विराटनगर : मोरङमा बनमा चोरी शिकारी गर्ने समूह र बन कर्मचारीबीच आज दोहोरो गोली हानाहान भएको छ। मोरङको सलकपुर सामुदायिक बन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी बन क्षेत्रमा चोरी शिकारी गर्ने समूह र बनका कर्मचारीबीच आज अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन बन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए।
जंगलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा बन रक्षक र सशस्त्र प्रहरी बलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा बन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएका थिए। घटनामा कोही घाइते नभएपनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन्। शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिए। पक्राउ परेका शिकारीलाई बन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ।