PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एनआरएनए ग्लोबल हेल्थ कमिटी भन्छ : अमेरिकामा ५ सय नेपालीमा कोरोना, संक्रमित प्राय सेल्फ क्वारेन्टाइनमा



रासस

एनआरएनए ग्लोबल हेल्थ कमिटी भन्छ : अमेरिकामा ५ सय नेपालीमा कोरोना, संक्रमित प्राय सेल्फ क्वारेन्टाइनमा

गत साता कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको निधन भयो। हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा उनी एक्ला नेपाली हुन्। तर, उनीजस्तै विभिन्न प्रयोजनका लागि अमेरिकामा रहेका नेपालीमूलका अमेरिकी, नेपाली भाषी एवं नेपाली यस विश्वव्यापी माहामारीको चपेटामा परेका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहेका डाक्टर केशव पौडेलका अनुसार अमेरिकामा करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन्। तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभइ सेल्फ क्वारेन्टाइनमा बसेका छन्। तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन भने सकेको छैन।

कति नेपाली संक्रमित छन् भन्ने कुराको आधिकारिक डाटा नभएपनि त्यहाँ रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको उनको दावी छ।

कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ। पौडेलले भने, 'अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ। त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ।'

त्यसैले सामाजिक दूरी कायम गरेको र खानपिन र सर सफाइमा आवश्यक ध्यान दिएको खण्डमा आत्तिनु नपर्ने उनको तर्क छ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न टेलिफोन लाइन र अनलाइन फर्म खुला राखेको छ। अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले भनेका छन्,'अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरिएको छ।'

अमेरिका भ्रमणमा रहेका नेपालीको भिसाको म्याद सकिएको खण्‍डमा भने ‘ओभरस्टे’का कारण समस्या हुनसक्ने बताए।

अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताए। उनले सङ्घीय जनप्रतिनिधिसँग सहकार्य गरेर नेपाली भाषी नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको दावी गरे।

उनका अनुसार त्यहाँको सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन पर्दैन। भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेकोसमेत बताएका छन्।

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्छन्। यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन्। अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको। न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ।

एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले भने, 'हामीले अनौपचारिक तथ्याङ्क सङ्कलन गरेका छौँ, यसरी तथ्याङ्क केलाउँदा करिब ५०० कोरोना भाइरसको सङ्क्रमित भएको देखिएको छ। तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन्।'

अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्याङ्क पत्ता लगाउन कठिन हुने सापकोटाको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell