- नारायण सापकोटा -
अदृष्य कोरोना!
हिजो आज किन किन
मन त्यसैत्यसै आत्तिदै छ
बिस्तारै शरीर पनि शिथिल हुँदैछ
साँझपख झ्यालबाट बाहिर हेर्छु
बसन्ती हावा सुस्तरी चलिरहेको छ
रुखका नविन पलुवाहरु हल्लिरहेका छन्
पश्चिम क्षितिजमा घाम डुब्न लागिरहेको छ
तिम्रो आगमनले
विश्व आक्रान्त छ
शहर भयभित छ
मान्छेहरु
जीवनको भिख मागिरहेका छन्
लकडाउनमा
घरभित्रै बन्दी हुनुपर्दा
गोलघर भित्रको बन्दी जीवनका
धुमिल स्मृतिहरु आँखाभरी सल्बलाउँछन्
फिक्का लाग्छन्
लय चुढिएका जीवनका गीतहरु
कोरोना!
यो महासंकटमा
विश्वास गरेकाहरुले धोका दिए
आफन्तहरु पनि पराई भए
ढिकुटीमा लामालामा हात ढुबाएर
रित्याउनेहरुलाई
पटकपटक भनिदिनु परेको छ
उनीहरु साधु हुन्
विषम परिस्थितिको मौका छोपेर
कोही कुर्सी हत्याउने दाउमा छन्
कोही खुशीले रमाइरहेका छन्
कोरोना !
अब त,
कुर्सी पनि घाडो हुन थाल्यो
छोडौं भने पनि मान्दैन मन
नछोडौं भने पनि धर्मराएको विश्वासले
कति दिन समाउन सक्ला जीवनको डोरी?
लाखौं लाख बिन्ती छ कोरोना!
आउँदै नआउनु पशुपतिनाथको देशमा
बरु रमाउनु भूस्वर्ग तिरै
यदि तिमी आयौं
र
सिसाकै घर भित्र पस्यौं भने
सिसा जस्तै टुट्ने छन्
देशका सपनाहरु।