PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

कोभिड-१९ को परीक्षण सुविधा गाउँगाउँमा पुर्‍याउन विप्लवको माग, कोरोनाविरुद्धको लडाइँमा जनसेना



पहिलोपोस्ट

कोभिड-१९ को परीक्षण सुविधा गाउँगाउँमा पुर्‍याउन विप्लवको माग, कोरोनाविरुद्धको लडाइँमा जनसेना
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सकारको लापरबाही र जनअनुत्तरदायी प्रवृत्तिका कारण नेपालमा कोभिड-१९ बाट नेपाली जनताले क्षति बेहोर्नुपरेको आरोप लगाएका छन्।

विप्लवले विज्ञप्ति जारी गर्दै चीनको बुहान शहरमा यो रोग देखिएपछि नेपालसहित पुँजीवादी देशहरुले रोकथामका लागि पहल गर्न सकिने सम्भावना हुँदा चरम लापरबाही, जनअनुत्तरदायी, अहकारी, मुनाफाबादी प्रवृत्तिका कारण जनताले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था पैदा भएको आरोप लगाएका हुन्।

‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौं नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ’, वक्तव्यमा भनिएको छ, ‘जस्तो कि चीनमा कोरोना प्रकोप बढेसँगै त्यसको फैलावट हुनसक्ने सम्भवानाका बारेमा चर्चा गरे पनि रोकथामका उपायबारे पहल गरिएन। अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्नेलाई समयमै परीक्षण गरिएन।’

उनले समस्या देखा परेपछि विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी नगरेको आरोपसमेत लगाएका छन्।

‘ठूलो दबाबबाट मात्र चीनबाट केही विद्यार्थी नेपाल ल्याइयो। नेपाल-भारत नाका नेपालीहरू स्वदेश फर्कनेबाहेक सम्पूर्ण भारतीयलगायत विदेशी नागरिकहरूका लागि बन्द गरिनुर्थ्यो’, विप्लवले भनेका छन्, ‘तर कतिपय सरकारी संयन्त्र नै सीमा बन्द नगर्ने पक्षमा रहेको देखापर्‍यो। कोरोना प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि त्यसबारे आवश्यक पर्ने सामग्री आयात तथा उत्पादन गर्न कुनै पहल गरिएन।’

भारतमा पनि कोरोना प्रकोप बढेपछि स्वाभाविक रूपमा खुला सिमाना रहेको भारतबाट नेपाल फर्किने नेपालीहरुलाई सीमा क्षेत्रमा रोकी देश प्रवेशमा प्रतिबन्ध गरियो र अमानवीय व्यवहार सरकारले देखाएको आरोपसमेत उनले लगाएका छन्। उनले अत्यावश्यक सामाग्री खरिदमा समेत कमिसनखोरी गर्न खोजिएको आरोप लगाए।

‘विदेशमा रहेका नागरिकलाई हवाईजहाजबाट स्वदेश ल्याउँदा टिकटबाट आउने रकममा समेत कमिसनखोरी गरियो। कोरोनाको आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालहरूले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यानसमेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन’, विप्लवले भनेका छन्, ‘बिरामीहरू कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरूको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो। चितवनलगायत विभिन्न स्थानहरूमा सयौं शय्याको अस्पताल निर्माण गरेको प्रचारबाजी गरे पनि त्यसप्रकारका अस्पतालको प्रयोजन नभएको वा अस्पताल नै नभैकन प्रचार सामग्री मात्र तयार गरिएको देखियो। कोरोना भाइरस संक्रमित भएको आशंकामा त्यस्ता बिरामीको उपचार गर्नुको बदला केही बिरामीलाई देशका विभिन्न अस्पतालहरू घुमाएको पाइयो।’

विप्लवले कोरोना नियन्त्रण नहुँदासम्मका लागि भन्दै गर्नुपर्ने कामहरु सुझाव दिएका छन् :

१. कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ। सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ।

२. कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ।

३. श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ।

४. अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ। 

५. विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ।

६. कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ।

७. भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ।

८. चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधिलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ।

९. मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ।

१०. कोरोना संक्रमणको आशंकामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ। रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ।

११. कोरोनाको संक्रमणको आशंकामा सामान्य बिरामीसमेत अस्पतालहरूले भनो गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ। त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ।

१२. क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ।

१३. कोरोनाको निहुँमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ। ‘लकडाउन’ लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ। यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ। यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ।

१४. आयात गरिने सामग्री विश्व स्वास्थ्य संगठनको गुणस्तरअनुसार निर्क्योल गरेर मात्र आयात गर्नुपर्छ।

१५. नेपाल-भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ।

१६. परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयंसेवकहरुको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ।

त्यस्तै विप्लवले पार्टीले गर्ने काम पनि सुझाएका छन् :

१. कोरोना भाइरस सिङ्गो मानवजातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौं।

२. कोरोना भाइरसविरुद्धको संघर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ।

३. पार्टी कार्यकता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको संघर्षमा सहभागी बनिरहेका छन्। आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पुर्‍याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ।

४. भाइरसविरुद्धको संघर्षमा व्यक्त पुँजीवादी अराजकता, सामाजिक सद्भाव बिथोल्ने र जनअनुत्तरदायी शैलीकाविरुद्ध समाजवादी अनुशासन, जनसेवा र जनएकतालाई प्रोत्साहित गर्नेछ।

५. कोरोना भाइरसजस्तो महामारीलाईसमेत मुनाफा सोहोर्ने, भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गर्ने सामाजिक दलाल पुँजीवादी सरकारको भन्डाफोर गर्नेछ।

६. कोरोना भाइरसविरुद्धको संघर्षमा सरकारको असफलता र अस्तव्यस्तताका बाबजुद जनताले अपनाएको संयमप्रति धन्यवाद दिन चाहन्छ र आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन अपिल गर्दछौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell