PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

झलनाथ खनालको लकडाउन दैनिकी: समयको सदुपयोग गर्दै आत्म संस्मरण लेख्ने योजना



कुञ्जरमणि भट्टराई

झलनाथ खनालको लकडाउन दैनिकी: समयको सदुपयोग गर्दै आत्म संस्मरण लेख्ने योजना

काठमाडौँ : देश लकडाउनमा छ। कोरोना भाइरसको संक्रमणबाट बच्न दुई हप्तादेखि जनता घरभित्रै छन्। जनतासँगै नेताहरू पनि घरभित्रै सीमित भएका छन्। न कुनै राजनीतिक भेटघाट न त कुनै सार्वजनिक कार्यक्रम।

नेताहरूको दिनचर्या फेरिएको छ। व्यस्त रहने नेता फुर्सदमा छन्। त्यसैमा पर्छन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल।

काठमाडौँको डल्लुस्थित घरमा उनलाई बिहान र साँझ भेट्न कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति पातलो छ। एकाध बाहेक यसबीचमा खनाल निवासमा कोही पुगेका छैनन्। लकडाउनका बेला निवासमा नेता कार्यकर्ताको चहलपहल हुने कुरा पनि भएन।

कोराना भाइरसको संक्रमणका कारण महिना दिनयता पार्टीका कार्यक्रम स्थगित छन्। संसद् पनि बन्द छ। यस्तो अवस्थामा खनाल लकडाउनको पूर्ण पालना गर्दैछन् आफ्नै निवासमा। वर्क फ्रम होम भनेझैं उनी घरबाटै काम गरिरहेका छन्। फोन गरेर केहीले उनलाई लकडाउनमा भोग्नु परेको समस्या सुनाउँछन्। कहिले आफैं फोन गरेर लकडाउनको अवस्था बारेमा जानकारी लिन्छन्।

‘लकडाउनमा भोग्नु परेको समस्याबारे फोन आइरहन्छ। कतिपय उठाउन भ्याउँछु। सबै उठाउन सक्ने अवस्था पनि रहँदैन। अपडेटका लागि फोन आफू पनि गरिरहेको हुन्छु।’

यससँगै लकडाउनको समयलाई पूर्ण रूपमा सदुपयोग गर्ने पक्षमा छन् खनाल।

खनालको बिहानी सेड्युललाई लकडाउनले खासै असर पारेको छैन। शरीरलाई तन्दुरुस्त राख्न बिहान आधा घण्टा योगा गर्छन्।

खनाल भन्छन्, 'कहिले घुम्न निस्किन्थेँ। पहिला कहिलेकाहीँ बिहानै हिँड्नुपर्ने हुन्थ्यो। राति कतिखेर घर पुग्ने हो थाहा हुँदैनथ्यो। अहिले त्यस्तो छैन। बिहान ५ बजे उठ्छु। त्यसपछि म आधा घण्टा ध्यान गर्छु। दैनिक सेड्युल भएको छ।’

ध्यान सकेपछि पत्रपत्रिका पढ्ने बानी छ उनको। तर लकडाउनको कारण पत्रिका आउन छाडेको बताउँछन्। पाएसम्म पढ्छन्। नभए रेडियो, टिभी हेर्छन्। अनलाइनमा आएका आर्टिकलसँगै विश्वभर भएका घटना बारेमा अपडेट भइरहन्छन्।

दिउँसो फुर्सदिला बनेका नेता खनाल लेखापढीमा समय बिताउँछन्।

‘अहिले धेरै समयत लेख्ने पढ्न नै भइरहेको छ। म यतिबेला युवल हररीको ‘स्यापियन्स’ पढिरहेको छु।’ खनालले भने।

‘यस पुस्तकमा मानवको उत्पत्ति कसरी भयो? मानव सभ्यताको विकासक्रम के–कस्ता चरण पार हुँदै आए? वर्तमान अवस्थामा मानव विकास कहाँ आइपुग्यो? अब मानिसको भविष्य कता जाँदैछ? भन्ने लगायतका कुरा समेटिएको छ, ’ उनले पुस्तकबारे व्याख्या गर्दै भने।

यो त भयो पढ्ने कुरा। लकडाउनले उनलाई लेख्ने संयोग जुराइदिएको छ फेरि। समयको उपयोग गर्दै ‘योद्धाहरुको संस्मरण’ लेखिरहेको बताउँछन् उनी।

सरकारले एक हप्ताका लागि घोषणा गरेको लकडाउन थपिएर दुई साता पुगेको छ। कोरोना संक्रमण फैलिन सक्ने खतरा अझै रहेकोले लकडाउनको अवधि थप हुनसक्ने अवस्था छ।

लकडाउनको समय बढेको खण्डमा खनाल आत्म संस्मरण लेख्ने योजनामा छन्।

‘इलाम जिल्लाको कम्युनिस्ट आन्दोलनका संस्थापक योद्धाहरू ज्ञानीराम भट्टराई र अर्का कम्युनिस्ट नेता भक्तबहादुर देवानको संस्मरण लेखेर अन्तिम चरणमा पुगेको छ। समय मिले आत्म संस्मरण लेख्ने योजनामा पनि छु।’ उनले भने।

+++

घरमै बसिरहनुपर्दा व्यस्तता मिस हुँदैन? भन्ने प्रश्नमा हाँस्दै उनले भने ,’विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई नियन्त्रण गर्न लकडाउन बाहेकको विकल्प छैन। यसको पालना गर्दै म घरमा बसिरहेको छु। तपाईँहरू पनि बस्नुस्। व्यस्तता त व्यापक मिस हुन्छ नि।’

हाल चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको व्यापक चर्चापछि नेताहरु तुरुन्तै पार्टीको सचिवालय बैठक डाक्नुपर्ने पक्षमा छन्। नेता खनालले पनि तुरुन्त सचिवालय बैठक डाक्न पार्टीका अध्यक्षहरूसँग माग गरेको बताए।

‘खरिदमा के -के भएको छ। पार्टीलाई जानकारी छैन। यसबारे पार्टीमा छलफल हुनुपर्छ। प्रश्न उठेपछि सही कुरा जनतासमक्ष ल्याउनुपर्छ। त्यसैले तत्काल सचिवालय बैठक बोलाउन अध्यक्षहरूसँग माग गरेको छु। कहिले बोलाउनुहुन्छ थाहा छैन’ उनले भने।

हालसम्म नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने र असहायहरुलाई गुजारा चलाउन गाह्रो भएको बुझेका छन् खनालले।

भन्छन्, ‘विपद्को बेलामा सरकारले सीमामा अलपत्र परेका, दैनिक ज्यालादारी गर्ने, बुढाबुढी, सुत्केरी असहायलाई विशेष व्यवस्था गर्नुपर्छ। सरकारले राहत दिने काम सुरु गरेको त छ। तर अझै प्रयास गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell