PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपाल कोभिड - १९ को तेस्रो अर्थात् क्लस्टर ट्रान्समिसनमा प्रवेश



विधुर ढकाल

नेपाल कोभिड - १९ को तेस्रो अर्थात् क्लस्टर ट्रान्समिसनमा प्रवेश

काठमाडौं : आज एकै दिन तीन जनामा कोभिड-१९ को संक्रमण देखिँदा एक जनामा लोकल ट्रान्समिसन देखिएको छ। यससँगै नेपाल कोरोना भाइरस संक्रमणको तेस्रो चरण अर्थात् 'क्लस्टर ट्रान्समिसन'मा पुगेको छ।

गत डिसेम्बर अन्तिममा चीनको हुवेइ प्रान्तको वुहानबाट आउटब्रेक भएको कोभिड-१९ को संक्रमणबाट विश्व प्रभावित भइसको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म २ सय ७ देश/क्षेत्र/भुगोलमा कोभिड-१९ को संक्रमण फेला परेको छ। विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा मालवीमा नयाँ केस देखा पर्‍यो। योसँगै यो संक्रमण २ सय ७ देश/क्षेत्र/भुगोलमा पुग्यो।

नेपालमा पहिलो लोकल ट्रान्समिसन देखा परेको अवधिसम्म यहाँ ९ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एक हजार तीन सय ५६ जनाको मात्र नमुना परीक्षण पूरा भएको छ। लकडाउन गरेर सर्वसाधारणलाई घरमा नै रोकेको भए पनि नमुना परीक्षणमा भएको ढिलाइका कारण तेस्रो चरणमा पुग्दा थप संक्रमित फैलिने सम्भावना बढेको छ।

नेपालमा हाल सम्म ९ जनामा कोभिड १९ को संक्रमण फेला परेको छ। आजै मात्र नेपालमा थप तीन जनामा कोभिड-१९ को संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसरी थपिएका नयाँ संक्रमितमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र यसअघि दुबईबाट नेपाल फर्किएका धनगढीका पुरुषका आफन्त (भाउजु)मा कोभिड-१९ को संक्रमण देखा परेको हो। ३४ वर्षीय महिलामा स्थानीय संक्रमण देखा परेसँगै पहिलो पटक नेपाल भित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको हो।

संक्रमितमध्ये एक जना निको भएर फर्किएका छन्। चीनको वुहानबाट नेपाल आएका एक जना गत माघमा नै कोभिड-१९ को पहिलो संक्रमण देखिएको थियो।

त्यसपछिको चैतमा आएर चारवटा कोभिड-१९ का संक्रमण देखिए। फ्रान्सबाट फर्किएकी एक किशोरीमा दोस्रो केस देखियो। त्यस्तै खाडी मुलुकबाट फर्किएका दुई युवामा पनि कोभिड-१९ संक्रमण फेला पर्‍यो। त्यस्तै, दोस्रो केस देखिएको युवतीसँग एउटै विमानमा फर्किएकी बाग्लुङकी एक किशोरीमा पनि कोभिड-१९को संक्रमण देखियो। उनी बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्युआर ६५२ मा नेपाल आइपुगेकी थिइन्।

छैटौं केस बाग्लुङमै देखियो। कतार एयरको सोही उडानबाट बेल्जियमबाट फर्किएकी उनमा कोभिड-१९ मा संक्रमण देखा परेको थियो।

आज संक्रमित भएकी महिलालाई आजमात्रै अस्पताल पुर्‍याइएको छ। संक्रमण भएको पुष्टिसँगै घरमै रहेकी उनलाई अस्पताल लगियो। तर, यसबीच उनबाट कति जनामा संक्रमण फैलियो वा उनी कतिजनाको सम्पर्क नजिक पुगिन् त्यसको कुनै ट्र्याकिङ छैन। संकास्पद वा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको बेलैमा ट्र्याकिङ गरेर परीक्षण नगर्दा अन्य व्यक्ति थप लोकल ट्रान्समिसन हुने देखिन्छ।

विश्व स्वास्थ्य संगठनले तयार पारेको कोभिड-१९ रोकथामका लागि स्ट्राटेजिक प्रिपियर्डनेस एण्ड रेस्पोन्स प्लानले संक्रमण पहिचान र नियन्त्रणलाई प्राथमिकतामा राखेको छ।

संक्रमण सर्भिलेन्सका लागि केसहरुलाई विश्व स्वास्थ्य संगठनले चार वर्गमा परिभाषित गर्दै ट्रान्समिसनका चार चरणलाई परिभाषित गरेको छ।

कोभिड-१९ को ट्रान्समिसनका चरण

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को संक्रमण ट्रान्समिसनका चारवटा चरणलाई उल्लेख गरेको छ। संक्रमणको ट्रान्समिसन प्याटर्नलाई हरेर सोही अनुरुप राष्ट्रिय तथा स्थानीयस्तरमा तयारी गर्न विश्व स्वास्थ्य संगठनले भनेको छ।

 

यी हुन चार चरण

१ 'नो केस' यस चरणमा देश वा क्षेत्रमा कुनै पनि केस पुष्टि नभएको अवस्थालाई जनाउँछ।

२ स्पोराडिक केस 'छिटपुट घटना'- यो चरणमा एक वा एक भन्दा बढी केसहरु जुन 'इम्पोर्टेड' वा स्थानीय स्तरमा पत्ता लागेका हुन्छ। विशेष गरी संक्रमित क्षेत्रबाट फर्किएका व्यक्तिहरुमा पुष्टि भएसँगै त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य संगठनले स्पोराडिक केसमा वर्गीकरण गरेको छ।

३. क्लस्टर केस (समूहगत घटना): त्यस्ता देश तथा क्षेत्र जहाँ केसहरु समूहगत रुपमा देखिँदै छन् र भुगोलमा एकसाथ एकै प्रकारले देखिँदै छ भने त्यस्तो क्षेत्रलाई डब्लुएचओले क्लस्टर केसमा राखेको छ। यसमा समान एक्पोजरमा केसहरु देखिन्छन्। नेपालको केसमा संक्रमित व्यक्तिसँग जोडिएर आएको परिवारका सदस्यलाई कोभिड-१९ को संक्रमण देखा परेको हो।

४. कम्युनिटी ट्रान्समिसन : यस्तो अवस्था महामारीको रुप हो। यस्तो क्षेत्रमा अधिकमात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो। संक्रमणको ट्रान्समिसन चेन पनि जोडिएका हुँदैन। त्यस्तै, ल्याव परीक्षणबाटै मात्र संक्रमित पुष्टि हुन सक्छ, लागेको शंका पनि हुँदैन। असम्बन्धित समूहगत केसहरु विभिन्न क्षेत्रमा फैलिन्छन्।

विश्वभर फैलिएको कोभिड-१९ को संक्रमणपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई मार्च ११ मा पाण्डेमिकको रुपमा घोषणा गरेको थियो।

त्यस्तै संगठनले कोभिड-१९ विश्वव्यापि विस्तार हुँदै गर्दा जनवरी ३० मा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको थियो।

यति हुँदा हुँदै पनि युरोप र अमेरिकासहित विश्वका अन्य देशहरुले यसप्रति सर्तकर्ता देखाएनन्। मार्चको पहिलो हप्तासम्म चीन र चीनका आसपास देखिइरहेको कोभिड-१९ मार्चको दोस्रो हप्ता पुग्दा नपुग्दै युरोप र अमेरिकामा महामारीका रुपमा फैलिन थाल्यो। योसँगै विश्व स्वास्थ्य संगठन डब्लएचओले पाण्डेमिकको रुपमा घोषणा गर्योम।

विभिन्न चरण पार गर्दै कोभिड-१९ ले पाण्डेमिकको रुप धारण गर्दैगर्दा विश्व नै प्रभावित बनिरहेको छ

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ का केसलाई चार वर्गमा विभाजन गरेको छ।

शंकास्पद केस :

विश्व स्वास्थ्य संगठनले शंकास्पद केसलाई पनि तीन वर्गमा विभाजन गरेकोछ। पहिलो शंका श्वासप्रस्वास सम्बन्धी समस्यालाई राखेको छ। रुघा खोकी र ट्राभल हिस्ट्री अथवा कोभिड-१९ प्रभावित क्षेत्रमा पछिल्लो १४ दिनमा गए नगएको हेरेर शंकास्पद केसलाई पहिलो चरणमा राखिएको छ। त्यस्तै, शंकास्पद केसको दोस्रो भनेको स्वासप्रस्वास सम्बन्धी गम्भीर रोग देखिएमा र कोभिड-१९ को संक्रमण कन्फर्म भएका विरामीसँग सम्पर्कमा गएका व्यक्तिलाई यो चरणमा राखिएको छ।

त्यस्तै, तेस्रो वर्ग हो श्वास प्रस्वास सम्बन्धी समस्या भएका र स्वास्थ्य परीक्षण भइ रोग पत्ता नलागेका व्यक्तिलाई यो समूहमा राखिएको छ।

सम्भावित केस:

कोभिड-१९ को परीक्षण शंकास्पद देखिएका वा यसको परीक्षण कुनै कारणले परीक्षण गर्न नसकिएका केसलाई सम्भावित केसका रुपमा राखिएका छन्। उदाहरणका लागि नेपालमा अहिले लकडाउन गरिएको छ। उपत्यका बाहिर रहेका केसहरुको स्वास्थ्य परीक्षण गर्न समस्या हुँदै आएको छ। यस्तो अवस्थामा ती केसहरु सम्भावित केसहरु हुन्।

पुष्टि भएका केस:

प्रयोगशालाबाट कोभिड-१९ को संक्रमण पुष्टि भएकाहरु यस केसमा पर्छन्।

सम्पर्क:

यस्तो केसमा कुनै पनि व्यक्ति सम्भावित संक्रमित वा पुष्टि भएका संक्रमितहरुसँग सम्पर्कमा रहेका व्यक्ति पर्छन्। उनीहरु प्रत्यक्ष रुपमा एक मिटर भन्दा कम को दुरीमा १५ मिनेट भन्दा बढी निकट रहेका थिए भने त्यस्तोम उनीहरु यस वर्गमा पर्छन्। उनीहरुलाई लक्षण नदेखिए पनि यस समूहमा राखेर अध्ययन गर्न आवश्यक हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell