
काठमाडौं: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिनियाँ वन्यजन्तुको मासु बजारलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। चीनको वुहानमा देखिएको कोरोना भाइरसको स्रोत जंगली जनावरको मासुलाई मानिएको छ। जनावरको मासुबाटै मानिसमा कोरोना सरेको आशंका गरिए पनि पुष्टि भने भइसकेको छैन।
शुक्रबार २जीबी रेडियोसँगको अन्तर्वार्तामा प्रधानमन्त्री मोरिसनले चीनको मासु बजार मुख्य समस्या भएको बताउँदै विश्व स्वास्थ्य दृष्टिकोणबाट विश्व स्वास्थ्य संगठनले केही कदम चाल्नुपर्ने धारणा राखे। अष्ट्रेलियाले संयुक्त राष्ट्र संघमार्फत चीनको मासु बजारमा प्रतिबन्ध लगाउन सशक्त अडान लिने उनको भनाई छ।
दुई महिनाभन्दा बढीको लकडाउनपछि वुहानमा पसल र बजारहरु फेरि खुल्न थालेको डेलीमेलले जनाएको छ। यस्तो बेला अष्ट्रेलियाका प्रधानमन्त्रीले भने, 'ती बजारमा हुने गतिविधि वास्तविक समस्या हुनसक्छ।'
उनले अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको जानकारी दिँदै शुक्रबारसम्म साढे ५ हजार पुगेको बताए। संक्रमण रोक्न सामाजिक दुरी कायम राख्न आग्रह गर्दै उनले सरकारले सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिए।