PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एम्बुलेन्स चालकले नमानेपछि जिसस प्रमुख कृष्णगोपाल आफैँ गाडी चलाएर पुगे बिरामी लिन, पुर्‍याए आइसोलेसन वार्डमा



कुञ्जरमणि भट्टराई

एम्बुलेन्स चालकले नमानेपछि जिसस प्रमुख कृष्णगोपाल आफैँ गाडी चलाएर पुगे बिरामी लिन, पुर्‍याए आइसोलेसन वार्डमा
फोटोहरु : facebook.com/dinesh.thapa

काठमाडौं  : सिन्धुपाल्चोकमा ओमनबाट फर्किएकी एक महिलालाई कोरोनासँग मिल्दो लक्षण देखिएपछि जिल्ला अस्पताल चौताराको आइसोलेसन वार्डमा राखिएको छ।

थुम्पाखरकी ती ४० वर्षिया महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै तत्कालै आइसोलेसनमा राख्न सिन्धु सदाबहार अस्पतालका डाक्टर राजकुमार दंगालले रिफर गरेका थिए। ज्वरो र रुघाखोकी लागेपछि ती महिला बिहान खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचारका लागि पुगेकी थिइन्।

तर एम्बुलेन्स चालकले विभिन्न बाहना बनाउँदै अस्पताल लैजान नमानेपछि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले आफ्नै गाडीमा राखेर चौतारा अस्पताल पुर्‍याएका हुन्।

फागुन ३० गते ओमनबाट काठमाडौं हुँदै आएकी ती महिलामा रुघाखोकी र ज्वरो आएपछि उनी आइतवार बिहान जिल्लाको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुगेकी थिइन्।

सदावहारमा आइसोलेसन वार्ड नभएकाले जिल्ला स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईसँग सम्पर्क गरी उनलाई सदरमुकाम चौतारा पठाउने तयारी भए पनि एम्बुलेन्स चालक तयार भएनन्। ती महिला बिहान एम्बुलेन्समै अस्पताल आइपुगेकी थिइन्।

आइसोलेसनमा राख्नुपर्ने भन्ने खबर सुनेपछि एम्बुलेन्स चालक सम्पर्क बिहिन भए।

"स्वास्थ्यप्रमुखसँग कुरा गर्दा चौतारा पठाउने कुरा भयो। एम्बुलेन्स चालकहरुले विभिन्न बाहना गरे। लानै मानेनन्,' डाक्टर दंगालले भने।

जिसस प्रमुख कृष्णगोपाल तामाङ।

पीपीए सुरक्षा र आल्मुनियम पार्टेसन सहितको एम्बुलेन्सले समेत बिरामी लान नमानेपछि खैलाबैला सुरु भएको दंगालले बताए।

त्यसपछि जनस्वास्थ्य प्रमुख चापागाईंले एम्बुलेन्सहरुले बिरामी ल्याउन अस्वीकार गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख तामाङलाई सम्पर्क गरे। तामाङले पनि एम्बुलेन्सले नटेर्ने अवस्थादेखेपछि आफै गाडी दौडाएर पुगे अस्पताल।

"जनस्वास्थ्य प्रमुखले अवस्थाबारे जानकारी दिँदै फोन गर्नु भयो। जिल्लामा एम्बुलेन्स थिए। स्ट्यान्ड बाइ राख्ने कुरा पनि भएको थियो। मैले पनि सम्पर्क गर्दा फोन नउठाउने, बाहना गरे। मेरो गाडीको चालक पनि थिएनन्। त्यसपछि आफै ड्राइभ गरेर अस्पताल पुगें,' उनले भने। उनीसँगै जिल्ला जनस्वास्थ्य प्रमुख चापागाई पनि पुगेका थिए सिन्धु सदबहार।

कसरी ल्याइयो त बिरामी ? "मेरो गाडीको पछाडि ढाला थियो। उहालाई पछाडि राख्यौं। हामी सिसा लगाएर भित्र बस्यौ।"

एम्बुलेन्सबाट केही उपाय नलाग्ने देखिएपछि बेलुकी ६ बजे चौताराबाट खाडीचौरमा रहेको सिन्धु सदाबहारका लागि निस्किएका थिए जिसस प्रमुख तामाङ।

ती महिलालाई चौतारा अस्पतालको आइसोलेसनमा राखेर आफू भर्खरै निस्किएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell