PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गाउँमा चलिरहेछ भोज : न लकडाउनको चेतना, न त प्रशासनकै उपस्थिति, मडारिँदैछ खतरा



कमलराज भट्ट

गाउँमा चलिरहेछ भोज : न लकडाउनको चेतना, न त प्रशासनकै उपस्थिति, मडारिँदैछ खतरा

काठमाडौं : कोरोना संक्रमितको ग्राफ नेपालमा बिस्तारै बढिरहेको छ। विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डअनुसार तेस्रो चरणको कोरोना संक्रमणको पहिलो केस नेपालमा शनिवार फेला परेको हो। सुदूरपश्चिम प्रदेशमा थप तीन जना संक्रमित शनिवार फेला परे। तीनवटै केस सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका हुन्। यसअघि दुबईबाट फर्किएका धनगढीका एक जनालाई संक्रमण देखिएको थियो।

दुबईबाट आएका व्यक्तिमा संक्रमण देखिँदा खासै चिन्ता गरिएको थिएन। उनको उपचार भइरहेको छ। तर, शनिवार देखिएका थप तीनवटा केसले सुदूरपश्चिममात्र होइन, सबैतिर सतर्क रहन सन्देश दिएको छ।

थप तीनवटा केस देखिएपछि शनिवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ। साथै कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्टको निर्णय पनि भएको छ।

परीक्षणको दायरा बढाउने सरकारी निर्णय सकारात्मक भए पनि सुदूरपश्चिमका लागि भारतबाट घर फर्केका नागरिकहरु डरलाग्दो चुनौतीका रुपमा देखिएका छन्।

सीमा नाकाबाट नाराबाजी र जुलुससहित हुलकाहुल छिर्दा शनिवार भेटिएका संक्रमित पनि त्यसमा सहभागी थिए। संक्रमित व्यक्ति कैलाली लम्कीका हुन्। उनी कति व्यक्तिको सम्पर्कमा पुगे भन्ने कुरा यतिखेर चिन्ताको विषय बनेको छ।

त्यसैगरी, कञ्चनपुरका संक्रमित ११ जनाको समूहमा महाकाली नदीमा ट्युबबाट सीमापार गरेका व्यक्ति हुन्। उनलाई सशस्त्र प्रहरीले समातेर क्वारेन्टाइनमा पुर्‍याएको थियो। उनीबाट पनि कतिमा कोरोना सर्न सक्छ भन्ने अहिलेको अहम् प्रश्न बनेको छ।

शनिवार पोजेटिभ रिपोर्ट आएको तेस्रो केस त धनगढीको सेती अस्पतालमा उपचाररत संक्रमितका नातेदार हुन्। अर्थात् ती महिलामा आफन्तबाट कोरोना सरेको हो। एकै घरका दुईमा कोरोना संक्रमण भेटिएपछि ९ जनाको परिवारका अन्य सदस्यको पनि स्वाब दोस्रो पटक लिइएको छ। पहिलो पटकको स्वाबमा ७ जनाको नेगेटिभ रिजल्ट आइसकेकव छ। यसले थोरै राहत दिए पनि उनीहरुको थप परीक्षण आवश्यक छ। यो परिवारबाट अरु कतिलाई कोरोना सर्‍यो भन्ने परिणाम अब देखिँदै जानेछ।

अर्कोतिर सुदूरपश्चिममा अझै पनि लकडाउन फितलो छ। गाउँगाउँमा त्योहार पर्वको रौनक छ। भोजभतेर चलिरहेको छ। कोरोना भाइरसको संक्रमणप्रति अझै संवेदनशील छैनन्, यहाँका मानिसहरु। खेतीपाती र चाडपर्वको सिजन जारी छ।

कस्तो छ कञ्चनपुरमा लकडाउनको अवस्था?

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य महेशदत्त जोशी यसरी त्यहाँको अवस्था व्यक्त गर्छन् :

कञ्चनपुरका ग्रामीण भेगको कुरा गर्ने हो भने मानिसहरु दारु खाएर रातभर हिँडेका छन्। राति-राति मदिरा बिक्री खुला छ। दिउँसोमात्रै लकडाउन जस्तो हुन्छ। भारतीय नोटको कोरोबार पनि भइरहेको छ। राजनीतिक दलको बन्द जस्तो सोचेका छन् यहाँका मानिसले। व्यापारीले पनि त्यहीँ सोचेका छन्। पुलिसले पनि आँखा चिम्लिएका छन्। सचेतना छैन। शहरभन्दा गाउँमा खतरा छ।

गाउँमा दारु खाने, घुमिराख्नेक्रम चलिरहेको छ। खेतीपातीको समय छ, सचेतना पनि भएन। लकडाउन कसरी भन्ने? दिउँसो बन्द हुन्छ। साँझ पूरै खुला छ। रातभर यताउति गएका छन्। गाउँमा प्रहरी पनि पुग्दैन।

बजारमा सचेतना पनि छ, प्रहरी पनि। अस्पताल पनि छन्। तर, गाउँमा त केही पनि छैन। सबै लथालिङ्ग छ अहिले। गाउँमा धेरै खतरा भयो।

यसका लागि गाउँमा सरकार देखिनुपर्‍यो। प्रहरी प्रशासनलाई खटाउनुपर्‍यो। स्वास्थ्यकर्मी खटाएर परीक्षण पनि बढी गर्नुपर्‍यो। लकडाउन अझै कडा गरिदिनुपर्‍यो। गस्ती गरिदिनुपर्‍यो।

यहाँ कोही पुलिस आउँदैन। दुईचारजना चौकीवाला छन्। उनीहरु आफैं हैरान छन्। रातदिन ड्युटी गर्दागर्दा, गस्ती आउँदैन। गाउँमा अस्थायी पोस्टहरु पनि राखिदिनुपर्‍यो।

कोरोना फैलिन नदिन प्रत्येक ग्रामीण भेगमा धेरैभन्दा धेरै स्वास्थ्य र सुरक्षा फोर्स हुनुपर्दछ। शहरभन्दा गाउँमा बढी जोखिम देखियो।

भारतबाट लाखौँ मान्छे गाउँमा बसेका छन्। प्रत्येक दुई घरको बीचमा एक घरमा इन्डियाबाट लाहुरे आएका छन्। पैसा पनि ल्याएका छन्। वर्षौँपछि घर आएर दारुपानी खाने खसीबाख्रा काटेर खाने गरिरहेका छन्।

खेतीपातीको बेला छ। तिहारहरु चैते दशैँ, विशु (नयाँ वर्ष), नौरता पनि चलिरहेको छ। यसबेला घर आउने लाहुरेहरुको भोजभतेर र खुसीयाली छ। चेतना नै छैन। धेरै पढेलेखेका छैनन्, 'कुछ नही करेगा कोरोना' भन्ने धारणा व्याप्त छ।

यो समय कोरोना महामारीको भए पनि सुदूरपश्चिमवासीका लागि विशु पर्वको समय हो। यसबेला भारतमा मजदुरी गर्न गएका नेपालीहरु त्यसै पनि फर्किन्छन्।

हामीले स्थानीय तहसँग मिलेर सचेतना, क्वारेन्टाइन निर्माण तथा सतर्कतका विभिन्न उपायहरुमा पहल गरिरहेका छौँ। तर, यो पर्याप्त छैन।

राहतको पहल पनि गरेका छौँ। यहाँको बादी समुदाय, सुकुम्वासी, आरक्ष पीडित र मुक्त कमैयामा भोकमरीको अवस्था छ। सूची बनाएर सरकारलाई पठाएका छौँ।

हामी गाउँमै जनताको बीचमा छौँ। फोनबाट समन्वय गर्ने प्रयास गरेका छौँ। नागरिकलाई घरबाट ननिस्कने वातावरण बनाउन लागिपरेका छौँ। तर, उनीहरुमा त्यस्तो कुनै सतर्कता, चिन्ता महसुस भएको पाएका छैनौँ। हाम्रो पहलले मात्रै पुग्दैन। मान्छेलाई नियन्त्रण गर्न प्रशासन चाहिन्छ। स्वास्थ्यकर्मी चाहिन्छ। त्यसको अभाव छ।

खद्यान्नको अभाव छ। औषधि उपचारको पनि अभाव छ। विरामी परिहाले पनि ठूलो समस्या छ। अस्पतालमा बेड पनि छैन। हाम्रो निष्कर्ष के छ भने गाउँमा बढी खतरा छ। यसतर्फ सरकारको ध्यान जानुपर्छ।

जोशी कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell