
बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। आइतवार उनी कोभिड-१९ को परीक्षणका लागि अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनाएको छ। समाचार संस्था एपीका अनुसार उनमा अझै कोभिड १९ का लक्षणहरु देखिएको छ। १० दिन अगाडिदेखि नै उनमा कोभिड-१९ को संक्रमण भएको हुनसक्ने बाहिर आएको थियो।
उनको कार्यालयले लण्डनको कुन अस्पतालमा भर्ना गरिएको भन्ने खुलाएको छैन। यद्पि, चिकित्सकहरुको सल्लाहपछि भर्ना गरिएको र अवस्थजा गम्भीर नरहेको जनाइएको छ।
प्रधानमन्त्री डाउनिङ स्ट्रीट अफिसले समाधानी अपनाएको र जोनसन अझै सरकारको नेतृत्व गरिरहने बताएका छन्।
५५ वर्षीय जोनसन डाउनिङ स्ट्रीटमा मार्च २६ मा कोभिड-१९ को संक्रमण देखिएपछि होम आइसोलेसनमा थिए। उनी कोभिड-१९ बाट संक्रमित हुने पहिलो सरकार प्रमुख हुन्। बोरिसले होम आइसोलेसनबाटै कार्यालयको दैनिक काम समाल्दै आएका थिए। उनले यसबीच अनेक भिडियो सन्देश जारी गरेका थिए।
शुक्रवारमात्र उनले जारी गरेको भिडियोमा - आफू ठिक हुँदै गएको र ज्वरो अझै रहेको बताएका थिए।
आइतवार उनलाई सन्तावना दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकीहरुले जोनसनको स्वास्थ्यका लागि प्रार्थना गरिरहेको बताएका थिए। जोनसनकी मङ्गेतर क्यारी साइमन्डले पनि शनिवारमात्र कोभिड-१९ को संक्रमण देखिएपछि आफू एक साता बेड रेस्ट गरेको बताएकी थिइन्। यद्यपि, उनको परीक्षण भने भएको छैन। उनी गर्भवती छन्। जोनसनलाई कोभिड-१९ को संक्रमण देखिएसँगै उनी डाउनिङ स्ट्रीटमा बसेकी छैनन्।
यता बेलायतकी महारानीले देशवासीका नाममा सम्बोधन गरेकी छन्। आइतवार राती उनले गरेको सम्बोधनमा बेलायतीहरुले गम्भीर आर्थिक समस्या झेलिरहेको भन्दै पुन: माथि उठ्ने बताएकी थिइन्।
उनको सम्बोधनको एक घण्टापछि डाउनिङ स्ट्रिटले प्रधानमन्त्री जोनसन अस्पतालमा भर्ना भएको घोषणा गरेको थियो।
लण्डन बाहिर रहेको विन्डसोर क्यासलबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले कोभिड-१९ विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सकहरु प्रति सम्मान व्यक्त गरिन्। सबैलाई घरमै बस्न आग्रह गरिन्।
आफ्नो दुर्लभ सम्बोधनका क्रममा महारानीले सन् १९४० मा आफ्नो पहिलो रेडियो सम्बोधनको स्मरण गरेकी थिइन्।
'यो समय विश्वका सबै देशहरु साझा प्रयासका लागि जुट्ने समय हो। हामी सफल हुने छौं। सफलता हामी सबैको हुने छ,' उनले भनेकी छिन्।