PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इटालीको आइसियूमा छाएको धिपधिपे उज्यालो…



पहिलोपोस्ट

इटालीको आइसियूमा छाएको धिपधिपे उज्यालो…
photo: Skynews

शुक्रवारसम्म इटालीका अस्पतालहरुको आइसियूमा चार हजार ६८ कोरोना संक्रमित थिए। शनिबार उक्त संख्या घटेर तीन हजार नौ सय ९४ पुग्यो।

अनि इटालीको सिभिल प्रोटेक्सन डिभिजनको प्रमुख एन्जेलो बोर्रेलीले मिडियासँग झिनो आशा बोकेर आएको यस खुशी साटे। भने, 'यो हाम्रो लागि निकै महत्वपूर्ण तथ्याङ्क हो। किनकि पहिलो पटक यस्तो हुँदैछ। गम्भीर बिरामीको संख्यामा कमी आउँदैछ। अस्पताललाई केही राहत मिलेको छ। यो समय स्वास्थ्यकर्मीले थोरै भए पनि शान्त भएर सास लिने मौका हो।'

त्यहाँका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुमा पनि आशा पलाएकव छ - केही कायापलट भइहाल्छ कि भन्ने। चीनबाट फैलिएको यस भाइरसले इटालीलाई सबैभन्दा बढी आक्रान्त पार्‍यो। किनकि जब यस देशमा कोरोना फैलन सुरु भयो तब कुनै सावधानी, संयन्त्र र सुविधाले रोक्न सकेन।

हुन त शनिवारमात्रै इटालीमा कोरोना भाइरस संक्रमणकै कारण ६ सय ८१ मानिसको मृत्यु भयो। त्यसलगत्तै भाइरसका कारण मृत्यु हुनेको संख्या पन्ध्र हजार तीन सय दुई पुग्यो। तर, गम्भीर बिरामी घट्नुको अर्थ मृतकको संख्यामा कमी आउने सम्‍भावना देखिनु हो। यस बखत् हरेक सम्भावनाको खोजीमा छ, इटाली। त्यसैले सानासाना कुराले खुशी दिलाएको छ उनीहरुलाई।

'बिरामीको संख्या घट्नु हाम्रा लागि महत्वपूर्ण संकेत हो। तर, हामी अझै पनि खतरामुक्त भएका भने होइनौं,' इटालीका साइन्टिफिक काउन्सिलका प्रमुख फ्रान्को लोकतेलीले भने।

इटालीमा नयाँ संक्रमितको संख्यामा पनि कमी आइरहेको छ। शनिवार दुई हजार आठ सय ८६ नयाँ संक्रमित भेटिएका छन्। योसँगै ८८ हजार २ सय ७४ संक्रमित पुगेका छन्। बीस हजार नौ सय ९६ जना भने उपचारपछि ठीक भइसकेका छन्।

सर्वाधिक प्रभावित लोम्बार्डीको उत्तरी क्षेत्रमा ८५ प्रतिशत संक्रमित छन्। संक्रमणका कारण मृत्यु हुनेहरु पनि यही क्षेत्रमा बढी रहेको बीबीसीमा जनाइएको छ।

इटालीमा लकडाउन छ। तर, उत्तरी क्षेत्रमा निकै कडाइ गरिएको छ।

लोम्बार्डी, वेनेतो, आल्टो लगायत शहरमा पनि अप्रिल ५ तारिखदेखि मास्क नलगाइ बाहिर निस्कन नपाउने नियम लगाइएको छ। १५ तारिखसम्मका लागि बाहिर हिँडडुलमा समेत रोक लगाइएको छ। नियम मिच्नेलाई साढे दुई लाखसम्म जरिवाना लिने प्रावधान बनेको छ।

फेब्रुअरीबाट इटालीमा यस भाइरसको संक्रमण बढ्यो। त्यस यता सार्वजनिक स्थलहरु बन्द छन्। निर्माण कार्यहरुमा पनि रोक लगाइएको छ।

फेब्रुअरी २० मा एक ३८ वर्षीया पुरुषमा पहिलो संक्रमण देखिनुअघि नै इटालीको स्वास्थ्य मन्त्रालयले टास्क फोर्स गठन गरेको थियो, संक्रमण रोकथामकै लागि। युरोपेली राष्ट्रहरुमध्ये इटालीले नै सबैभन्दा पहिले विमान सेवा बन्द गरेको थियो। तर, भवितव्यलाई कसैले रोक्न सकेन, पूर्व तयारीले पुगेन।

बिस्तारै अस्पतालका शैय्याहरु पुगेनन्। चिकित्सक एवं स्वास्थ्यकर्मीको पर्याप्त भएनन्। भएकाको लागि सुरक्षा उपकरणको अभाव भयो। तमाम अभाव त्रास, पीडासँगै भाइरससँग अझै पनि लड्दै छ इटाली। विश्व नै आतंकित बनाएको यस भाइरसका कारण अन्य विकसित मुलुकमा पनि स्रोत साधनको अभाव टड्कारो देखिएको छ। यस अवस्थामा निकै कमजोर भइरहेको इटालीका लागि बिरामीको संख्यामा कमी आउनु। गम्भीर बिरामी ठीक हुनु र नयाँ संक्रमितको संख्या कम हुनु उर्जा बनेको छ। त्यसैले इटालीको आइसियूबाट सानो उज्यालो उदाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell