बनेपा : काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना संक्रमणको शंकास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ। परीक्षणका लागि विदेशबाट आएका र केही शंकास्पद व्यक्तिहरु गरी पहिलो पटक ११ जनाको स्वाब लिइएको धुलिखेल अस्पतालले जनाएको छ।
विदेशबाट फर्किएका र केही शंकास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालले जनाएको छ। सरकारले ‘टेस्ट किट’ उपलब्ध गराएपछि आजदेखि परीक्षणका लागि स्वाब लिएको अस्पतालका चिकित्सक निराजन भुसालले जानकारी दिए।
‘धुलिखेल अस्पतालमा नै अब रियल टाइम पिसिआर मेसिन उपलब्ध भएको कारण टेकुमा हुने सुविधा अब यही अस्पतालबाट शुरु भएको छ,’ चिकित्सक भुसालले भने।
उनका अनुसार करिब ९० वटा नमुना एकैपटक परीक्षण गर्न सकिने सो मेसिनबाट चारदेखि पाँच घण्टामा परिणाम थाहा हुनेछ। अस्पतालका चिकित्सक राजेन्द्र कोजुले प्राप्त सामग्री पर्याप्त नभएका कारण हप्ताको दुईपटक आइतवार र बुधवार मात्रै हुने बताए।
अस्पतालले थोरै सामग्रीका बाबजुद पनि परीक्षण शुरु गरेको डा राजेन्द्र कोजुले जानकारी दिए। अस्पतालमा परीक्षणका लागि आवश्यक व्यवस्थापनसहित आइसोलेसन वार्ड तयारी गरी बिरामीको उपचार भइरहेको डा कोजुले बताए। अस्पतालले सीमित साधन र स्रोतका बाबजुद पहिलो दिन ११ जनाको परीक्षणका लागि नमुना संकलन गरिसकेको र अब पछि बुधवार मात्रै परीक्षण गर्ने जानकारी गराएको छ।