PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगरमा प्रदेश सरकारले बनायो कोरोना विशेष अस्पताल, शुक्रवारदेखि सञ्चालनमा



अनन्तराज न्यौपाने

विराटनगरमा प्रदेश सरकारले बनायो कोरोना विशेष अस्पताल, शुक्रवारदेखि सञ्चालनमा

विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेश सरकारले कोरोना विशेष अस्पताल तयार गरी सञ्चालनमा ल्याएको छ। विराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित नेशनल ट्रेडिङको पुरानो भवनलाई प्रदेश सरकारले कोरोना विशेष अस्पतालका रूपमा विकसित गरेको हो।

यो अस्पताल कोशी अस्पतालअन्तर्गत रहने बताइएको छ। कोशी अस्पतालका प्रमुख डाक्टर संगीता मिश्रका अनुसार अस्पतालमा १० शय्याको भेन्टिलेटरसहित ५० शय्या छन्। बिरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको बैठकले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शुक्रवार साँझ कोरोना विशेष अस्पतालको निरीक्षण गरेपछि अस्पताल सञ्चालनमा आएको घोषणा गरिएको छ। मुख्यमन्त्री राईले कोरोनाविरूद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिने बताए।

उनले प्रदेश सरकारले विज्ञ चिकित्सकको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक–फरक खालका स्वास्थ्य सुरक्षाका सामग्रीको र त्यसको आपूर्तिका लागि अध्ययन गरिरहेको जानकारी दिए। उनले क्वारेन्टाइनमा रहेकाहरूको सुरक्षा र खाने–बस्ने व्यवस्था सरकारले मिलाएको उल्लेख गरे।

मुख्यमन्त्री राईले अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि प्रदेश नम्बर १ उच्च जोखिममा रहेको स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell