PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पोखरामा नयाँ संक्रमित फेला परेको सूचनामा कहाँ चिप्लिए मिडिया, यस्तो छ कारण



पहिलोपोस्ट

पोखरामा नयाँ संक्रमित फेला परेको सूचनामा कहाँ चिप्लिए मिडिया, यस्तो छ कारण

काठमाडौँ: शुक्रबार एकाएक कोभिड-१९ को संक्रमणको समाचार सार्वजनिक भयो। दिउँसो गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले पनि वेबसाइटमा अपडेट गर्दै संक्रमितको संख्या सात पुर्‍यायो।

त्यसको करिब दुई घण्टा पछाडि काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी कोभिड-१९ को संक्रमण नथपिएको स्पष्टीकरण दियो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखराबाट आएको समाचारको खण्डन गरे।

कसरी चिप्लिए मिडिया

मुख्यमन्त्रीको कार्यालयको वेबसाइटमा कोभिड-१९ को अपडेट भन्दै स्रोतमा covid19.mathdro.id राखिएको छ। काठमाडौँबाट केही अनलाइनहरुले पोखरामा कोभिड-१९ को पोजेटिभ देखिएको समाचार प्रकाशित गरे। समाचारमा आएको आधारमा निजी रुपमा चलेको covid19.mathdro.id ले पनि अपडेट गरेर सात पुर्‍यायो। सोही अपडेट मुख्यमन्त्री कार्यालयको वेबसाइटमा पनि देखियो।

स्वास्थ्य मन्त्रालयको अपडेट नहाली बाहिरको अपडेट हालेर मुख्यमन्त्री कार्यालय चिप्लियो। तर, बाहिर हल्ला कसरी आयो त?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार कोभिड-१९ को परीक्षण नयाँ संक्रमित थपिएको होइन। पोखरामा दुई दिन अगाडि मात्र कोभिड-१९ को परीक्षणका लागि मेसिन जडान गरिएको थियो। यसरी जडान गरिएको मेसिनको नतिजा कस्तो आउला त? यही परीक्षण गर्दा एउटा केस पोजेटिभ देखियो। तर नयाँ संक्रमितको थिएन।

मेसिन परीक्षणका लागि यसअघि टेकु प्रयोगशालामा पोजेटिभ देखिएको नमूनालाई पोखरा पठाइएको थियो। सोही नमूनामा परीक्षण पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले स्पष्ट पारे।

'पोखरामा हालसम्म कुनै पनि केस पोजेटिभ देखिएको छैन,' उनले भने, 'अहिले हामीले परीक्षण प्रदेशमा विस्तार गर्‍यौँ। प्रदेशमा मेसिन गएका छन्। रिएजेन्टहरु गएको छ। मेसिनहरुको भेलिडेसनको कुरा उठ्छ। परीक्षण यथेस्ट रुपमा गर्नुपर्ने हुन्छ। पोजेटिभ नेगेटिभको संख्या यथेस्ट रुपमा गरेर अन्त पनि भेरिफाइ भयो भने यो (मेसिन) सब ठिक छ भन्न सकिन्छ।'

उनले पोखराबाट परीक्षण भएपछि यहाँ आउने भन्ने नहुने स्पष्ट पारे। उनले मेसिनको भ्यालिडेसनका लागि नतिजा कंक्रिट आओस् भन्नका लागि पहिलेका नमूना पुनः परीक्षण गरिएको उनले बताए।

'यो नर्मल फेनोमेनन् हो। हामीले सबैतिर भ्यालिडेसन पछि मात्र नतिजा सार्वजनिक गर्छौ,' उनले भने, 'हालसम्म पोखरामा नतिजा पोजेटिभ आएको छैन।'

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार २ सय ७७ को परीक्षण भएको छ। धरानमा ३९ जनकपुरमा ५, हेटौँडामा ५, पोखरा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा परीक्षण भएको छ।

हालसम्म एक्टिभ केस ५ वटा रहेको जानकारी दिँदै प्रवक्ता देवकोटाले टेकुमा दुई, बाग्लुङमा २ र धनगढीमा एक जना आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell