PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

९ जनाको परिवारसँगै थिए दुबईबाट आएका युवक : एकैघरका दुईमा कोरोना संक्रमण, अन्यको पनि लिइयो स्वाब, परिणाम आउन बाँकी



एम बम

९ जनाको परिवारसँगै थिए दुबईबाट आएका युवक : एकैघरका दुईमा कोरोना संक्रमण, अन्यको पनि लिइयो स्वाब, परिणाम आउन बाँकी

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय ३५ वर्षीय युवा कामको सिलसिलामा दुबईमा थिए। उनी त्यहाँबाट दिल्ली–काठमाडौं–नेपालगञ्ज–कोहलपुर–अत्तरीया–धनगढी चौराह हुँदै विद्युतीय रिक्सामा गत चैत्र ८ गते बेलुकका ६ बजे घर आइपुगे।

एकै घरमा बस्ने र एउटै भान्सामा खाना खाने उनीसहित परिवारमा ९ जना सदस्य। उनी कोरोनाको कहर बढेपछि घर फर्किएका थिए। परिवारका सदस्यले उनलाई कोरोना छ कि छैन भन्ने शंकासमेत् गरेनन्। न त क्वारेन्टाइनमा बस्नुपर्नेमा उनी सचेत रहे।

उनी ११ गतेसम्म आफ्नै घरमै बसिरहे। घरमा बस्दा सबैजना सँगै खाने, बस्ने क्रम लगातार तीन दिनसम्म चलिरह्यो।

‘सुत्ने बाहेक अन्य कुराहरु जस्तो हाम्रो पुरानो दैनिकी थियो, भाइ आएपछि पनि त्यसरी नै चलिरह्यो,' उनका दाजुले पहिलोपोस्टसँग भने, 'उसलाई सुरुमा कुनै लक्षण नै थिएन। तर ११ गतेदेखि खोकी लाग्न थाल्यो। अनि अस्पतालन जान मैले नै भनेको हुँ।’

उनी दुबईमा छँदै पनि एक वर्ष अघिबाट खोकीको औषधि खाइरहन्थे। त्यसैले परिवारका कसैले पनि शंका गरेनन्।

तर, चैत १४ गते उनको कोभिड - १९ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। परिवारमा सँगै बसेकाले अन्य सदस्यहरु पनि उनीबाट संक्रमित हुने सम्भावना देखिएपछि परिवारका अन्य सदस्यको पनि स्वास्थ्य अवस्था परीक्षणको प्रक्रिया सुरु भयो।

प्रहरीले सोही दिन परिवारका ८ जनालाई अस्पताल ल्याउन चाहेका थिए। तर, एम्बुलेन्स मिलेन। त्यसपछि उनीहरु घरमै रोकिएका थिए। १५ गते उनका परिवारका ८ जना सदस्य र उनलाई अस्पतालसम्म पुर्‍याउने उनका छिमेकीसमेत रहेका मामाका छोरासहित ९ जनालाई धनगढीको रंगशालामा निर्माण भएको क्वारेन्टाइनमा राखियो।

त्यसपछि फेरि १७ गते साँझ उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै घर फिर्ता पठाइयो।

१८ गते स्वास्थ्य जाँच गराउनुपर्ने भनेर दवाव आउन थाल्यो। अन्यत्रबाट पनि विरोध हुन थालेपछि गत बुधवार ९ जनाकै स्वाब संकलन गरी काठमाडौं पठाइयो। आज कोभिड - १९ पोजेटिभ देखिने तिनै परिवारकी एक महिला हुन्।

‘परिवारमा गम्भीर लक्षण अहिलेसम्म कसैमा पनि देखिएको छैन। दुई जना ४ वर्षका बच्चाहरु पनि छन्। उनीहरुमा त्यस्तो लक्षण त छैन,' युवकका दाजुले भने, 'मेरो परिवारलालाई पनि त्यस्तो लक्षण त केही थिएन।’

घरमा सँगै खानेबस्ने गरेकाले अरुमा पनि संक्रमण भएको हुनसक्ने सम्भावना बढेको छ। त्यसैले फेरि स्वास्थ्य जाँच गराउनुपर्ने मनस्थिति उनले बनाइसकेका छन्।

सेती प्रादेशिक अस्पतालका इमजेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले पनि परिवारमा सँगै बस्ने गरेका सबैको नमूना फेरि संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको बताए।

'अहिले हामीकहाँ स्थापना भएको ल्याबमा जनशक्ति कम रहेकाले दैनिक ६ देखि ८ जनासम्मको जाँच गर्न सकिन्छ, डक्टर जोशीले भने, 'हामीले उहाँहरुको स्वाब संकलन गरी परीक्षण गर्नका लागि एक टोली खटाइसकेका छौं।’

यससहित आजै सुदूरपश्चिमका अन्य दुई जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या अहिले ४ पुगेको छ। उनीहरु चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell