PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

विश्वमै पहिलोपटक नेपालमा भेटियो 'ब्यान्डेड् कुक्री' प्रजातिको दुई टाउके सर्प



विश्वमै पहिलोपटक नेपालमा भेटियो 'ब्यान्डेड् कुक्री' प्रजातिको दुई टाउके सर्प
फोटो : कमल देवकोटा

काठमाडौं : नेपालमा पहिलोपटक 'ब्यान्डेड् कुक्री' प्रजातिको दुई टाउके सर्प भेटिएको छ। उक्त सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले फेला पारेका हुन्। यो प्रजातिको दुई टाउके सर्प विश्वमै पहिलोपटक भेटिएको अमेरिकाबाट प्रकाशित पत्रिकाले जनाएको छ।

सर्प अक्टोबर, २०१८ मा पत्ता लागेको र अध्ययन पुरा गरी बल्ल प्रमाणित भएर लेख प्रकाशित भएको देवकोटाले बताए। रुपेन्देहीको बुटवलमा रहेका देवकोटाले भने, 'सर्प अक्टोबर ८, २०१८ मा भेटिएको हो। यससम्बन्धी अध्ययन सकाएर दिएको लेख बल्ल प्रकाशित भयो।'

यसपटक भेटिएको सर्प विषालु नभएको उनले बताए। भने, 'विश्वमै पहिलोपटक भेटिएको हो यो प्रजातिको दुई टाउके सर्प। तर यो विषालु सर्प भने होइन।' देवकोटा र उनको समूहले अध्ययन अनुसन्धान गरी तयार पारेको सर्पसम्बन्धी लेख रेप्टाइल एण्ड एम्फिबियन कन्जरभेसन जर्नल (सरिसृप र उभरचर संरक्षण)मा छापिएको छ। यसअघि पनि उनको समूहले अर्को प्रजातिको दुई टाउके सर्प फेला पारेका थिए।

सरिसृप तथा उभरचर संरक्षणमा लेख प्रकाशित गर्दै आएको अमेरिकाबाट प्रकाशित हुने सो जर्नलको अप्रिल २०२० को भोलुम २७(१) : ७१–७२ मा देवकोटाको अनुसन्धानमुलक लेख छापिएको हो।

नवलपुर जिल्लाको दलदलेमा भेटिएको अनौठो दुई टाउको भएको सर्पको अध्ययन अनुसन्धान गरी लेख तयार गरिएको र उक्त सर्प विश्वमै पहिलोपटक भेटिएको प्रमाणित भएको सर्प अनुसन्धानकर्ता देवकोटाले बताए। उक्त सर्प सन्तबहादुर मगरको नेतृत्वमा चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको उनले बताए।

यसअघि देवकोटाको समूहले नेपालमा पहिलोपटक दुई टाउके करेत सर्प भेटाएका थिए। करेत प्रजतिको दुई टाउको सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक तथा नेपालमा पहिलोपल्ट भेटिएको बताइएको थियो। यस अघि दुई टाउके करेत सर्प भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भिआर झाको समूहले फेला पारेका थिए। नेपालमा भने पहिलो दुई टाउके सर्प जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्पबिज्ञ करणबहादुर शाहको समूहले सन् १९८३ मा फेला पारेका थिए। उक्त सर्पको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्रहालयमा राखिएको छ।

सर्पलाई माया गरौं

अनौठा सर्पका साथै अन्य सर्पहरु अझै पनि हाम्रो समाजमा अन्धविश्वासका कारण मारिने गर्दछन्। सर्प र सर्पको टोकाईसम्बन्धि चेतनाको कमीले गर्दा नेपालको तराई भूभागमा वर्षेनी एक हजार भन्दा बढीको मृत्यू हुने गरेको छ। सर्पसम्बन्धी अध्ययन अनुसन्धान र सचेतनाका कार्यक्रम बढी भन्दा बढी हुनुपर्ने देवकोटा बताउँछन्।

अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ अन्तरगत सर्प विशेषज्ञ समूहका (बिपिएसजी) नेपालका सदस्य तथा नेपाल टक्सिनोलोजी संघका उपाध्यक्ष देवकोटाले आफ्नो एमएको थेसिससमेत सर्पको विषयमा गरेका थिए। सन् २०१३ मा त्रिभुवन विश्वविद्यालयको जियोलोजी विभागबाट उनले 'पश्चिमाञ्चल विकास क्षेत्रमा सर्पदंशको महामारी' विषयमा थेसिस सकाएका हुन्।

सर्प अनुसन्धानकर्ता देवकोटा र उनको समूहले विगत ३ वर्षदेखि तराईका रुपन्देही, कपिलबस्तु, नवलपरासी, चितवन, सर्लाहीलगायत विभिन्न जिल्लाहरुमा काम गर्दै आएका छन्।

हाल उनी र उनको समूह 'सर्प बचाउ अभियान प्रकृति जोगाउँ' अभियानमा सक्रिय रहेको छ। अभियान रुपेन्देही, चितवन, कपिलवस्तु, नवलपरासीलगायत पश्चिमका जिल्लाहरुमा चलिरहेको उनले बताए।

किन बचाउने त सर्प?

प्रकृतिको साथीका रुपमा चिनिने सर्प सबैले बचाउनुपर्ने उनी बताउँछन्। भन्छन्, 'इको सिस्टम बचाउन सर्पले सहयोगीको भूमिका निभाउँछन्। किसानकै साथी हो सर्प। धर्तीबाट सर्प हटाइदिने हो भने बालीनाली पनि सप्रिदैन।'

सर्पले बालीनालीमा लाग्ने कीरा, भ्यागुता खानुका साथै मुसालाई नियन्त्रण गर्न पनि सहयोगीको भूमिका खेल्ने देवकोटाले बताए।

त्यसो त सर्पको विषबाट विभिन्न औषधि बन्ने उनले बताए। भने, 'सर्पको औषधि सर्पकै विषले बन्ने हो। मेन्टल डिजिजदेखि ब्लड प्रेसको औषधि बन्छ नै।'

तर सर्पको टोकाइबाट धेरैको मृत्यु पनि त हुन्छ नि? जवाफमा देवकोटाले भने, 'यसमा मानिसले संयमता अपनाउनुपर्छ। उपचार विधि थाह पाउनुपर्छ।' सर्पले टोक्दा गलत उपचार हुने भएकाले पनि मृत्यु हुनेको संख्या बढेको उनको भनाई छ। उनले भने, 'कतिपय ठाउँमा ब्लेडले चिर्नपर्छ। कुखुराको मलद्वार टोकेको ठाउँमा लगाउनुपर्छ। चुस्ने बाँध्ने गलत प्राथमिक उपचार गर्छन्। धामीझाँक्री लगाउँछन्। यी सबै गलत पद्धति हुन्,' देवकोटाले भने, 'विषालुले टोक्दा एन्टी भेनमबाहेक अरु उपाय छैन। त्यसैले अस्पताल पुग्नैपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell