PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेपालबाट सिंगापुर फर्किँदाको त्यो तनाव र सकिन लागेको स्व-एकान्तवास



पहिलोपोस्ट

नेपालबाट सिंगापुर फर्किँदाको त्यो तनाव र सकिन लागेको स्व-एकान्तवास

  • इन्द्र गुरुङ -

दिउँसो साढे एक जति बजेको हुँदो हो।हामी चढेको बोलेरो जीप खनियाँखर्क पुगेर रोकियो। चैत मासको टन्टलापुर घाम लागेको भए पनि निरन्तर चलेको सिरेटोले महाभारत श्रृङ्खलाको यो बजार निक्कै चिसो। विपी राजमार्गसंचालन भएयता 'हाइवे स्टप ओभर प्वाइन्ट' का रुपमा चल्तीको छ यो ठाउँ। मध्य पहाडी गाँउहरुमा उत्पादित जुनार, सुन्तला, साग-सब्जी, अन्नबालीको बिक्री थलोका रुपमा पनि सिन्धुलिको यो ठाउँ।

चिया नास्ता गर्ने र सामन लोड गर्ने भन्दै ड्राइभर भाइ ओर्लिएपछि हामी पनि सँगै ओर्लियौं। घरमै खाना खाइवरी हिँडेकाले नास्ता भन्दा नि तातो चिया पिउने सुरमा म र सँगै यात्रा गरिरहनु भएका मावली कान्छा हजुरबा रोड नजिकैको एउ्टा सानो होटलतिर लाग्यौं।

चिया पाइन्छ?

‘दिउँसो ‘सिया’ खाने टाइममा नि के को चिया खोजेको हो?’ अर्धबैसे महिला (साहुनी हुनुपर्छ) ले जवाफ फर्काइन्, ‘दूध चिया त छैन।कालो खाने भए बनाइदिन्छु।‘

‘त्यो पनि हुन्छ’भन्दै हामी प्लास्टिकको कुर्सी तानेर बाहिरै बस्यौं।

यसो बसेकामात्र के थियौं, धुलो सहितको हावाको एक ठूलो झोकाले हान्दा एकैछिन त तिर्मिरायौं।

‘यो चैत मासको मौसम यस्तै हो नाति। अनि त्यसमाथि यो ख़नियाँ खर्कको डाँडो। हावा हुन्डरी र धुलोको लागि भन्नै पर्दैन,’ हजुरबा सुनाउँदै हुनुहुन्थ्यो।

त्यतिखेरै मेरो मोबाइलमा इमेलको नोटिफिकेसन टोन बज्यो।

हेरेँ- मलेसियन एअरलाइन्सको काठमाडौं - क़्वालालम्पुर उडान रद्ध भएको अर्जेन्ट जानकारी रहेछ। एकछिन अल्मल्ल परेँ। अनि अवाक पनि।

इमेल फेरि दोहोर्‍याएर पढेँ। नेपालको नयाँ यात्रा निर्देशिकाका कारण उडान रद्द गरिएको रहेछ।

चीनको वुहानबाट सुरु भएको नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण संसारभर तीब्र रुपमा फैलिन थालेको थियो। संक्रमण रोक्न संसारभर विभिन्न देशहरुले यात्रा प्रतिवन्धहरु लगाउन सुरु गरिसकेका थिए। नेपाल पनि अब थपिँदै थियो।

साहुनीले भित्रबाट ‘लु चिया पाक्यो’ भन्दा पो झस्किएँ।

चिया पिइ नसक्दै ड्राइभर भाइबाट बोलावट भयो, 'अब जानुपर्छ दाइ, बाटो अलिक अप्ठेरो छ।'

त्यसपछिको हाम्रो यात्रा महाभारत पहाडको उपल्लो भू-भागतिर मोडियो। पहाडको यात्रा - कच्ची सडक अनि मान्छे र सामानको कोचाकोच लोड। साँघुरा घुम्ती र खोल्साखोल्सी हुँदै हामी अघि बढ्यौं।

बाटोमै एयरलाइन्सको काठमाडौं अफिसमा फ़ोन सम्पर्क गर्दै जान्छु भन्ने मेरो सोचले फेल खायो। एक त कच्ची सडकको यात्रा, त्यसमाथि गाडीमा कोचाकोच। फोन गर्न गाह्रो। अनि अर्को चाहिँ दसौंपटक प्रयास गर्दा पनि एयरलाइन्स अफिसको फोन नउठ्ने।

यस्तो सारो गारो पर्दा त झन् ग्राहकको सेवामा विशेष ध्यान दिनु पर्ने होइन?

फोन नै नउठाएर सास्ती दिन नि सक्ने हो त? फोन नउठेको तनावमै २ घन्टा बढीको यात्रा कटेको पत्तो भएन। करिब ४ बजेतिर मावली गाँउ रानीखोला पुगियो।

महाभारत पहाडको काखमा रहेको सानो सुन्दर गाँउ, अलिक लेक नै पर्छ ठाउँ। चैतको महिना भए नि गाडिँदो चिसो। एक चरण, छ्यामा (सानी-आमा), काका र अन्य आफन्तसँग आदरसत्कार गरिसकेपछि फेरि फोन लगाउने क्रम सुरु गरेँ।

'अलिक परको ढिस्को नजिकबाट एनटिसीको टावर राम्रो टिप्छ, त्यहीँ जा नानी,' छ्यामाको सुझाव आयो।

घर नजिकको ढिस्कोमा बसेर फोन गर्न थालेँ। यस पटक एयरलाइन्स अफिसमा नभइ काठमाडौं घर बिदामा आउनुभएका विजय दाइलाई कल गरेँ। उहाँ सिंगापुरमा टेलिकम इन्जिनियर।

‘वान अफ द मोस्ट स्ट्रेसफूल टाइम इन नेपाल, इन्द्रजी,’विजय दाइको यति जवाफ नै काफ़ी थियो। एयरलाइन्स अफिसमा सय़ौं चोटी फोन गर्दा नि नउठेको आक्रोश पोख्दै हुनुहुन्थ्यो उहाँ।

‘अबको बेस्ट अप्सन सिल्क एयरमा डाइरेक्ट फ्लाइट नै हुन्छ,’विजय दाइले सुझाउनु भयो।

त्यसै अनुसार, तत्काल सिल्क एयरको टिकट अनलाइन चेक गरेँ। र, एकतर्फी टिकट मार्च २७ कालागिबुक गरेँ। जेहोस्, यो अनलाइन कारोबारमा नेपाल टेलिकमको 'फ़ोर जी'ले राम्रै साथ दियो- बिना झन्झट'ट्रान्ज्याक्सन' पूरा भयो।

साँझ खानपिनपछि अनलाइनतिर समाचार चहार्न थालेँ। कोरोना संक्रमणको रफ्तारले पूरै विश्वमा त्रासदी बनाउँदै लगिसकेकको छ। विश्व स्वास्थ्य संगठनले नि कोरोना संक्रमणको जोखिम अति 'उच्च विन्दु'मा पुगेको भन्ने रिपोर्टले मनमा कताकता चिसो पस्यो। मावली गाँउमा अरु थप बस्ने चाहनालाई थाँती राख्दै, भोलिपल्ट बिहानै घर फर्किने निधो गर्दै सुतेँ।

घर फर्केर त्यस दिन त्यसै बित्यो। बेलुकी सुत्नेबेलामा दिल्लीस्थित सिंगापुर हाइ कमिसन (राजदूतावास) बाट नयाँ ट्राभल एड्भाइजरीको एसएमएस पाएँ- ‘नेपाल सरकारले मार्च २२ दखि सबै अन्तर्राष्ट्रिय उडानहरू निलम्बित गर्नसक्ने र लकडाउन सुरु हुनुभन्दा अघि नै यात्रा व्यवस्था गर्न भनिएको थियो त्यसमा। यसले त झनै तनाव। राती फोन गरेर सोधुँ नि कसलाई र कहाँ?

बिहान उठेदेखि चिनेजानेका साथीभाइ, ठूलाबडासँग लकडाउनबारे जानकारी लिने कोसिस गरेँ। प्राय: सरकारी निर्णय र तयारीबारे अनभिज्ञ।ठूलो संक्रमण, विपत् र संकटको बेला सही सूचना जनतामा यथासक्य चाँडो प्रवाह गर्ने गरिन्छ। त्यसका लागि राज्यले प्रभावकारी र कुशल एकद्वार प्रणालीको व्यवस्था गर्नुपर्ने। कागले कान लग्यो भन्दा, कान समाउनुको साटो, कागको पछि दौडिनु पर्ने अवस्था नआउनुपर्ने। धन्न, नेपालमा कोरोनाको संक्रमणले उतिसारो असर गरिसकेको थिएन। सायद, पशुपतिनाथकै कृपाले होला।

विहान ९ बजेपछि सिल्क एयर अफिसमा फोन गर्न थालेँ। त्यहाँको पनि हालत मलेसियन एयरलाइन्सकै थियो।फोन कहिल्यै नउठ्ने। केही सीप नलागेपछि सिधै सिंगापुर सम्पर्क गरी बुझेँ। कुरो पक्का भयो-सिल्क एयरको अन्तिम उडान मार्च २२ मा छ। उडान पुनः संचालनबारे अहिले नै यसै भन्न नसकिने पनि थाहा लाग्यो। र, मार्च २१ र २२ को दुवै फ्लाइट फूल (ओभर बुकिङ) रहेकाले सीट कन्फर्म गर्न नसकिने भनियो।

‘प्रतीक्षाको सूचीमा नाम राखिदिन्छौं, उडान हुनु ४-५ घन्टा अगावै एयरपोर्टमै गएर ट्राइ गर्नु,’ भनियो।

काठमाडौं पुगेर हतारहतार केही किनमेल गरेर, लगेज प्याक गरीसिधै एयरपोर्ट हान्निएँ। एयरपोर्टमा खासै चहलपहल थिएन। चेक गरेर सरासर सिल्क एयरको काउन्टर गएँ, काउन्टर खुलेकै रहेनछ। त्यहाँ अघि नै २०/२२ जना लाइनमा बसिसकेका थिए।

सबैको अनुहार मलिन, चिन्ता भरिएको र हतास। सायद् सबैलाई आफ्नो गन्तब्य सुरक्षित पुग्न हतारथियो।

करिब २ घन्टापछि मेरो चेकइनको पालो आयो। सदा झैं पासपोर्ट र पीआर कार्ड दिएँ।काउन्टरकी कर्मचारीले २/३ पल्ट चेकइन गर्न कोसिस गरिन्।सफल भइनन्। आजित हुँदै ‘तपाईँको टिकट नै छैन, तपाईँ जान पाउनुहुन्न,’ भनिन्।

‘मेरो प्रतीक्षा सूचीमा नाम छ, मिलाइदिनुस् न।’

'फ्लाइट फूल छ। तपाईँजस्तो वेटिङलिस्टमा अरु पनि छन्। पर्खनुस्, सिट खाली भएमिलाएर पठाउँछौं।'

पासपोर्ट नैफिर्ता गरिन् उनले। केही नलगेपछि थालेँ स्टेसन म्यानेजर खोज्न। एक कर्मचारीले स्टेसन म्यानेजर नै नभएको जानकारी दिइन्।

उनलाई फेरि मेरो बेलिबिस्तार लगाएँ। अनि सिस्टम चेक गरिन्।बुकिङ डिटेल्स मागिन्। आखिर सिट जति पनि रहेछ।चेकइन गरिन् र बोर्डिङ पास थमाइन्।

अब उड्ने पक्का भएपछिमन हलुङ्गो भयो। रात ९:३० को उडान पनि समयमै भयो।र, सिंगापुर अवतरण पनि निर्धारित समयभन्दा अगाडि नै।

बिहानको पौने ५ बजेको हुँदो हो।जहाजबाट ओर्लिने बित्तिकै २/२ पटक थर्मल स्क्यानरबाट तापक्रम जाँच गरी अध्यागमन तर्फ लम्कियौं। सधैं व्यस्त रहने सिंगापुरको चांगी एयरपोर्ट सुनसान थियो।प्राय: २४ सै घन्टा खुल्ला हुने 'ड्युटी फ्री' पसलहरु अधिकांश बन्द। दैनिक १ हजार १ सयफ्लाइट र १ लाख ८० हजार यात्रु आवतजावत गर्ने चांगी एयरपोर्टमा यस्तो सुनसान देखेको थिइन्, कम्तिमा पनि पछिल्लो १२ वर्षमा।

अध्यागमन पार गर्नुअघि नै घरको ठेगाना, मोबाइल नम्बर रुजु गरे। आफ्नै घरमा १४ दिन अनिवार्य स्व-एकान्तवास बस्नु पर्ने भन्दै सम्झाउँदै थिए हरेक यात्रीलाई। अनि त्यसमा मन्जुर छु भनेको फर्ममा हस्ताक्षर गराइरहेका थिए। कोरोना संक्रमणको अति प्रभावित मुलुकहरुबाट फर्किएका भने सरकारले तोकेको क्वारेन्टाइनमा अनिवार्य १४ दिन र अन्यको हकमा भने आफ्नै घरमा स्व-एकान्तवास बस्नुपर्ने नियम कडाइका साथ लागू गरिएको रहेछ।

त्यसो त सिङ्गापुरमा कोरोनाको पहिले संक्रमण २३ जनवरीमा देखिएको हो। त्यही बेलादेखि सावधानीका विभिन्न उपायहरु लागू गरिँदै आएको छ। यो लेखिरहँदा स्व-एकान्तवासको पनि १२ औं दिन ब्यतित् गरिसकेको छु। संक्रमणले विश्वव्यापी महामारी नै लिइसकेको छ। सिङ्गापुरमै पनि संक्रमणको ग्राफ २ हप्तामै दोब्बरले बढेर १ हजार २ सय पुग्न लागेको छ। ६ जनाले ज्यान गुमाइसकेका छन्। करिब ३ सयजना पूर्ण निको भएर घर फर्किसकेका छन्।

तथापि, सिङ्गापुर जस्तो उच्च जनघनत्व भएको देशमा कोरोनाको संक्रमण नियन्त्रण गर्न 'लकडाउन' गरिएको छैन। अप्रिल ७ बाट मे ४ सम्म स्कूल, कलेजहरु पूर्णतः इ-लर्निङ विधिबाट संचालन गरिने, अति-आवश्यक सेवा बाहेकका काम घरमै बसी गर्न नयाँ नियम 'सर्किट ब्रेकर' लागू गरिँदैछ। भलै,त्यति ब्यस्त नभए पनि सुपर मार्केटदेखि बजार, यातायात सबै यथावत चल्न दिइनेछ।

संसारकै राम्रो स्वास्थ्य सेवा भएको ठाउँ भए पनि संक्रमण नियन्त्रण र रोकथामका नियमहरु अक्षरस् पालना गरिनु जरुरी छ। भिडभाडयुक्त गतिविधिमा पूर्ण प्रतिबन्ध छ। हरेक क्षेत्रमा सामाजिक दुरी अनिवार्य छ। जुनसुकै किसिमको अस्वस्थता छ भने आराम गर्नैपर्ने नियम पनि। नियम उल्ङ्घन गरेमा जेल र जरिवाना। खासगरी सरसफाई, स्वास्थ्य खानपान तथा जीवनशैली, सरकारी संयन्त्रको तदारुकता, स्वास्थ्य सेवामा सक्षमता र जनताले पनि नियमहरु पालना गर्ने हुँदा यहाँको स्थिति नियन्त्रणमै छ।

सिङ्गापुरले सन् २००३ को सार्सबाट पाठ सिकेकाले भविष्यमा आइलाग्ने जस्तोसुकै महामारीको राम्रो तयारी गरेकोले हुनसक्छ, यसपाला कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर जान दिएको छैन। स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र आपतकाल व्यवस्थापनका लागि वर्षौंदेखिको योजनावद्ध लगानी र तयारीको पनि उत्तिकै ठूलो भूमिका छ यसमा। चुस्त प्रशासन, पारदर्शी राज्य संयन्त्र, दूरदर्शी नेतृत्व र सहयोगी जनताकै साथमा एउटा सानो टापुको देशले विश्वलाई नमूनाका रुपमा प्रस्तुत गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell