PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लकडाउन सिर्जना : प्रहरीलाई आएको त्यो कल जसले बनायो यस्तो गीत



सविन ढकाल

लकडाउन सिर्जना : प्रहरीलाई आएको त्यो कल जसले बनायो यस्तो गीत

'सर तपाईँले आज 'आजतक' हेर्नु भयो? नेपाल प्रहरीले पनि त्यस्तै गर्नु पर्‍यो के।'

मंगलवार इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीको मोबाइलमा कल गर्ने व्यक्तिले सुझाव दिइरहेका थिए।

उनको नयाँ आइडिया के थियो? आजतक किन हेर्ने?

डिएसपी भण्डारी केही समय अन्योलमा परे।

सरकारले घोषणा गरेको लकडाउनका कारण प्रहरीलाई अन्य समयभन्दा भ्याइ नभ्याइ छ। कहिले 'चाउचाउ र पाउरोटीको भरमा ड्युटी गर्दै प्रहरी' भन्ने खालका समाचारले उनीहरुको दु:ख देखायो। अनि कहिले लकडाउन उल्लङ्घ गरेको भन्दै सर्वसाधरणलाई भाटा र सिलिन्डर बोकाएका तस्बिरका कारण बद्नामी पनि भोग्नु पर्‍यो।

त्यस्तै केही विषय सम्बन्धित सुझाव त होइन?

उनीहरु बीच थप कुराकानी भयो। फोन गर्ने व्यक्ति रहेछन् ६० वर्षीय नारायणप्रसाद दंगाल। घर इटहरी। रुची संगीत। उनी आफै गीत लेख्दा पनि रहेछन्।

लकडाउनका कारण घरमै बसेर टिभी हेर्दै समय कटाउँदै थिए उनी। आजतकमा भारतीय समाचार बुलेटिनको बीचमा अचानक गीत बज्यो। समाचार त प्रहरीले लकडाउनको समय गीत गाउँदै मानिसलाई सचेत गराइरहेको बारेमा पो रहेछ। अनि उनले ठीक त्यही तरिका नेपाली परिवेशमा कल्पिए र 'आइडिया' सुनाउन डिएसपी भण्डारीलाई फोन गरे।

डिएसपीले 'नाईं' भनेनन्। भेट्न बोलाए। विस्तृत कुराकानी भयो।

नारायणप्रसादसँग आइडिया मात्र होइन कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी फैलाउन गीतको अंतरा पनि थियो।

'घर बाहिर नजा हैं, कोरोनाले समाउँला

ग्राहो होला निस्किएमा परिवार जोगाउन'

गीत बन्यो। गीतको संगीत चाहिँ पूरानै प्रयोग गरियो। प्रेमध्वज प्रधानले गाएको 'गीत धुम्तीमा नआउ है...'को संगीतसँग रिमिक्स गरेर।

यसरी अनाधिकृत रुपमा रिमिक्स गर्दा कारवाही त नहोला?

उनीहरु बीच बहस भयो। तर, सार्वजनिक हितका लागि गरिने प्रयोग थियो त्यो। बेच्न वा युट्युबतीर हाल्ने कुरै भएन। त्यसैले नयाँ, पूरानो दुई फरक संगीत रिमिक्स गर्ने निचोडमा पुगेको बताउँछन् डिएसपी भण्डारी।

गीत तयार भयो। अब गाउने कसले?

कार्यालयमा गुन्गुनाइ रहने प्रहरी जवान धिरज लिम्बुलाई सम्झिए भण्डारीले। डिएसपीको प्रस्ताव स्वीकार्न समय लगाएनन् उनले पनि। 'सुरुमा त केही लजाएका थिए। तर हामीले आम मानिसलाई सचेत गराउने गीत भएकाले उनी तयार भए गाउन', भण्डारीले भने।

संगीत भर्न तयार भए संगीतकार बालकृष्ण कार्की। बुधवार पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा संगीत एरेन्ज भयो। बिहीवार धीरज स्टुडियोमा पुगे रेकर्ड गराउन। त्यसरी कहिले पनि गीत नगाएका धिरजलाई निकै गाह्रो भयो। पटक पटक एउटा अन्तरा दोहोर्‍याउनु पर्‍यो।

अन्तत: लगातार ४ घण्टाको प्रयासपछि गीत तयार भयो। गीत लेख्ने, संगीत भर्ने र स्टुडियोका प्राविधिकले पनि नि:शुल्क काम गरे। दुई दिनमा एउटा सचेतनात्मक गीत तयार भयो।

उक्त गीतको रेकर्ड बाँढियो। अहिले इलाका प्रहरी इटहरीले आफ्नो क्षेत्रमा यही गीत बजाएर संदेश दिइरहेको छ। 'नयाँ तरिका अपनाएक हो। मनोरञ्जनात्मक ढङ्गमा लकडाउन उल्लङ्घन नगर्न आग्रह गरेका हौं,' डिएसपी भण्डारीले सुनाए।

'आजतक हेर्दै गर्दा भारतीय प्रहरीले अपनाएको शैली रचनात्मक लाग्यो। नेपालमा पनि त्यस्तै गर्दा ठीक हुन्छ कि भन्ने प्रश्न थियो। जवाफ स्वरुप गीत नै रेकर्ड भयो,' नारायणले पहिलोपोस्टसँग भने।

नारायणप्रसाद मुड चल्दा मात्र गीत लेख्नछन्। चुनावको समयमा स्थानीय तहका लागि गीत लेखेका थिए उनले। उक्त गीतले राम्रै चर्चा बटुलेपछि हौसिएका थिए उनी।

'मुड चल्यो भने यसो गीत कोर्छु। यसपाला पनि भएको त्यही हो,' उनले भने।

अहिले नारायण लकडाउनका कारण घरमै छन्। दिनभर आराम गरिरहेका हुन्छन् सामाजिक सञ्जाल चलाउँछन्- आफ्नै गीतको चर्चा।

बेलाबेला स्पिकरमा घन्काउँदै गुड्ने सुरक्षाकर्मीको गाडीमा पनि आफ्नै गीत। उनी मख्ख सुनिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell