PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

राहत फाराम फोटोकपी गरेर बेच्ने पक्राउः वडाध्यक्षले भने,'छानविन गरेर बाँड्छौं'



पहिलोपोस्ट

राहत फाराम फोटोकपी गरेर बेच्ने पक्राउः वडाध्यक्षले भने,'छानविन गरेर बाँड्छौं'

काठमाडौं: काठमाडौं महानगरपालिकाको राहत फाराम  फोटोकपी गरेर विक्री गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा काभ्रे बनेपाका घर भई सरकारीधारा सामाखुसी बस्दै आएका सुरेश शाही रहेका छन्।

सामाखुसीको एक फ्रेस हाउसमा काम गर्ने शाहीले कामपा वडा नम्बर २६ बाट पहिला आफूले राहत फाराम लिएको र त्यहीँ फाराम फोटोकपी गरेर अरुलाई २० रुपैयाँमा बेचेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 'उनीमाथि ठगी  मुद्दामा कारवाही हुन्छ,' डिएसपी बोगटीले भने।

कोरोना संक्रमणको कारण सरकारले घोषणा गरेको लकडाउनको सबैभन्दा बढी प्रभावित ज्याला मजदुरी गर्ने विपन्न वर्ग र कोठा भाडामा लिएर बस्ने विद्यार्थीका लागि बाँडिएको राहत फाराम अनाधिकृत रुपमा फोटोकपी गरेर बेचेको फेला परेपछि वडा नम्बर २६ का पदाधिकारीले शाहीलाई नियन्त्रणमा लिएर सोह्रखुट्टे वृत्तमा बुझाएका थिए।

वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले फारामको छानविन गरेर राहत वितरण कार्यलाई अगाडि बढाइने बताए। १५ सय २० वटा फाराम वितरण गरेको पाइएको बताउँदै उनले सबैको वास्तविक पहिचान गरिने स्पष्ट पारे। अनाधिकृत फाराम वितरण हुँदा शनिबार राहत वितरणमा समेत विवाद देखिएपछि स्थगित गरिएको थियो। भोलिबाट पुन वितरण सुरु गरिने वडाध्यक्ष तिवारीको भनाई छ।

'फोटोकपी फाराम किनेर लगेकाहरुले हाम्रो पालो कहिले आउँछ भनेर सोधे। हामीले ती फाराम नै बाँडेका थियनौं। यहीँ विषयमा विवाद भएको हो। सबै फारामको छानविन गरेर भोलिबाट राहत बाँड्छौं,' वडाध्यक्ष तिवारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell