PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कठैवरा विचरा, नेकपाका कार्यकर्ता !



पहिलोपोस्ट

कठैवरा विचरा, नेकपाका कार्यकर्ता !

  • तेजेन भट्टराई -

केही अगाडि एउटा टेलिभिजन कार्यक्रममा प्रदीप गिरिले आफूले काङ्ग्रेसको कार्यकर्ता भएर काम गर्नुलाई महाभारतमा युधिष्ठिरले जुवा खेलेर सर्वश्व हारेको दृष्टान्तसँग तुलना गरेको थिए। उनको आशय थियो - एउटा पार्टीको कार्यकर्ता भएर काम गरिसकेपछि कतिपय मनले उचित नलागेका कुराहरुमा पनि सामेल हुने नशा लाग्दछ।

प्रदीप गिरिले अनुभव गरेको यो नशा र वाध्यताको एउटा रुप आजभोलि सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही कार्यकर्ताहरुमा देख्न सकिन्छ। आफ्नो पार्टी सरकारमा रहेको बेला घटेका विभिन्न घटनाहरुको बचाउ गर्नुपर्ने उनीहरुको बाध्यता छ, प्रदीप गिरिले भने झै। आफ्नो पार्टीको सरकारको बचाउ गरे बापत् उनीहरुले 'हनुमान' `अरिङ्गाल´ आदिको उपमा पाएका छन्। आफ्ना नेताहरुको बचाउ गरे बापत् सामाजिक सञ्जालमा उनीहरुले अन्य पार्टीका कार्यकर्ताको जति गाली र उपहास सहनु पर्छ सायद् त्यति गाली त ती बिसंगत घटना घटाउने पात्रहरुले पनि सहनु पर्दैन।

प्रतिपक्षी पार्टीका कार्यकर्ताहरुबाट उनीहरुको विरोध हुनु स्वभाविक हो तर विश्लेषणात्मक दृष्टिकोणबाट हेर्ने हो भने उनीहरु सहानुभूतिका हकदार छन्। यी कार्यकर्ताले निष्ठापूर्वक आफ्नो पार्टीमा ठूलो लगानी गरेका छन्। सायद् धेरैले पार्टी सरकारमा गएर केही फाइदा पनि लिएका छैनन्। स्वार्थले पार्टीमा लागेकाहरुलाई त्यति बचाउ गर्नुपर्ने अवस्था हुँदैन। उनीहरु पार्टीको अवस्था बिग्रिँदै गए तत्कालीन समयमा चुनाव जित्न सक्ने पार्टीको 'अबिर' पर्खेर बसेका हुन्छन्। यी निष्ठावान कार्यकर्ताहरुको अवश्य चाहना थिएन कि गोकुल बास्कोटाले सेक्युरिटी प्रेसको ठेक्का दिए बापत करोडौं घुस खाने प्रयत्न गरुन्; उनीहरुको इच्छा थिएन कि कृष्णबहादुर महराले आफ्नो मर्यादाको ख्याल नगरी मनोरञ्जन गर्ने प्रयास गरून्; उनीहरु कदापि चाहँदैनथिए कि भानुभक्त ढकाल र ईश्वर पोखरेल यो संकटको घडीमा स्वास्थ्य सामग्री खरीदको भ्रष्टाचार काण्डमा मुछिउन्। उनीहरुको इच्छा छ- पार्टीको सरकारले राम्रा काम गरोस् र अर्को चुनावमा जनतासम्म जाने आधार बनोस्। आफ्ना प्रतिपक्षी कार्यकर्तासँग आफ्नो पार्टीको सरकारले गरेका कामको फुर्ती लगाउन पाइयोस्।

निष्ठाले लागेका र पार्टीमा श्रम गरेका यस्ता कार्यकर्तालाई अहिले नि पूरा विश्वास छ कि आफ्ना नेताले नराम्रो गर्न सक्दैनन्। उनीहरुको कत्रो कामना हुँदो हो कि गोकुल बास्कोटाको भनिएको त्यो टेपमा बोल्ने कुनै नक्कली स्वर निकाल्ने कलाकार होस्। या उसैको बोली भए पनि विभिन्न परिवेशमा बोलिएका वाक्यहरु एडिट गरिएको होस् र त्यसको प्रामाणिकता पुष्टि होस्। उनीहरुको कत्रो इच्छा थियो कि गुगलमा सर्च गर्दा स्वास्थ्य सामग्रीको मूल्य पहिलेको भन्दा धेरै बढी भइसकेको होस्। आफ्नो कामनाको बिपरीत यथार्थ अवतरित भइसक्दा पनि उनीहरुलाई विश्वास हुन्छ कि आफ्ना नेताहरू विरुद्धको षड्यन्त्र भइराखेको छ। साहित्यमा हुँदो हो त यो निशर्त लगाव र विश्वास उच्च मूल्यांकनको विषय बन्ने थियो।

आफ्ना नेताहरूको जस्तोसुकै हर्कतको बचाउ गर्ने यो तप्काभन्दा आलोचनात्मक चेत राख्ने नेकपा कार्यकर्ताको अर्को पंक्ति अहिले मौन पीडामा छ। आफ्नो अगाडि मञ्चन भइरहेका गुटगत द्वन्द्व र नेतृत्व तहमा बसेकाहरुको विसंगत आचारबाट निराश छ। सही/गलत छुट्टाउन सक्ने तर स्थिति नियन्त्रण गर्नसक्ने कार्यकारी तहमा नरहेको यो समूह आफैमा छ्ट्पटिरहेको छ। यी कार्यकर्ताको शुभेच्छा विपरीत नेतृत्वदायी तहमा रहेकाहरु भने जस लिन हतार गर्ने, अपजसबाट उम्कने, मौका पर्दा नैतिकतालाई तिलाञ्जली दिई आर्थिक अपचलनमा लिप्त हुने प्रवृत्ति देखिएको छ। कोरोना संकटका बेला कुशलता देखाएर यो भन्दा अगाडिका अक्षमतालाई बिर्साउने मौकाको उपयोग गर्नु त कता हो संकटलाई ब्यक्तिगत लाभको लागि प्रयोग गर्ने यो प्रवृत्तिले कार्यकर्तालाई त निरास बनाएकै छ; देशको समृध्दिको सपना देख्ने सबैलाई चिन्तित बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell