PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'अनागरिक' बनाइनुको पीडा : देश चलाउनेहरु अभिभावक बन्छन् कहिले?



पहिलोपोस्ट

'अनागरिक' बनाइनुको पीडा : देश चलाउनेहरु अभिभावक बन्छन् कहिले?

  • दीपज्योति श्रेष्ठ -

जब कोही पनि नागरिकले यो देशको म ‘नागरिक’ कि ‘अनागरिक’ होला भन्ने सोच मात्रै पनि आफ्नो दिमागमा ल्याउछ नि, त्यस दिन उसको राज्यप्रतिको विश्वास उठ्यो भनेर बुझे हुन्छ। भलै एउटा आम नागरिकमा उठेको यो सोचले राज्य अथवा राज्य चलाउने जिम्मा लिएकाहरुलाई त्यति फरक नपर्ला। तर, लोकतान्त्रिक मुलुक भनेर गर्व गर्ने हामीलाई त्यो भावनाले पक्कै फरक पार्छ।

यो राज्य हुने खाने र राज्य हाक्न सक्नेहरुको मात्र कदापी होइन भनेर ‘देश चलाउने’हरुले कहिले बुझ्ने हो थाहा छैन। तर, अब समय आइसक्यो, राज्यले यी कुराहरुलाई बुझेको छैन भने राम्ररी बुझ्ने र बुझेर पनि बुझ पचाउन खोजेको हो भने लोकतान्त्रिक धार छाडेर अब निरंकुशतातिर जाने। अन्यथा, लोकतन्त्रको अनुयायी भन्दै लोकलाई नै गिज्याउने काम अब राज्यको तर्फबाट सहन गाह्रो छ।

यो कस्तो लोकतन्त्र जहाँ लोक अट्दैन? यो कस्तो प्रजातन्त्र जहाँ प्रजा अट्दैन? अब लोक उर्लिन बेर लाउँदैनन्। त्यो देश जहाँको तन्त्रले लोकलाई केन्द्रमा राख्दैन, प्रजालाई केन्द्रमा राख्दैन त्यो देशमा लोकतन्त्र/प्रजातन्त्र भन्दै के रमाउनु?

हुन त भन्ने धेरै होलान्, मान्छेलाई जति भए पनि पुग्दैन। बोल्न पाएकै छ, हिँड्न पाएकै छ, गरिखान पाएकै छ, सरकारलाई खेदो खन्न पाएकै छ, तै पनि लोकतन्त्र महशुस भएन भनेर चिच्याइरहन्छन् भन्लान्। तर, पनि किन त यो तन्त्रभित्र एउटा नागरिक हुनुको हैसियत नअटेको? घरीघरी अनागरिकवाला अनुभूति भइरहेको? यो नै हो लोकतन्त्र स्थायित्वको लागि डरलाग्दो सुरुवात हो।

खैर, त्यता नजाउ। मजस्ता सायद् धेरैलाई कहिलेकाहीँ म किन यो देशको नागरिक भएको होला भन्ने मनमा क्षणिक नै भए पनि आउन थालेको छ। धेरैजसो यस्तो सोच कुनै कुराबाट दिक्क लाग्यो भने आउँछ। अक्सर हामीलाई आउने भनेको सुखसुविधा सजिलै पाएन भने, सार्वजनिक सेवामा बेथितिहरु देख्यो भने अनि सरकारमा रहेकाहरुको दिक्कलाग्दो पारा देख्यो भने या सायद् अरु पनि हुनसक्छ। तर, केही कुराहरुको अगाडि यी कारणहरु गौण छन्।

पहिलो पटक मलाई छुने गरेर यो देशको नागरिक म होला कि नहोला भनेर मैले एउटा भाइबाट सुन्दा म केही दिन राम्ररी निदाउन सकिनँ।

कति उदेकलाग्दो प्रश्न ‘नागरिक’ कि ‘अनागरिक’? भाइ मन्जय सदा मुसहर समुदायको हो। उनले नागरिकता नभएर खाएको हन्डरको कथा सुनाउदा म मौन भएँ। ब्याचलर सकिँन लाग्दा पनि नागरिकता नभएर बैंकमा खाता खोल्न नसक्नुको पीडा, जागिरका लागि कतै आवेदन दिन नसक्नुको पीडा, भोटको त कुरा परै जाओस्। उनका भोगाइका कथाहरु।

'म आफ्नै जीवनका लागि पनि केही गर्न सक्दिनँ। ‘अनागरिक’ पो हौं त हामी,' भन्दै गर्दा म झसङ्ग भएको थिएँ सायद पहिलो पटक यो ‘अनागरिक’ शब्द सुनेर। त्यतिबेला मलाई लागेको थियो, उसको मनमा राज्यप्रति कति विद्रोह होला? कति आवेग होला? त्यो सायदै हामी या ‘देश चलाउने’हरुले सरल रुपमा बुझ्न सक्लाउँ।

हो, अहिले यस्तै अझ् त्योभन्दा पनि कहालीलाग्दो अनागरिक हुनुको पीडा भोगिरहेका होलान्- सीमामा केही दिनदेखि अलपत्र हुनुपरेका ती हाम्रै देशका नागरिकहरुले। जुन पीडा न हामीजस्तो घरमा आनन्दले लक डाउनमा बस्नेहरुले बुझ्नसक्छ न सरकारमा बसेर बकबक गर्नेहरुले। म जो घरमा आनन्दले लक डाउनको समय बिताउँदै छु, मलाई हरेक दिन समाचार र सामाजिक संजालमा देखिने ती कारुणिक फोटो र उनीहरुको पीडाको कथाले मन यति पिरोल्छ भने सरकारमा या प्रतिपक्षमा बस्नेहरुको मन अहिलेसम्म किन नपिरोलिएको होला बाबै!

कि त साच्चै नै सरकारमा बसेकाहरुमा मन नै छैन या त ‘देश चलाउने’हरुले मनलाई ढुङ्गा बनाइसकेको हो। जर्मनमा एउटा मन्त्रीले हालसालै आत्महत्या गरे। सायद् उनले अर्थतन्त्रमा कोरोनाको कहरको भयानक रुप सहन सकेनन्। हाम्रोमा त एक थोपा आँसु पनि झार्दैनन् त हो!

थाहा छ, भावनाले देश चल्दैन| यसको लागि राजनीतिक, कुटनीतिक क्षमता र ज्ञान चाहिएला। तर, मानवताको भावना नै भएन भने ती सब ज्ञानहरु फिका हुन्छन् किनकि आखिर लोकको मनसम्म पुग्न त यही भावनाले त काम गर्छ नि। अनि हाम्रोमा अहिलेसम्म देश चलाउनेहरुमा यही भावना नभएर पनि होला सायद् धेरैले आफ्नै देशमा अनागरिक पो हुँ कि भन्ने कुनै कुनै बेला अनुभूति गर्नुपरेको। अनागरिक एउटा सोच हो जुन कुनै पनि देशले नागरिक होइन झैं व्यवहार गर्छ। हो, त्यतिबेला आउने सोच नै हो अनागरिक।

यो विपदमा सीमामा देश खोज्दै आइपुगेका छन्, अहिले एक जत्था। यस्तै अनागरिकहरुको समूह। संविधान पल्टाउने हो भने सायद् उनीहरु यो देशका नागरिक होलान् तर देश चलाउनेहरुको आँखामा उनीहरु नागरिक हुन सकेनन्। हामी सुन्नेलाई त कति हृदयविदारक लागिरहेको छ, झन् भोग्नेलाई कस्तो परिरहेको होला? मनमा विचार आउँदासम्म पनि शरीरमा काँडा उम्रिन्छ। त्यो चिसो सिरेटो, गिज्याई रहने मौसमको परिवर्तन, घरको सम्झना, आफन्त भेट्न नपाउनुको पीडा, भोको पेट अनि आफ्नै भूमिको निर्दयीपन।

उनीहरु ‘अनागरिक’ भन्दै कतिले आफ्नो भाग्यलाई सरापिरहेको होलान्। चिच्याइरहेको होलान् र आलाप विलाप गर्दै होलान्। तर, ‘देश चलाउने’हरु बहिरा छन्। देश र लोकको दुरी लामो भएर होला ती आवाजहरु ‘देश चलाउने’हरुले यतिका दिनसम्म पनि पटक्कै सुनेकै छैनन्। ती आवाजहरु समाचारहरुको मुख्य हेडलाइन बन्दा हाम्रा आँखा रसाउँछन्। टाउको फुट्ला झैं हुन्छ। तर, के गर्नु? ‘देश चलाउने’हरुलाई यस्तो कुराले एक इन्च पनि छुँदो रहेनछ। केही दिनदेखि हरेक बिहान सायद् म जस्ता धेरै होलान् जो ‘देश चलाउने’हरुले उनीहरुको व्यवस्था गर्‍यो भनेको सुन्न पाइएला भनेर समाचारमा चाख दिएको। तर, अहँ समाचार त अझ विजोग आउँछ - पौडी खेलेरै सीमा पार गर्न खोजियो। प्रहरीले समाएर दुर्व्यवहार गर्‍यो। अनि झन् आक्रोश बढ्छ, झन् यकिन हुन्छ - ‘अनागरिक’वाला सोचमा।

देश भन्छ - उनीहरुले रोग ल्याएका होलान्, संक्रमण बढ्न सक्छ। रोग ल्याएका पनि हुन सक्छन्, नल्याएका पनि हुन सक्छन्। मैले जहाँसम्म बुझेको छु, मुख्य कारण यही हो। उनीहरुलाई त्यसरी आफ्नै देश छिर्न रोकिएको! तर तपाईंलाई के लाग्छ- ‘देश चलाउने’हरुले यसो भनेर उम्कन पाइन्छ? ‘देश चलाउने’हरुसँग प्लान हुनु पर्दैन? कसलाई कुन स्थितिमा कसरी व्यवस्थित गर्ने भनेर। यत्रो क्वारेन्टाइन, आइसोलेसनको कुराहरु आइरहेछ, त्यो कहिलेका लागि साँचेर राखिरहेको हो त? यदि त्यतिले पुग्दैन भने खाली ठाउँ, विद्यालय, सरकारी भवनहरु उपयोग गर्न केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई के ले रोक्छ? अहिलेको समय बैठक नै मात्र बस्ने हो कि परिस्थिति अनुकुल ठाडो आदेश दिनसक्ने ल्याकत राख्ने हो? समस्या के र कहाँ छ भन्न पनि सक्दैन अनि रमिता मात्र किन देखाउँछन् ‘देश चलाउने’ जिम्मा लिएकाहरु? यस्तो बेला परराष्ट्र मन्त्री, रक्षा मन्त्रीको हल्लाखल्ला किन कम भएको यस विषयमा? बोल्नु पर्दैन? कुटनीतिक पहल चाल्नु पर्दैन? प्रधानमन्त्री पो बिरामी त, सबै त भएका छैनन् नि? तै पनि किन मौन? बल्लबल्ल राष्ट्रपतिज्यूले चासो देखाउनु भएको थियो तर त्यो त अमेरिकामा बस्ने नेपालीहरुको लागि मात्र पो रे!

मैले अमेरिकामा बसिरहेका मेरा केही नेपाली साथीहरुसँग बुझे अनुसार त्यहाँको सरकारले उनीहरुको लागि व्यवस्था गरेको छ। आत्तिहाल्नुपर्ने अवस्था छैन। बरु नेपालको खबरले मन आत्तिरहेको छ भन्दै थिए उनीहरु। तर, हाम्रोमा राष्ट्रपतिज्यूको मन उताका लागि मात्र आत्तालिँदो रहेछ। जहाँको स्थिति सीमामा आइसकेका नेपालीको भन्दा कैयौं गुणा राम्रो छ। यसले जानीजानी राज्यबाटै ठूलो विभेद गरेको संकेत दिन्छ। यदि सीमामा बस्नेहरु यो विभेदको विद्रोहमा कुनै दिन उर्लिए भने? अनि त्यतिबेला राष्ट्रपतिले के स्पष्टिकरण देलान्, यसै भन्न सकिन्न।

चीनबाट विद्यार्थीलाई समयमा ल्याउन नसक्दा पनि राज्यको अभिभाकत्व माथि धेरै प्रश्न उठेको थियो। र, त्यही प्रश्न अहिले पनि उठ्दै छ? फरक केही छैन- उनीहरुलाई प्लेन चार्टर गरेर ल्याउनु परेको हो। सीमामा हुनेहरुले कुनै गाडीको व्यस्था गरिदिए हुन्छ अथवा भित्र ल्याउन रिस्क छ भने त्यहीँ उचित व्यवस्था गरिदिए हुन्छ। त्यतिबेला चीनमा हुनेहरुले पनि आफू ‘अनागारिक’ भएको महसुस गरे अहिले सीमामा अड्किएकाहरुले पनि गर्दै छन्| तर, उनीहरुलाई अहिले सीमामा अड्किएकाहरुको भन्दा केही सहज थियो। आफ्नै कोठामा लक डाउनमा परेका थिए। तर पनि सरकारले आफ्नो अभिभाकत्व निभाउनु पर्थ्यो र अन्ततः उग्र जनदबाब पछि जिम्मेवारी राम्रोसँग निभायो पनि। अनि हामीले सरकारको कामको प्रशंसा पनि गर्‍यौं। तर, अहिले सरकारको बारेमा नराम्रो बोल्न रहर लागेर होइन- यो नराम्रै हो, अमानवीय हो, क्रुरता हो। मौसम यस्तो छ जुनै पनि बेला बर्सन सक्छ, गर्जन सक्छ। खुला आकाशमुनि त्यसमा कति बिरामी होलान्, कति के होलान्? भोक प्यासको त कुरै नगरौं। त्यसमाथि यदि कसैलाई संक्रमण रहेछ भने त्यस्तो बिजोगमा झन् धेरैमा फैलिने डर। यसमा अब ढिला गर्नु हुँदैन। अहँ हुँदै हुँदैन। जतिसक्दो उनीहरुलाई पार लगाउनै पर्छ। यति दिनसम्म ‘देश चलाउने’हरु आखिर के रमिता हेरेर बसिरहेका छन्? चीनले १० दिनमा अस्पताल नै निर्माण गर्न सक्छ आफ्नो नागरिकहरुको लागि। के हामी केही सय मानिसहरुलाई उचित व्यवस्था गर्न सक्दैनौं? देश चलाउनेहरु अन्य देशको नागरिकहरुको चिन्ता गर्न सक्छन् भने आफ्नै देशको नागरिकबारे किन सोच्न सक्दैनन्? विपद् व्यवस्थापन भन्ने कुरामा त पहिलेदेखि नै राज्य गम्भीर हुनुपर्ने होइन र? जुनसुकै पनि बेला आउने हो विपद्। यो बाजा बजाएर आउँदैन। हामी किन पहिल्यै तयार भएर बस्दैनौं? लकडाउनको निर्णय लिँदा यस्ता चुनौती आउलान् भनेर हेक्का राख्न सकिन्नथ्यो? पहिले नै कडा रुपले जाँच गराउँदै भित्र छिर्न दिएको भए सायद् सरकार उम्कन सक्थ्यो होला। तर, अहिले जे गरे पनि उम्कन पाउँदैन। अहिले प्रत्यक नागरिकलाई राज्यको आड भरोसाको जरुरत छ। पछिल्लो भूकम्प र बाढीको अनुभवबाट पनि अनुभव गर्न सकिन्छ कि आपत् विपतमा सबैभन्दा बढी राज्यको सामिप्यता चाहिँदो रहेछ। त्यसैले, नागरिकहरु आत्तिरहेको बेलामा देश चलाउनेहरु आत्मविश्वासी देखिएनन् भने चाहँदा नचाहँदै पनि नागरिकहरुले हिम्मत हार्न थाल्दारहेछन्। अहिले त्यस्तै भएको छ। कोरोनाले मार्ला नामार्ला राज्यले मार्छ (केहि गर्न सक्दैन) भन्ने अनुभूति धेरैमा आइसक्यो।

अन्त्यमा, म पनि यो देशको नागरिक। काठमाडौंमा आफ्नै घरमा १० दिनदेखि सरकारको निर्देश अनुसार लकडाउनको समर्थन गर्दै बसिरहेकी छु। म घरमा बस्नु मेरो पनि जिम्मेवारी हो - राज्यले भनेको कुरा मान्नु। र मसँग सामाजिक जिम्मेवारी छ आफू र आफ्ना वरिपरीकोलाई संक्रमण हुन नदिनु। सायद् ती नागरिकहरुमा पनि यतिको चेत अवश्य होला। राम्ररी भन्यो भने उनीहरुले राज्यले भनेको कुरा अवश्य मान्लान्। तर, त्यसका लागि सही तरिकाहरु अपनाउनु पर्छ न कि यति क्रुर भएर। अनि अर्को कुरा संक्रमण फैलियो भने सायद् म पनि खतरामा पर्छु पक्का। र, पनि म मनदेखि अनुरोध गर्छु उनीहरुलाई आउन दिइओस्। सावधानी अपनाउन लगाइयोस्। नत्र कोरोनाको त्रासले भन्दा नागरिकमा गरिएको यो व्यवहारले मन आत्तिसक्यो। र, यस्तो विपदमा कोही कसैले पनि ‘अनागरिक’ जस्तो पीडा कुनै पनि परिस्थितिमा भोग्नुनपरोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell