बेइजिङ : चीनले कोभिड-१९ को संक्रमणविरुद्धको लडाइमा मृत्यु भएका 'शहीद'हरुको सम्झना शनिवार राष्ट्रिय शोक मनाउने भएको छ।
चीनको राज्य परिषदले कोभिड-१९ का कारण देशभर मरेका नागरिकहरुको सम्झनामा शनिवार १० बजे देखि तीन मिनेटसम्म देशभर मौनधारण गर्ने सिन्ह्वाले जनाएको छ।
यस अवधिमा चीनले आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाउने छ। देशभर र विदेशमा रहेका सबै दूतावास तथा नियोगमा झण्डा झुकाइनुका साथै सबै सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय चीनले गरेको हो।
बिहान १० बजेदेखि चीनले मौनधारण गर्ने समयमा हवाइ गस्ती बन्द गर्नुका साथै लाउडस्पिकरबाट दिइने चेतावनीको ध्वनीसमेत बजाइने छ। सबै सवारी साधान, रेलहरु पनि रोकिनुका साथै हर्न बज्ने छन्।
चीनको राज्य परिषदको कार्यालयले यस विषयमा सूचना जारी गर्दै सबैलाई अनुरोध गरेको छ।
चीनमा हरेक वर्ष मृतकहरुको सम्झना गरेर मनाइने पर्व छिङमिङ मनाउने छ। जुन यस वर्ष अप्रिल ४ र ५ मा परेको छ।
'टम्ब स्विपिङ डे' को रुपमा मनाइने छिङमिङको अर्थ 'पूर्ण चमक' हो। सौर्य मण्डलको २४ औं चक्र अनुरुप चिनियाँ पात्रो अनुसार दोस्रो चर्कमा यो पर्व पर्छ। यस पर्वका क्रममा चीनभर विदा दिइन्छ।
२५ सय वर्ष देखि यो पर्व चीनमा मनाइँदै आएको छ। यस पर्वका दिन आफ्ना पूर्वजहरुको सम्झना गरिन्छ।
चिनियाँ हान समुदायहरुले विशेष गरी यो पर्व मनाउँछन्। चीनमा हान समुदायको बाहुल्यता छ। हान बाहेक अन्य ५५ वटा अल्पसंख्य समुदायहरुले पनि यसलाई मनाउँछन्। यस दिन उनीहरुले मसानघाटमा बनाइएका स्मृति स्तम्भहरुलाई बढार्ने गर्छन्।
सन् २००२ को मे २० मा चीनले पहिलो राष्ट्रिय पर्व तथा सांस्कृतिक सम्पदा कार्यक्रमको रुपमा सूचिकृत गरेको थियो।
यस दिन चिनियाँहरुले आफ्ना पूर्वजहरुको सम्झनामा उनीहरुको स्मृतिमा निर्माण गरिएका ढुंगाको अभिलेखहरुको सफाइ गर्दै पुन: निर्माण गर्छन्। पूर्वजहरुको पूजा गर्छन् र उनीहरुलाई खाना, चिया तथा रक्सी खुवाउँछन्। उनीहरुसँग आशिर्वाद लिन्छन्।
यस पर्वमा चङ्गा उडाउनुका साथै काँडासहितको विलो रुखको हाँगा घरको गेटमा राखिन्छ। यसले घरमा सैतानी शक्तिको प्रवेशलाई रोक लगाउने विश्वास गरिन्छ। चीनमा एउटा भनाइ प्रचलित छ- विलोको हाँडा घरको ढोकामा राख र भुतलाई पर भगाउँ।'
यस पर्वलाई ताछिङ पर्वको रुपमा पनि मनाइन्छ। जसको अर्थ हरियो धागो हो। यसले वसन्तको आगमनलाई जनाउँछ। यो पर्वपछि जताततै हरियाली छाने विश्वास छ। यस पर्वका दिन चीनमा तीन दिन सार्वजनिक विदा दिइन्छ। यसपटक विदा शनिवार आइतवार र सोमवार दिइएको छ।