PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

देउवाले ओलीलाई भने : स्वास्थ्य सामग्री खरीदमा जोडिएका सबैलाई जिम्मेवारीबाट हटाएर कारवाही गर्नुस्



पहिलोपोस्ट

देउवाले ओलीलाई भने : स्वास्थ्य सामग्री खरीदमा जोडिएका सबैलाई जिम्मेवारीबाट हटाएर कारवाही गर्नुस्

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरीद प्रकरणमा जोडिएका सबैलाई जिम्मेवारीबाट मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले विवादास्पद खरीद प्रक्रियामा जोडिएकालाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन ओलीलाई आग्रह गरेका हुन्।

खरीद प्रक्रियामा कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालदेखि मन्त्रालयका कर्मचारीसम्म जोडिएका छन्। मन्त्री नै जोडिएर विरोध भएपछि स्वास्थ्य मन्त्रालयले बुधबार ओम्नी ग्रुपसँगको खरीद सम्झौता रद्द गरिसकेको छ।

विज्ञप्तिमा देउवाले कोरोना भाइरसको महामारीका बेला अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिदजस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफी योग्य नभएको जिकिर गरेका छन्।

'यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु,' देउवाले भनेका छन्।

खरिद अनियमितताको अनुसन्धान र कारवाहीमा ढिलाइ गरेकोमा असन्तुष्टि जनाउँदै देउवाले गहिरो अनुसन्धान गर्न र कारवाहीको प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन्।

'लकडाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ,' उनले भनेका छन्।

कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफूहरु सरकारको साथमा रहँदै सघाइरहेको र युद्धस्तरमा कार्य गर्न सुझाएको तथा पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएको स्मरण गर्दै देउवाले भनेका छन्, 'तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने काम गरेको छ। यसको छानविन हुनुपर्छ।'

देउवाले अनलाइनको समाचार हटाउने घटनाप्रति दु:ख व्यक्त गरेका छन्। यसमा संलग्नलाई पनि कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। 'काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ। यसमा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु,' विज्ञप्तिमा भनिएको छ।

कांग्रेस सबै खाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने प्रतिबद्धता जनाउँदै देउवाले आजको संकटसंग जुध्न निरन्तर सरकारको साथमा रहने पनि स्पष्ट पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell