PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोरोनाको दुई संक्रमितको उपचार भइरहेकै अस्पतालमा छैन आइसीयू!



रासस

कोरोनाको दुई संक्रमितको उपचार भइरहेकै अस्पतालमा छैन आइसीयू!

  • तारानाथ आचार्य -

बलेवा : वाग्लुङका दुई जनामा कोभिड -१९ को संक्रमण देखिएको छ तर अस्पतालमा आइसीयुसमेत छैन। संक्रमित दुवैजना धौलागिरि अञ्चल अस्पताल वाग्लुङको आइसोलेसन वार्डमा छन्। यहाँमात्र होइन जिल्लामा आइसियु भएको अस्पतालसमेत छैन।

प्रादेशिक स्वास्थ्य निर्देशनालयले दोस्रो पटक पठाएको भेण्टिलेटर बिहीवार साँझ धवलागिरि अञ्चल अस्पताल बागलुङमा आइपुगेको त छ तर त्यसलाई चलाउने व्यक्ति छैन। अघिल्लो साता पठाइएको भेण्टिलेटर अस्पतालले सामान अपूरो रहेको भन्दै बुझ्न अस्वीकार गरेको थियो।

पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न नमानेपछि निर्देशनालयले दोस्रोपटक भेण्टिलेटर पठायो। यसअघिको भेण्टिलेटर अस्पतालले अलग्गै राखेको छ। 'स्वाशप्रस्वाशमा समस्या आए भेन्टिलेटरले सहयोग गर्छ, जुन हामीले पाएका छौँ,' अस्पतालका डा प्रदीप श्रेष्ठले भने, 'आइसीयू नभएकाले मुटु र मिर्गौलामा समस्या आए कसरी समाधान गर्नु?'

कोरोनाका बिरामीको उपचार गरिरहेको अस्पताललाई भेण्टिलेटर आवश्यक छ। आपतकालीन अवस्थामा बिरामीलाई सघाउन मेसिनले सहयोग गर्ने श्रेष्ठले बताए। अस्पतालले अहिले कोरोना सङ्क्रमण पुष्टि भएका दुई बिरामीको उपचार गरिरहेको छ। यदि उनीहरुमा गम्भीर खालको सङ्केत देखापरे सघन उपचारकक्षको आवश्यकता हुने डाक्टर श्रेष्ठले बताए जुन अझै संचालनमा आउन सकेको छैन।
अस्पतालमा सघन उपचारकक्ष (आइसीयू) सञ्चालनका लागि पहल भइरहेको छ।

'केन्द्र सरकारले रु एक करोड बजेट पठाएको छ भन्ने सुनेको छु, त्यो प्रदेशबाट यता आएको छैन,' अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले भने, 'हामी हाम्रो क्षमताले भेट्ने पूर्वाधारको तयारीमा लागेका छौँ, सरकारले सहयोग गरे भेण्टिलेटर मात्रै होइन आइसीयू चलाउँछौँ।'

तत्काल आइसीयू सञ्चालनका लागि अस्पतालसँग जनशक्तिको भने अभाव छ। ‘आइसीयू प्रयोगमा ल्याउन तालिमप्राप्त नर्सको आवश्यकता हुन्छ,' डा श्रेष्ठले भने, 'हामीसँग त्यो खालको जनशक्ति छैन।' भेण्टिलेटरले मात्रै थेग्न नसक्ने अवस्था आएमा बिरामी पोखरा पठाउनुको विकल्प नरहेको उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell