PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउनले वीरगंजमै रोकिए भारतीय, बाघबाख्री खेलेर बित्दै छ दिन : 'उता परिवार दुःखी छन्, हामी यता अलपत्र'



राधेश्याम पटेल

लकडाउनले वीरगंजमै रोकिए भारतीय, बाघबाख्री खेलेर बित्दै छ दिन : 'उता परिवार दुःखी छन्, हामी यता अलपत्र'

वीरगंज : भारत, मोतीहारीका परदेशी कुमार अहिले वीरगंजमा रोकिएका छन्। कोरोना भाइरस रोकथामका लागि भारत र नेपाल दुबैतर्फ लकडाउन भएपछि काठमाडौंबाट आफ्नो घर हिँडेका परदेशी वीरगंजमा रोकिएका हुन्।

आफू काठमाडौंमा रङ्गरोगनको काम गर्दै आएको र १८ गते राति काठमाडौंबाट माइक्रो हुँदै वीरगंज आइपुगेको उनले बताए। 'त्यही दिनदेखि क्वारेन्टाइनमा बस्नुपरेको छ,' परदेशीले भने। उनी ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा घर जाने दिन कुर्दै बसेका छन्।

पाँच दिनदेखि क्याम्पसमा मोबाइलमा चेस खेलाएर बसिरहेको उनले बताए। परदेशीले भने, ‘परिवार उता घरमा दुःखी छन्, म यता अलपत्र छु। मोबाइल चलाउँदै दिन बित्छ। दुवै देशमा लकडाउन छ, कहिले घर जाने?’

क्वारेन्टाइनमा कोही भने बाघबाख्री खेल्नमा व्यस्त देखिन्थे।

भारत, बेतियाका मोहन पटेलले १३ जनाको समूहमा क्वारेन्टाइनमा बसिरहेको बताउँदै परिवारलाई आफू वीरगंजको क्वारेन्टाइन्मा रहेको बताए। साथै ठूलो सङ्ख्यामा भएको कारण कुनै बेला खानेबेलामा कमी भए पनि अन्य व्यवस्था ठीक रहेको बताए।

***

नेपालको विभिन्न शहरबाट कोरोनाको डरले भारत जाने क्रममा वीरगंजको ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा रोकिएका छन्।

भारतीयहरुलाई ग्रीनसिटी सामुदायिक केन्द्र, वीरगंजले खान–बस्न व्यवस्थापन गरिदिएको छ। क्याम्पसको मुख्य भवनको पछाडिको भवनमा १ सय ७६ जना र सिद्धार्थ माविमा ६ जना गरी १८२ जना भारतीयलाई क्वारेन्टाइनमा राखिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए।

रुंगटा वेलफेयर सोसाइटी वीरगंजको आर्थिक सहयोगमा दिनमा दुई छाक खाना र दुई पटक खाजा उपलब्ध गराइरहेको खेतानले जानकारी दिए।

‘पहिले भारतीय महावाणिज्य दूतावासको आर्थिक सहयोगमा खान र बस्न व्यस्था मिलाउन भनिएको थियो। तर आफनो देशमा दीनदुखीहरुको सेवा गरेर अरुसँग पैसा लिने ठीक लागेन,’ खेतानले भने, ‘त्यसपछि वीरगंजको औद्योगिक घाराना रुगंटाले दिनको करिब दुई सय जनाको ४० हजार खर्च गरिरहेको छ, अहिले अवस्था ठीक छ।’

उनले भवानी अस्पतालका स्वास्थ्यकर्मीहरुको सहयोगमा एक–एक दिन बिराएर सबैजनाको स्वास्थ्य परीक्षण र ज्वरो नाप्ने काम भइरहेको उल्लेख गर्दै विभिन्न सङ्घसंस्थाबाट प्राप्त झुलको व्यवस्था मिलाइएको जानकारी दिए।

यता भारतीय महावाणिज्य दूतावासका मिडिया संयोजक वाणिज्यदूत सुरेश कुमारले वीरगंजमा क्वारेन्टाइनमा रहेका भारतीयहरुको सबै कुराको व्यवस्थापन चुस्त दुरुस्त रहेको बताउँदै परिवारजनलाइ नआत्तिन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell