
कोरोना भाइरसको संक्रमण विश्भर फैलिएसँगै मास्क, स्यानिटाइजर, व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई), भेन्टिलेटर, टेस्ट किट लगायतका मेडिकल उपकरणहरुको अभाव विश्व बजारमा बढ्दै गएको छ। अधिकांश राष्ट्र भाइरसबाट प्रभावित भएकाले यी सामाग्रीहरुको निर्यात र आयातमा समेत समस्या भएको हो। कतिपय देशले अभाव टाल्न स्थानीय स्तरमा नै मास्क, स्यानिटाइजर, पीपीई लगायतका सामाग्री निर्माण गर्न थालेका छन्।
विश्वका शक्तिशाली र विकसित मानिने राष्ट्रहरुमा समेत यी उपकरणको अभाव भएको छ। उनीहरु समेत भाइरससँग जुँध्न स्वास्थ्य उपकरणहरुको संख्या वृद्धि गर्न प्रयासरत् छन्।
चीनको वुहानबाट फैलिएको भाइरसले युरोप हुँदै अहिले अमेरिकामा पुगेको छ। भाइरसबाट अमेरिकामा विश्वमा नै सबैभन्दा धेरै मानिस संक्रमित भएका छन्। ३ लाख भन्दा मानिस संक्रमित हुँदा ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा अमेरिकामा समेत स्वास्थ्य सामाग्रीहरुको अभाव हुँदै गएको छ।
यसैबीच जमर्नी र फ्रान्सले अमेरिकामा माथि आफूहरुका लागि तयार गरिएको मास्क जफत गरेको आरोप लगाएका छन्। इन्डिपेन्डेन्टमा रिपोर्ट छ।
बर्लिन र पेरिसका अधिकारीहरुका अनुसार युरोपका लागि तयार गर्न अर्डर गरिएका मास्क अमेरिकाले आफ्नो नियन्त्रणमा लिएको हो। ती मास्क अमेरिकी कम्पनीलाई निर्माण गर्न दिइएको थियो।
जर्मनीका आन्तरिक मामिला मन्त्री एन्ड्रेस गेइसेलले अमेरिकाले अमेरिकी कम्पनीलाई निर्माण गर्न दिएको करिब दुई लाख मास्क नियन्त्रणमा लिएको दाबी गरेका छन्।
विपदको परिस्थितिमा अमेरिकाले गरेको यस्तो क्रियाकलापको निन्दा गर्दै उनले मानविय संवेदना देखाउन अमेरिकी राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले महामारी बनेको भाइरस अमेरिकामा फैलिएसँगै अमेरिकमा निर्मित स्वाथ्य उपकरणहरु निर्यातमा प्रतिबन्ध लगाएका कारण मास्क जफत गरिएको हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, फ्रान्सले पहिलै अर्डर गरिसकेको चीनमा निर्मित मास्क अमेरिकीहरुले बढी मूल्य तिरेर किने आरोप समेत लगाइएको छ।
पेरिसका क्षेत्रिय प्रमुख भलेरी पेक्रेस्सीले भनिन्, ‘उक्त मास्क हामीले खरिद गर्ने तय भएको थियो तर हामीभन्दा बढी मूल्य तिर्ने भनेपछि अमेरिकीहरुलाई दिइयो। हामीले डेलिभरीपछि मात्रै पैसा दिने भनेका थियौं किनभने हामी मास्क हेर्न चाहन्थ्यौं। तर अमेरिकीहरुले पैसा तिरे र मास्क नहेरी लगे। विश्व नै संकटमा रहेको बेलामा यो समय केहीका लागि नाफा कमाउने मेसो बनेको छ।’
यता, पेरिसमा रहेको अमेरिकी दूतावासले उक्त आरोपको खण्डन गरेको छ।