PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

बेलायतमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बढ्दै



पहिलोपोस्ट

बेलायतमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बढ्दै
Photo: Isabel Infantes/AFP via Getty Images

दुई हप्ताअघिसम्म बेलायतमा मानिसहरु पब तथा रेस्टुरेन्ट गइरहेको देख्न सकिन्थ्यो। अत्यावश्यक वस्तुहरुको सञ्चिति गरेको भएपनि मानिसहरु बाहिर जान छाडेका थिएनन्। अहिले बेलायतका सडकहरु खाली देखिन थालेपछि र अत्यावश्यक बाहेकका व्यवसाय बन्द हुँदा पब तथा रेस्टुरेन्ट धाउने कुरा स्मृति बनेको छ।

बेलायतमा गत मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा गरिएको थियो। त्यसका बाबजुत पनि कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ। शुक्रवार दिउँसो मृत्यु हुनेको संख्या २० प्रतिशतले बढेर ४ हजार ३१३ पुगेको छ। २४ घण्टामा ७०८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

युरोपमा निकै प्रभावित मानिएको इटालीमा मृत्युदर घटिरहँदा बेलायतमा भने हरेक दुईदेखि तीन दिनमा दोब्बरले बढिरहेको छ। भाइरसको संक्रमणका कारण विशेषगरी ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुको मृत्यु भएको छ। तर, मृत्यु हुनेमध्ये केही भने युवा थिए र उनीहरुमा कुनै स्वास्थ्य समस्या पनि देखिएको थिएन।

अप्रिल ३ सम्ममा ४१ हजार ९०३ संक्रमितमध्ये ४ हजार ३१३ जनाको मृत्युभएसँगै बेलायतको कुल मृत्युदर करिब १० प्रतिशत छ। यता इटालीमा सो दर १२ प्रतिशत छ भने जर्मनीमा मात्रै १ प्रतिशत। तर, विज्ञहरुले भने वास्तविकता अझै फरक रहेको बताएका छन्।

‘समस्या के हो भने हामीलाई संक्रमित मानिसहरुको वास्तविक संख्या थाहा छैन। यदि अहिलेको तथ्यांक पर्याप्त छैन भने मृत्युदर बढ्नेछ, जुन हुने पक्का देखिन्छ,’ युनिभर्सिटी कलेज लण्डनको ग्रेट अर्मोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थकी निर्देशक रोजालिन्ड स्मिथले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell