
काठमाडौं : सरकारले दोस्रो पटक थप गरेको लकडाउनको समय मंगलवार सकिँदैछ।
अब फेरि सरकारले समय थप गर्छ कि गर्दैन भन्ने धेरैको चासोको विषय बनेको छ। अहिलेसम्म देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सुदूरपश्चिममा भारतबाट आएका युवकमा समेत संक्रमण देखिएपछि अरुमा पनि सर्ने सम्भावनाको कारण सरकारले र्यापिड टेष्ट गर्ने घोषणा गरिसकेको छ।
लकडाउन खुल्ला भए संक्रमण सर्न सक्ने सम्भावना बढी भएकाले उच्चस्तरीय समन्वय समितिले एक साता समय थप गर्न छलफल अघि बढाएको छ। आइतवार बसेको समितिमा एक साताको लागि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो। 'कम्तिमा चैत मसान्त नत्र बैशाख ३ गतेसम्म लकडाउन बढाउनुपर्छ भन्ने सहमति भएको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्छौं,' समितिमा रहेका एक मन्त्रीले भने।
आज दिउँसो बोलाएको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय बढाउने भए कति बढाउने भन्ने बिषयमा निर्णय गर्ने छ। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ। श्रम मन्त्री रामेश्वर राय यादवले आज बस्ने बैठकमा लकडाउनको अवधिबारे छलफल हुने बताए।
सरकारले चैत १० गते पहिलो पटक सात दिनको लागि लकडाउन गरेको थियो। त्यसपछि पनि संक्रमित बिरामीको सङख्या थपिदै गएकाले लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो।
संक्रमितको सङख्या थपिदै जाँदा सरकारले शनिवार एक स्थानीय तह, जिल्ला र प्रदेशबाट अर्को जिल्लामा जान रोक लगाउने घोषणा गरेको छ।
गृहमन्त्रालयले लकडाउनको समय लम्बिने भएपछि सुरक्षा निकायलाई पनि सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिइसकेको छ।