
धनुषा : जनकपुर उपमहानगरपालिका वडा नम्बर २, ३, ४, ८, ९ र ११ को वडा एरियामा लकडाउनको उल्लंघन गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई आइतवार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-४ डेरा गरी बस्ने बारा कलैया नगरपालिका-२ घर भएका ३५ वर्षीय रामप्रकाश साह सहित १४ जनालाई पक्राउ गरेको हो।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध जनकपुरमा ‘गो कोरोना गो’ भन्दै आइतवार राति दीप प्रज्वलनसहित पटाका पड्काइएको थियो। अध्यात्मिक भन्दै दीप प्रज्वलन र थाली पिटेपछि कोरोना भाग्ने भन्ने विश्वासका साथ दिपावली मनाइएको स्थानीय दिलिप मिश्रले बताए। आइतवार बेलुकी करिब ९ बजेदेखि जनकपुरभर नै दीप प्रज्वलन सहित थाली पिट्दै पटकासमेत पड्काइएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।