PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पहुँच भएकाले अनावश्यक रुपमा सामग्री भण्डार गर्दा गरिब मजदुरले सास्ती पाए : उषा नेपाल



फूलमाया पुरी

पहुँच भएकाले अनावश्यक रुपमा सामग्री भण्डार गर्दा गरिब मजदुरले सास्ती पाए : उषा नेपाल

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) अहिले विश्वभर तीव्रगतीमा फैलिरहेको छ। संक्रमणबाट बच्ने चुनौतीसँगै भोक र स्वास्थ्य सुरक्षाको चुनौती पनि बढीरहेको छ। यी समस्या विश्वभरका अधिकांश देशको नै हो।

हालसम्म नेपालमा ९ जनामा कोरोना भाइरको संक्रमण देखिएको छ जसमध्ये एक जना उपचार पछि संक्रमण मुक्त भइसकेका छन्।

थप संक्रमण फैलनबाट बचाउनकै लागि देशभर अहिले लकडाउन गरिएको छ। यसलाई सफल पार्न दिनरात नभनी ज्यानको बाजी लगाएर खटीरहेका छन् सुरक्षकर्मीहरु।

जनताको सुरक्षाका लागि तैनाथ उनीहरु चाँही कति सुरक्षीत होलान् त? त्यसको अनुमान जोकोहीले गर्न सक्लान्। तर पनि खटिनु त छ नै।

हामीले देखि रहेकै छौ अघि पाउरोटी र चाउचाउ खाएर सडकमा ड्युटी गर्दैछन् प्रहरीहरु। अनि केही सहयोगी हातहरु जसले उनीहरुलाई खाजा पानी बाँडे।

प्राकृतिक होस् या मानव निर्मित प्रकोप, प्रहरी सधै जनताको सुरक्षाको लागि अग्र स्थानमा रहन्छन्। त्यसैले विषम परिस्थितिले कसैको पनि मनस्थित कमजोर हुनसकने अवस्था रहेकोले विपदको बेलामा सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकार र सरोकारवाला निकायले सक्दो प्रयास गर्नुपर्ने बताउँछिन् उषा नेपाल।

नेपालकी पहिलो महिला सिडिओ नेपाल सुरक्षाकर्मीको विपद्को बेलामा सुरक्षाकर्मीको मनस्थिति बारे प्रष्टाउँछिन्, ‘सुरक्षाकर्मी पनि मान्छे हो उसका पनि बालबच्चा परिवार हुन्छन् जति नै सोच्दिन भनेता पनि मनै त हो ध्यान खिचिहाल्छ नी।’

त्यसो  त जिल्लाकै सुरक्षाका लागि निर्देशन र व्यवस्थापनमा व्यस्त हुन्छन् जिल्ला प्रमुख अधिकारीहरु पनि। आफ्नो कार्यकाल सम्झँदै नेपाल भन्छिन् ‘हाम्रो पालामा त अझ कठिन थियो यातायात टेलिफोन र इन्टरनेट लगायतका सुविधा थिएन। तर अहिले सुविधासँगै थप चुनौती पनि उत्तिकै छ।

उनका अनुसार कोरोना भाइरस फैलिनबाट रोक्न सरकारले लकडाउन गरेको छ। तर यस बीचमा बाँडिएको पास र राहतमा पहुँचवालाकै हालीमुहाली रहेको छ। अनावश्यक पास वितरण गर्न सुरक्षाकर्मीलाई पनि गाह्रो भएको छ। अत्यावश्यक कामका लागि मात्रै दिइने पास र गरीब मजदुरका लागि भनिएको राहत पनि बढीमात्रामा पहुँचवालाले नै पाउने उनको दावी छ।

‘भूकम्पको बेलामा चाहिने र बढी नचाहिने दुवैले राहत लिए। पहुँचको दुरुपयोग गरे, यस्तो आपतको बेला पनि पहुँचवालाले अनावश्यक सामग्रीको भण्डार गर्दा गरिब मजदुरले सास्ती पाए’ उनी भन्छिन्।

पहुँचमा रहेका व्यक्तिहरुको गरिब मनोवृत्तिले देश कहिल्यै माथी उठ्न नसक्ने भन्दै उनी भन्छिन्, ‘हाम्रो पालामा कुपोषणबाट बचाउनका लागि गरिब बालबालिकालाई यूनिसेफले दिएको पोषणयुक्त खाना पहुँचवालाले आफ्ना कुखुरालाई चारो बनाएको देखियो। अहिलेको विपदमा कसैले त्यस्तो गरेको सुन्न नपरोस्’।

जीवनको लामो समय प्रशासन क्षेत्रमै काम गरेर अवकासप्राप्त जीवन बिताइरहेकी उषा सरकारप्रति जनताले गर्ने विश्वासमा कमी आएको बताउँछिन्।

हरेक आपतका बेला सरकारले गर्ने काम कारबाहीका तौर तरिकाले गर्दा जनताले विश्वास गर्न नसकेको पनि उनले बताइन्।

भन्छिन् ‘नियम गर्नु पर्ने पाटो छ, तर समयमै निर्णय गर्न के ले रोक्छ?

नेपालका अनुसार कोरोना भाइरस कोभिड १९ को समयमै विश्वसनीय ढंगबाट स्वास्थ्य परीक्षण गर्न सकिरहेको छैन। दुर्गममा आवश्यक सामाग्रीको अभाव छ। जसले गर्दा स्वास्थ्यस्थिति नाजुक देखिन्छ। त्यसैले ढिलै भएपनि अझै सरकारले स्वास्थ्य क्षेत्रलाई दृढ र विश्वासिलो बनाउन लाग्नुपर्ने उनको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell