
काठमाडौं : अहिलेको सत्ताधारी दलका कार्यकर्ताले उछितो काड्नेमध्येको एक नाम हो प्राध्यापक डाक्टर गोविन्द केसी। स्वास्थ्य क्षेत्र र मेडिलक माफियाविरुद्ध लगातार अनशन बसेपछि सत्तारुढ दलका केही नेता डाक्टर केसीविरुद्ध सधैं उत्रिँदै आएका छन्। बेलाबेलामा राजनीतिक अभिव्यक्ति दिएर डाक्टर केसी आफैँ पनि ट्र्यापमा पर्ने गर्छन्। त्यसैले उनीमाथि नेतामात्र होइन सत्तारुढ दलका कार्यकर्ता पनि आक्रामक हिसाबले प्रस्तुत हुन्छन्।
कोभिड-१९ को विश्वव्यापी प्रकोप भइरहँदा डाक्टर केसीको उछितो काड्नेहरुले अहिले गर्ने प्रश्न हो - यस्तो महामारीमा खोई कहाँ छन् डाक्टर गोविन्द केसी?
२०७२ सालमा भूकम्पले तहसनहस बनाएपछि जारी अनशन छोडेर उनी विभिन्न जिल्लातिर उपचारका लागि खटिएका थिए। उनको निस्वार्थ कामलाई सत्तारुढ दलका नेता र तिनका कार्यकर्ताले सधैं प्रोपागान्डा नै भन्दै आएका छन्। त्यसैले अहिलेको महामारीमा उनको नाम नसम्झिने त कुरै भएन। केसीका समर्थकहरु भने उनले उठाएको मुद्दा कति गहन थियो भन्ने बहसमा छन्। निजी क्षेत्रका अस्पतालहरु कोरोनाको संक्रमणसँग अग्रसर हुनुको साटो पछाडि भाग्न थालेपछि केसीले उठाएका मागहरु कति संवेदनशील रहेछन् भन्ने कुरा स्थापित भएको उनका पक्षमा रहेकाहरुको तर्क छ। त्यसैले गाली गर्नेदेखि ताली बजाउनेसम्मको चासोमा छन् डाक्टर केसी। आखिर उनी कहाँ छन् त?
त्रिवि शिक्षण अस्पतालमा कार्यरत केसीले गत अशोजमा अवकाश पाएपछि उनको खासै चर्चा थिएन। १४ दिनदेखि देश लकडाउन छ। अस्पतालमा उपचार नपाएको जनगुनासो बढ्दै गएको छ। सामान्य रुघाखोकी लागेको व्यक्तिसँग पनि डाक्टरहरु डराइरहेका छन्। त्यस्तो बेला केसी के गरिरहेका छन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो।
'म अहिले डडेल्धुरामा छु,' पहिलोपोस्टको प्रश्नमा डाक्टर केसीले भने।
डाक्टर केसी सुदूर पश्चिम प्रदेशको डडेल्धुरामा छन् दुई महिना यता। डडेल्धुराको कीर्तिपुर बजारमा कोठा भाडामा लिएर उनी आफ्नो धर्म पूरा गरिरहेका रहेछन्।
'केही समय भयो डेडेल्धुरा आएको। अस्पतालमा काम गरिरहेको छु,' उनले टेलिफोनमा भने। त्यहाँको सरकारी अस्पतालमा उनले सर्वसाधारणको उपचार गरिरहेका छन्, निशुल्क।