PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

कोरोना कहर : २७ जना एचआइभी संक्रमितलाई कसरी जोगाउने? यही पिरलो छ राजकुमार र उमालाई



प्रकाश भण्डारी

कोरोना कहर : २७ जना एचआइभी संक्रमितलाई कसरी जोगाउने? यही पिरलो छ राजकुमार र उमालाई

काठमाडौं : कीर्तिपुर भत्केपाटीको चोकबाट बाँयातर्फ मोडिएर ५ मिनेट जति हिँडेपछि पुगिन्छ - बेबी लाइफ होम। सँगै छ त्यही होमले सञ्चालन गरेको स्कुल सफलता एचआइभी शिक्षा सदन। स्कुलका २७ जना विद्यार्थी सबै एचआइभी संक्रमित। एलकेजीदेखि १० कक्षासम्मको पढाई। कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि यहाँको पढाई पनि ठप्प छ।

पढाई ठप्प भएसँगै २७ जनालाई २४ घन्टै सम्हाल्न व्यस्त छन् होमका अध्यक्ष राजकुमार पुन र उपाध्यक्ष उमा गुरुङ। तीन जना एसईईको तयारीमा छन्।

सबै बालबालिकालाई बिहान बेलुका एचआइभीको औषधि खुवाउनु पर्छ। पढ्ने तालिका हेर्नुपर्छ। गीत गाउनेदेखि फिल्म हेर्ने समयको तालिका मिलाइदिनुपर्छ।

यसो त पछिल्लो समय हरेक दिन कोरोना भाइरस संक्रमणको समाचारमा चासो छ सबैलाई। 

संक्रमण फैलिएसँगै चुनौति थपिएको छ राजकुमारलाई - यी बालबालिकालाई कोरोना संक्रमणबाट कसरी बचाउने? भन्छन्,'एकातिर उनीहरु पहिल्यै एचआइभी भाइरस बोकिरहेका छन्। त्यसैले रोगसँग लड्न क्षमता कम छ। जोगाउन एकदम कठिन छ।'

प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले पुनले सतर्कता भने अपनाएका छन्। ज्वरो आउने बित्तिकै सेल्फ क्वारेन्टाइनमा राख्छन् बालबालिकालाई। 'दुई जनालाई ज्वरो आएकाले क्वारेन्टाइनमा छन्। तर ज्वरो ठीक भइरहेको छ। लक्षण पनि कोरोनाको नभएकाले डराउनुपर्ने अवस्था छैन', राजकुमार भन्छन्। हरेक महिना टेकुको सरुवा रोग अस्पतालमा जाँच गर्ने भएकोले पनि ढुक्का छन् उनी।

हरेक दिन ज्वरो नाप्ने तालिका बनाइदिएका छन्। खानपिनमा पनि ध्यान दिएकै छन्। 

नेपालजस्तै लकडाउनमा छन् धेरै देशहरु। साथीभाई र आफन्तको भेट इन्टर्नेटमा सीमित हुन थालेको छ। संसार कोरोनाबाट प्रताडित हुँदा संसारकै एक अंश नेपाल पनि यसबाट कत्ति दुर छैन। घर भित्र थुनिनु परेको बाध्यताले उकुसमुकुस छन् नेपालीहरु पनि।

कामको बोझले परिवारसँग बस्न नपाएकाहरु पनि अहिले आफ्ना साना नानी बाबुसँग खेलिरहेका होलान्। पीर एउटै छ कसरी कोरोनाको संक्रमणबाट आफू र आफ्ना सन्तानहरुलाइ बचाउने। तर, २७ जना बालबालिकाले एचआइभीकै कारण आफ्ना बाआमाको न्यानो काख पाएनन्। आफ्नो आँगनमा खेल्न पाएनन्। जसका लागि न्यानो काख बनिदिएका छन् पुन र गुरुङ।

संसारभरका मानिसलाइ साझा चिन्ता छ- कोरोनाबाट कसरी बच्ने?

तर राजकुमारलाई भने एउटै पीर छ कसरी जोगाउने यी बालबालिकालाई। र, भन्छन्,'अहिले हामीहरुलाई ठुलो चूनौति छ। हाम्रा सिसाका खेलौनालाई कसरी बचाउने भन्ने चिन्ताले पिरोलिरहेको छ।'

कोरोनाबारे समाचार सुनेपछि विभिन्न प्रश्न सोध्छन् उनलाई। 'बाहिर देशमा एचआइभीको औषधि कोरोना भाइरसका लागि प्रयोग भइरहेको हो?' उनीहरुले जिज्ञासा राख्छन् राजकुमारसँग, 'हामीले त पहिल्यै खाइरहेकाले लाग्दैन होला है।'

जवाफमा राजकुमार भन्छन् - 'त्यस्तो हुँदैन, अहिले नै त्यसबारे अध्ययन भइसकेको छैन। 

बालबालिकालाई खुसी र व्यस्त राख्नु यहाँको पहिले देखिकै नियम हो। त्यसैले नै एचआइभी संक्रमितको आयु थपिन्छ। यसैले यी विषयमा एकदमै ध्यान राख्छन् पुन र गुरुङ।

'हाम्रो मुख्य उद्देश्य उनीहरुको आयु लम्ब्याउनु हो। उनीहरुलाई तलमाथि भए बर्बाद हुन्छौं',राजकुमार पुनले करुणा भावमा सुनाएको वाक्य हो यो।

एचआइभी संक्रमितलाई कतिको खतरा?

बेल्जियको इन्टिच्युट अफ ट्रपिकल मेडिसिनले एचआइभीका बिरामीलाई कोरोना संक्रमण कतिको हुन्छ भन्ने विषयमा अध्ययन भइनसकेको जनाएको छ। एचआइभी संक्रमितको लागि कोरोना कतिको जोखिम छ भन्ने कुरा पनि अहिलेसम्म जानकारीमा नआएको ट्रपिकल मेडिसिनको वेबसाइटमा उल्लेख गरिएको छ।

बजफिड डट कमको एउटा लेखमा यस्तो अवस्थामा एचआइभीका बिरामी क्वारेन्टाइनमै बस्न ठीक हुने सुझाएको छ। यस्तो बेला सामाजिक दुरी कायम गर्ने र सफाइमा ध्यान दिनु नै संक्रमणबाट बच्नुको उत्तम उपाय भएको लेखमा बताइएको छ।कोरोना संक्रमित र मृत्यु भएकाहरुमा एचआइभी संक्रमितहरु भएको अहिलेसम्म कुनै रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell