PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चैत २५ पछि कोरोनाविरुद्धको युद्धमा सरकारले कस्तो रणनीति अपनाउनुपर्छ? यस्ता छन् गगन थापाका सुझाव



कमलराज भट्ट

चैत २५ पछि कोरोनाविरुद्धको युद्धमा सरकारले कस्तो रणनीति अपनाउनुपर्छ? यस्ता छन् गगन थापाका सुझाव
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले बिहीवार ट्वीटरमा लेखे, 'सरकार! चैत २५ पछिको हाम्रो रणनीति र योजना के?

कोरोनाको महासंकटका बेला स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेका थापाले सँगै सरकारसँग चैत २५ पछिको के भनेर सोधे। यो प्रश्न गर्न उनले अरुलाई पनि आह्वान गरे। सरकारले दोस्रो हप्ताका लागि लकडाउनको समय थपेर चैत २५ गतेसम्म पुर्‍याएको थियो। अब लकडाउन सकिन ३ दिन बाँकी रहँदा थापाले अबको रणनीति के हुने भनेर सरकारसँग प्रश्न गरेका थिए। सरकारले आफ्नो रणनीति बताउँदै गर्ला। तर, हामीले सरकारको रणनीति कस्तो हुनुपर्ला भनेर नेता थापालाई सोध्यौं।

थापाको जवाफ यस्तो छ :-

चैत २५ गतेपछि हामीले अवलम्बन गर्नुपर्ने रणनीति जे हुने हो त्यसमा सबैभन्दा ठूलो आधार भनेको यो बीचमा हामीले गर्ने परीक्षणले बताउँछ। हामीले एउटा निश्चित आकारको जनसंख्याको टेस्ट गर्न सक्यौं भने त्यो टेस्टले हाम्रो अहिलेसम्म बाहिरबाट हवाई यात्रा गरेर आएका मानिसमा मात्र संक्रमण देखिएको छ। त्यो संक्रमण लोकल लेभल, समुदाय लेभलमा गएको अहिलेसम्म देखिएको छैन। तर, टेस्टको संख्या बढायौँ भने मैले अहिले देखिएन भनेर भनेको कुरा प्रमाणित हिसाबले भन्ने आधार हुन्छ।

त्यसैले चैत २५ पछि के गर्ने भन्ने कुराको लागि हामीले एकदमै धेरै कही हजारको संख्यामा अबको लकडाउनको बाँकी ३/४ दिनको अवधिमा परीक्षण गर्नुपर्छ। त्यो परीक्षणले मात्रै हामीलाई त्यसपछिको निर्णयलाई आधार दिन्छ।

जस्तो केही हजार स्याम्पल परीक्षण गर्दैगर्दा पनि संक्रमण फैलिएको देखिएन भने त्यो बेलामा हामीले गर्ने भनेको सीमाना बन्दीलाई निरन्तरता दिने, नेपालभित्रको लकडाउनको स्वरुपलाई बदल्ने, त्यो भनेको जस्तो हामीले लकडाउन गर्नुभन्दा पहिला पनि भनेका थियौं-मोबिलिटीलाई एकदमै सीमित गर्ने, हाम्रो भेटघाट हुने पोइन्टहरुलाई सकेसम्म थोरै बनाउने। जसले गर्दा कुनै पनि बेला कुनै पनि संक्रमणको अवस्थालाई कन्टेन (होल्ड) गर्न सजिलो होस्, यदि फैलिने अवस्था बन्यो भने। र, अस्पतालहरुलाई अझै तयारी अवस्थामा राख्ने।

सीमानाबाट भारतबाट आउने नेपालीहरुको संख्या बढ्दै जान्छ। त्यसकारण सीमानामा बनाउनुपर्ने अस्थायी पूर्वाधार खासगरी क्वारेन्टाइनको लागि बनाउनुपर्ने पूर्वाधार निर्माण गर्नुपर्छ। सीमाना बन्दीमा अरु देशका नागरिकलाई पो बन्द हुन्छ त नेपाली त आउँछ आफ्नो देशमा। हवाई मार्ग नभए पनि तलको मार्गबाट आउँछ। त्यो कुराको लागि हामी तयारी अवस्थामा बस्नुपर्छ। यसो गर्दैगर्दा हाम्रो अबको चरण भनेको सीमाबन्दी निरन्तरता दिने हुन्छ, सीमानाबाट नेपालीका लागि अनिवार्य क्वारेन्टाइन पूर्वाधार बनाएका हुन्छौँ। नेपालभित्रको मुभमेन्ट अझै केही समयसँग सीमित राख्छौँ। र, अस्पतालको तयारीलाई अझै थप सुदृढ बनाएर लैजान्छौँ।

सरकारले यस्तै रणनीति अपनाउनुपर्छ जस्तो लाग्छ।

प्रभावकारी बनाउन जनप्रतिनिधिलाई सन्देश

मैले देशभरका स्थानीय तहलाई सन्देश पनि पठाएको छु। अहिले सबैभन्दा फ्रन्टलाइनमा काम गरिराख्नुभएको स्थानीय तहको जनप्रतिनिधि हुनुहुन्छ। यो बीचमा मैले आफू प्रतिनिधित्व गर्ने नगरपालिकाको नगर प्रमुख, वडाध्यक्ष साथीहरुलाई भेटे। गएको दुई/तीन मैले सयको संख्यामा देशभरीका फरक-फरक ठाउँहरुका जनप्रतिनिधि र कर्मचारीहरुसँग कुरा गरे। अपवाद बाहेक सबै फ्रन्टलाइनमा खटिएको पाए। जसरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मी फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्, त्यसैगरी स्थानीय सरकारको प्रतिनिधि पनि काम गरिराख्नुभएको छ। उहाँहरुको कामलाई सम्मान गर्नका लागि सन्देश पठाएको हुँ। अर्को महत्वपूर्ण कुरा अबको यो जुन ३/४ दिनको लकडाउन बाँकी छ। मैले गाउँठाउँमा लगायत अरुतिर हेर्दा के अनुभव गरे भने लकडाउनले मान्छे थाक्दै गए। लकडाउन खुकुलो हुन्छ भन्ने विभिन्न सन्देश आइसकेपछि अबको तीन चारदिनमा जुन अहिले नागरिक अनुशासनमा बसेको छ, त्यो अनुशासन भंग हुन्छ कि भन्ने डर लाग्यो। त्यसैले हामी कुनै संकट नभएको कोरोना फ्रि संक्रमणको नभएको अवस्थामा छैनौँ। हामीलाई वास्तवमा थाहा नै छैन हाम्रो अवस्था के छ भनेर? त्यो कारणले तपाईँहरु अब काम सकिन लाग्यो भनेर ढुक्क हुने होइन, लकडाउनलाई थप प्रभावकारी बनाएर राख्नुस् भने।

कोरोना महाव्याधि भएकाले गर्दा यो अझै ८ महिनादेखि १ वर्षसम्म रहन्छ। त्यसैले स्थानीय सरकारले अब सबै तथ्यांक राख्नुपर्छ। अहिले हामीले बाहिरबाट गाउँमा आउनेको तथ्यांक लिइरहेका छौँ। थोरै लकडाउनको स्वरुप बदलेपछि फेरि मान्छे गाउँ छोडेर जानुहोला। त्यसैले तपाईँले गाउँमा आएको तथ्यांक राखेजस्तै छोडेर जानेको तथ्यांक पनि राख्नुस्। तथ्यांक राख्ने, आफूलाई तयार राख्ने एकपटकलाई मात्र होइन। निरन्तर गरिराख्छु भन्ने सोचले काम गर्नुस्। किनभने यो महामारी गयो भन्ने छँदै छैन। यो विभिन्न स्वरुपमा हाम्रो बीचमा रहन्छ र गाउँपालिका, नगरपालिकाले त्यो हिसाबले तयारी राख्नुपर्छ। यसमा काम गरौँ भनेर मैले उहाँहरुलाई थोरै अपिल गर्न खोजेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell