वीरगंज : पर्सा प्रहरीले एक जना महिलाको हत्या अभियोगमा एकै परिवारका तीन र एक छिमेकी गरी ४ जनालाई पक्राउ गरेको छ।
बहुदरमाई नगरपालिका–८ रामनगरीका उपेन्द्र पंडितकी श्रीमती उर्मिलाको हत्या आरोपमा निजका ससुरा सुरेश, सासु फूलकुमारी, देउरानी मालती देवी र छिमेकी विवेक पंडित पक्राउ परेका हुन्। शुक्रवार साँझ घरमै हत्या गरी शनिवार बिहान २ बजे २३ वर्षीया उर्मिलालाई जलाएको सूचना प्रहरीले पाएको थियो।
प्रहरी घटना स्थलमा पुग्दा मृतकको शव अर्ध रुपमा जलेको थियो। प्रहरीले लासलाई नियन्त्रणमा लिई पोष्टमार्टमको लागि वीरगंजस्थित नारायणी अस्पतालमा पुर्याएको र हत्यामा संलग्नहरुको खोजीका क्रममा उनीहरु पक्राउ परेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी गराइन्।
घटनाको छानविनको क्रममा चारै जनालाई आइतवार बिहान १ बजे घरबाटै नियन्त्रणमा लिएको पन्तले बताइन् ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका चार जनाको बयान सुन्दा हत्या गरिएकी उर्मिलाको छिमेकी विवेक पंडितसँग अनैतिक सम्बन्ध रहेको र शारीरिक सम्बन्ध बनाइरहेको अवस्थमा परिवारजनले देखेपछि उनको हत्या गरी मट्टितेल छर्केर दाह संस्कार शुरु गरेको चारै जनाले स्वीकारेको प्रहरीको दाबी छ।
उर्मिलाका परिवारजनले घरकै पश्चिमपट्टी रहेको खोलामा लगेर दाहसंस्कारको प्रयास गरेका थिए। उर्मिलाका पति उपेन्द्र र भने वैदेशिक रोजगारको क्रममा मलेसियामा छन्।