PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मध्यरातमा भारतीय प्रहरीद्वारा कुटिए सीमापारि क्वारेन्टाइनमा बसेका नेपाली, भेडाबाख्रा खाँदेजस्तै एउटै कोठामा ३० जनासम्म



कमलराज भट्ट

मध्यरातमा भारतीय प्रहरीद्वारा कुटिए सीमापारि क्वारेन्टाइनमा बसेका नेपाली, भेडाबाख्रा खाँदेजस्तै एउटै कोठामा ३० जनासम्म

काठमाडौँ: नेपाल प्रवेशका लागि सीमापारि क्वारेन्टाइनमा बसेका नेपाली नागरिकमाथि भारतीय प्रहरीले कुटपिट गरेको छ। शनिबार मध्यराति भारतीय प्रहरीले कुटपिट गरेको हो। लकडाउनले नेपाल-भारत सीमामा अलपत्र नेपालीलाई नेपाल सरकारले प्रवेश अनुमति नदिएपछि भारतमा क्वारेन्टाइनमा बस्न बाध्य छन्।

पिथौरागढको बालुवाकोटस्थित राजकीय इन्टर कलेजमा क्वारेन्टाइनमा बसिरहेका ३७० जनामध्ये एक जना शनिबार भागेर नेपाल आएपछि आफूहरु भारतीय प्रहरीबाट कुटिएको बैतडी पुर्चुडीका उत्तमराज धामीले टेलिफोनमा पहिलोपोस्टलाई बताए। 'एक जना डडेल्धुराको साथी हिजो दिउँसो महाकाली नदीमा पौडी खेलेर गएपछि तिमीहरु भाग्ने हैन भनेर पुलिसले कुट्यो। हामीमाथि क्वारेन्टाइनमा अमानवीय व्यवहार भयो,' बालुवाकोटबाट उनले दुखेसो पोखे।

उनका अनुसार भारतमा अलपत्र परेर सबैतिर क्वारेन्टाइनमा बसेका नेपाली संख्या १५ सयको हाराहारीमा छन्।

एक सातादेखि त्यहाँ बसिरहेका उनीहरुले दुई छाक भोजन पाए पनि राम्रोसँग सुत्न पाएका छैनन्। तीन दिन महाकाली नदी किनारामा देश फर्किन पाउने आशामा भोकै बसेका उनीहरुलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राख्ने भनेर लग्यो। तर, अहिले एउटै कोठामा १५ देखि ३० जनासम्म खाँदिएर राखिएको अवस्था छ। क्वारेन्टाइनमा संक्रमण फैलिन नदिन हरेकलाई अलग-अलग राख्नुपर्ने भए पनि एकै ठाउँमा राख्दा संक्रमणको खतरा अझै बढेको छ। भारतले क्वारेन्टाइन भन्दा पनि शरण दिएजस्तो गरी नेपाली नागरिकलाई राखेको छ।

'हामीलाई ओढ्ने ओछ्याउने केही छैन। भेडाबाख्रा जस्तो खाँदेर राखेको छ। गोठमा, खोरमा बाख्रा जति अटाउँछ त्यसैगरि हामीलाई राखेको छ। यहाँ जेलभन्दा पनि गएगुज्रेको अवस्था छ,' धामीले क्वारेन्टाइनमा राखिएका नेपालीको पीडा सुनाए।

खाना दिए पनि बासको उचित व्यवस्था हुन सकेको छैन। नेपाली स्थानीय प्रशासन र सिंहदरबार भने भारतीय पक्षसँग समन्वय गरेर उतै राख्ने प्रबन्ध मिलाएको सगौरव सुनाउँछ। तर, उनीहरुले पाएको दु:ख र यातनाबारे बेखबर छ।

जिल्ला प्रशासन कार्यालय दार्चुला माथिको आदेश नहुँदा सीमा खोल्न नमिलेको र नेपालीलाई उतै खानबस्न हुनेगरि क्वारेन्टाइनको व्यवस्था मिलाएको रेडिमेड जवाफ दिन्छ। यसबाहेक ऊसँग अरु जवाफ छैन। नेपालीको अवस्था के छ थाहा छैन।

'बरु दार्चुलाको रोडमा भए पनि सुताइदिनुपर्‍यो। हामी सहन तयार छौँ। क्वारेन्टाइनमा जहाँ राखे पनि बस्छौँ। आफ्नो देशको जस्तो हिफाजत अरु देशले कसरी गर्ला र?' धामीले याचना गरे, 'भोकै एक महिना पनि बाँच्ने थियौँ नेपाल पुर्‍यायो भने। यहाँ बुढादेखि बालबच्चासम्म छन्। अझै पनि हाम्रो उद्धार गरिदिनुपर्‍यो।'

सय जनाले नदी तरेरै सीमापार गरे

दार्चुलाका स्थानीय पत्रकार भोजराज जोशीका अनुसार हालसम्म महाकाली नदीमा ज्यान जोखिममा हालेर सीमापार गर्ने नेपालीको संख्या सयको हाराहारीमा पुगेको छ।

'सुरक्षाकर्मी नभएको क्षेत्रमा महाकाली तरेर लुकिछिपी सयभन्दा बढी नेपाली वारि आइसकेका छन्,' जोशीले टेलिफोनमा पहिलोपोस्टसँग भने, 'पछिल्लो समय कडाई गर्ने भनिएको छ। तर, आजसम्म सुरक्षाकर्मी गएको छैन।'

उनका अनुसार व्यास गाउँपालिकाको दुम्लिङ र धौलाकोट तथा तल्लो महाकाली बेल्टमा मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा सशस्त्र प्रहरीको टोली पठाउने तयारी छ। सशस्त्र प्रहरी बलको सुदूरपश्चिम मुख्यालय वैद्यनाथ बाहिनी अत्तरियाबाट थप जनशक्ति माग गरिएको छ। सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गर्न लागेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म दार्चुलाले जनाएको छ।

पत्रकार जोशीले विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोनाको कुनै संक्रमण नदेखिएको जानकारी भारतीय पक्षले दिएको बताए।

'एक हजार ६ जनाको स्वास्थ्य परीक्षण गर्दा सबै स्वस्थ छन्। बसाइमा कठिनाई छ। ३/३ सय जना गरेर विभिन्न क्वारेन्टाइनमा राखिएको छ,' उनले भने, '१४ दिन राख्ने भने पनि लकडाउन खुल्दासम्म जान्छ।

आफूले पारि रहेका नेपालीसँग कुरा गर्दा धेरैको चाहना आफ्नै देश जान पाए हुन्थ्यो भन्ने रहेको र अहिले सुपमा विशु पर्व चलिरहेकाले पनि घर फर्किन खोजिरहेको उनले बताए।

'धेरैले मर्नै परे पनि आफ्नै घरमा मर्छौँ भन्दै आक्रोश पोखिरहेका छन्। तर, हाम्रो प्रशासन सीमा खोल्ने पक्षमा छैन,' उनले सुनाए।

जिल्ला प्रशासन कार्यालयले भने लकडाउनमा जो जहाँ छ त्यहीँ बस्नुपर्ने जनाएको छ। 'हामीले ल्याउन प्रयास गरेको हो। तर, माथिबाट आदेश नै पाएनौँ,' दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने, 'क्वारेन्टाइन सकिएपछि ल्याउँछौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell