PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कांग्रेस नेताहरुलाई गगनको चेतावनी: विपत्तिको बेला सहमतिको सरकार र मध्यावधि निर्वाचनको कुरा बन्द गर्नुस्



पहिलोपोस्ट

कांग्रेस नेताहरुलाई गगनको चेतावनी: विपत्तिको बेला सहमतिको सरकार र मध्यावधि निर्वाचनको कुरा बन्द गर्नुस्

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले विपत्तिका बेला सरकार फेर्ने तथा निर्वाचन गराउने कुरा नगर्न पार्टीका नेताहरुलाई सचेत गराएका छन्।

शनिबार कांग्रेस नेता प्रकाशशरण महतले ­'ओली सरकार असफल भइसक्यो, मध्यावधि चुनाव गराउनुपर्छ' भन्ने अभिव्यक्ति दिएर विवादमा परेका बेला नेता थापाले सरकार परिवर्तन गर्ने र निर्वाचन गराउने कुरा छोड्न पार्टीका नेताहरुलाई चेतावनी दिएका हुन्। उनले यी विषयलाई असम्भव र अनावश्यक भन्दै यस्तो विचार मनमा आए मनभित्रै लक गरेर राख्न सुझावसमेत दिएका छन्।

यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कोरोना भाइरस संक्रमणको विपत्तिका बेला राष्ट्रिय सहमतिको सरकारको आवश्यक रहेको बताएका थिए। पौडेलको यो भनाईतर्फ लक्षित गर्दै नेता थापाले सरकार फेर्ने कुरा बेमौसमी बाजा भएको टिप्पणी गरेका थिए।

थापाले कांग्रेस नेताहरुको बोलीका कारण विभिन्न विवादमा फसिरहेको सरकारको बचाउमा त्यसका कार्यकताले खुराक पाएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्।

आइतबार थापाले ट्वीटरमा लेखेका छन्, 'कहिले सहमतिको सरकार। कहिले मध्यावधि निर्वाचन। लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै 'लक' गरिदिनुहोस्। यस्ता विषय बहसमा आइदिँदा सरकारी "अजासु" हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो।'

थापाले अहिलेको समय सरकारले काम गर्ने र प्रतिपक्षले सहयोग गर्ने बेला भएको बताउँदै आएका छन्।

थापाले यसअघि उपेन्द्र यादवको समाजवादी पार्टी र रवीन्द्र मिश्रको साझा पार्टीले गरेको कोरोना भाइरसविरुद्ध लड्न सर्वपक्षीय उच्चस्तरीय समिति गठनको मागलाई पनि बेमौसमी बाजा भनेका थिए।

सरकारलाई सघाउने कुरा तालीमात्र नभई गल्तीमा गाली पनि भएको उनको मान्यता छ। 'सरकारले पनि बुझोस्, सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो। कहिले सुझाव त कहिले दबाब हो। संकटमा दृढतापूर्वक सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं,' थापाको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell