर्घकालीन रुपमा सोच्नेबेला आएको उनको भनाई छ।

रिजालले ट्वीटरमा भनेका छन्, 'हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई। महामारी आयो, औषधि किन्ने जिम्मा सेनालाई। ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई। यो सेनाको यो कामै होइन। सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने-दिने दुबैलाई राम्रै लाग्ला तर हाम्रो प्रणाली कमजोर हुन्छ। दीर्घकालीन रुपमा सोचौँ।'

रिजालको भनाईलाई पूर्वप्रधानमन्त्री भट्टराईले समर्थन जनाउँदै रिट्वीट गरेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सेनालाई खरीद जिम्मा दिने निर्णय पार्टीलाई जानकारी नभएको बताए। यसबारे सरकारसँग जानकारी लिएर पार्टीले धारणा बनाउने उनको भनाई छ। नेकपा नेता एवं पूर्व रक्षामन्त्री भीम रावलले पनि यसबारे बुझिरहेको र पछि प्रतिक्रिया दिने बताए।

नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पनि सेनालाई खरीद जिम्मा दिने निर्णयमा असन्तुष्टि जनाएकी छिन्।

उनले ट्वीटरमा प्रश्न गरेकी छिन्, 'के सिभिलियलले आफ्नो क्षमता गुमाएकै हुन्? किन विश्वास गुमायो त सार्वजनिक निजामति प्रशासनको?' यो विषयमा बहसमा आउन झाँक्रीले पूर्वप्रशासकहरूलाई अनुरोधसमेत गरेकी छिन्।

बाबुरामको ट्वीट

कमल थापाको ट्वीट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell