PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना संक्रमणको अन्त्यपछि ओलीको विकल्प खोज्न मध्यावधि भनेको हुँ, अहिले नै होइन : डा. प्रकाश शरण महत



प्रकाश भण्डारी

कोरोना संक्रमणको अन्त्यपछि ओलीको विकल्प खोज्न मध्यावधि भनेको हुँ, अहिले नै होइन : डा. प्रकाश शरण महत
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले शनिबार पत्रकार ऋषि धमालसँग समसामयिक विषयमा कुराकानी गरे। देश कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको बेला प्रसारण भएको अन्तर्वार्तापछि महतको आलोचना हुन थाल्यो। कारण – मध्यावधि चुनावको माग।

धमलासँगको अन्तर्वातामा उनले सरकार असफल भएको र मध्यावधि निर्वाचन गर्नुपर्छ भनेर अभिव्यक्ति दिएका थिए।

यता, आफ्नो भनाईलाई लिएर सामाजिक संजालमा टीकाटिप्पणी बढदै गएपछि महतले स्पष्टिकरण दिएका छन्। उनले आफूले बोलेको विषयलाई गलत अर्थ लगाएर मिडियाहरुले समाचार प्रकाशन गरेको आरोप लगाएका छन्।

यसै विषयमा केन्द्रित भएर पहिलोपोष्टका प्रकाश भण्डारीले महतसँग केही प्रश्न गरेका छन् :

मध्यावधि चुनावको माग गरेको भनेर तपाईको आलोचना भइरहेको छ? यस्तो बेलामा किन त्यस्तो माग गरेको ?

मैले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिएको थिएँ। यसै विषयलाई लिएर एउटा अनलाइनमा पनि समाचार आयो। कुरै नबुझी हेडलाइनमा प्रकाशशरण महतले मध्यावधि निर्वाचनको माग भनेर लेखिएको रहेछ। जबकि मैले अहिले सरकारको आलोचना भइरहेको छ। सरकारले विभिन्न खराब कामहरु गर्दै गयो। सत्ताको दुरुपयोग गर्दै गयो। ओलीजीको सरकारको विश्वास रहेन भनेर मैले भनेको थिएँ।

समाचार भित्र के छ पढदैनन्। खाली हेडलाइन पढेर यस्तो भन्यो त्यस्तो भन्यो भन्छन्।

सामाजिक संजालमै मध्यावधि चुनावबारे बोलेको भिडियो देखिन्छन् त?

हेर्नुस् आजकाल मान्छेहरुले पूरै भिडियो हेर्दैनन्। कहाँनिर के बोल्छ र गाली गरौं भनेर बसेका हुन्छन्। मैले अघि पनि भने मैले अहिलेको यो परिस्थितिमा मध्यावधि चुनावको माग गरेको होइन।

मैले त अहिले यस्तो अवस्थामा सरकारलाई साथ दिनुपर्छ र यो सबै समस्याको समाधान भइसकेपछि ओलीजीको विकल्प खोज्नुपर्छ भनेको हुँ।

धेरैखालका विकल्पका बारेमा बोल्ने क्रममा मध्यावधि चुनाव पनि एउटा हुनसक्छ भनेको हो। तर, मैले बोलेको भिडियो काटेर चुनावको बारेमा मात्रै बोलेको भिडियो बनाएर गलत प्रचार गरियो। मैले अहिले नै चुनाव माग गरेको होइन।

मध्यावधि चुनावको बारेमा बोल्नुभएको त रहेछ त?

हेर्नुस् मैले भनिसकेको छु। ऋषि धमालालाई पनि भनेको छु। मैले बोलेको विषयमा गलत अर्थ लगाएर किन सामाचार बनाएको भनेर। उहाँले गल्ती सच्याउँछु भन्नु भएको छ। मैले एउटा सन्दर्भमा भनेको कुरालाई सन्दर्भै नबुझेर खाली प्रकाशशरण महतले मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर हल्ला फैलाइदिने?

अबको राजनीति के हुनसक्छ? विकल्प के हुन् भन्ने बारेमा के विष्लेषण नै गर्न नपाउने हो र?

अहिले अप्ठेरो बेलामा च्याखे दाउ थापेको भनेर आरोप पनि लागेको छ नि?

मैले बोल्दै नबोलेको विषयमा भ्रम फैलाइएको हो। मैले त यो कोरोना संक्रमण सकिएपछि मात्रै मध्यावधि चुनाव विकल्प हुनसक्छ भनेको हुँ। अहिले काम गर्नुपर्ने त सरकारले नै हो। सरकारलाई हामीले पनि सहयोग गरिरहेकै छौं। कांग्रेसले अहिलेको बेलामा सहयोग गरेकै छ। यस्तो बेलामा त सरकारले बुद्धि विवेक पुर्‍याएर काम गर्नुपर्‍यो। सिमानामा मान्छेहरु अलपत्र छन्। तिनीहरुलाई समयमै उद्दार गर्नुपर्‍यो। कोरोनाको महामारी दिन दिनै बढदै छ। सरकारले आउन नदिएपछि उनीहरु भागेर आइरहेका छन्। यसले त झन समस्या निम्त्याउँछ।

तपाईँले बोलेको विषयमा सामाजिक संजालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् त्यसैलाई कसरी हेर्नु भएको छ?

मान्छेले सबै सुन्दैनन्, पढदैनन्। हेडलाइनका आधारमा विचार बनाउँछन्। कसलाई कोसँग रिस उठेको छ। त्यहि आधारमा गाली गर्छन। मिडिया पनि विवादास्पद कुरा राखिदियो भने मान्छेले हेर्छन् भनेर त्यस्तै विषय राख्छन्।

सरकारले पछिल्लोपटक गरेका निर्णयलाई कसरी मूल्याङ्कन गर्नुभएको छ?

यो सरकारले सुरुदेखि नै विभिन्न प्रकारका विवादास्पद काम गर्दै आएको छ। अहिले यस्तो विपत्तिमा पनि अनियमितता गर्‍यो। अब कसकसले गरे भनेर त हामीले भन्ने होइन। छानविन गर्ने निकाय छन्। जहाँसम्म औषधि खरिदको कुरा छ, हामीले त पक्कै केही गडबढी छ भन्ने निष्कर्ष निकालेका छौं। नत्र यस्तो विपत्तिको बेलामा ठेक्का किन रद्द गरियो? त्यहीँबाट पनि थाहा पाउन सकिन्छ नि।

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल यो सबै कुराको जिम्मेवार हुन्?

हेर्नुस् उनी मात्रै होइनन्। समग्रमा यो उच्चस्तरीय समन्वय समितिको जिम्मेवारीको कुरा हो नि।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसम्मले यसको जिम्मेवारी लिनुपर्छ। रक्षामन्त्री नै अहिले संयोजक छन्। उनकै रेखदेखम सबै निर्णय हुन्छ। अहिले प्रधानमन्त्रीज्यू स्वस्थ हुनुहुन्न। त्यही भएकोले रक्षामन्त्रीको हालिमुहाली छ।

फेरि कसले गर्‍यो भन्नुहोला त्यो त मैले भन्ने कुरा होइन। यो त अनुसन्धानले देखाउने कुरा हो। सरकारका अन्य निर्णय पनि सत्ताको दुरुपयोग गरेर गरिएका छन्।

महामारी रोक्न सरकारलाई के सुझाव दिनुहुन्छ?

अहिले काम कसरी गर्ने हो हिसाब किताब छैन। विभिन्न तहका सरकार बीच समन्वय भएको पनि देख्दिन। हेर्नुस् म त भन्छु पारदर्शी काम र विभिन्न निकायसँग समन्वय सबैभन्दा खाचोको विषय भइसकेको छ।

बजेट व्यवस्थापन कसरी गर्ने हो त्यसको बारेमा पनि समयमै सोच्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell