PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

लकडाउनको असर नियमित औषधि सेवन गर्ने एचआइभी संक्रमितलाई



पहिलोपोस्ट

लकडाउनको असर नियमित औषधि सेवन गर्ने एचआइभी संक्रमितलाई
Photo: Healthline.com

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमणको रोकथाम तथा न्यूनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर परेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो।

औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको छ। राष्ट्रिय एचआइभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पुर्‍याएर सहजता प्रदान गरेपनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए। अहिले एचआइभीसँग सम्बन्धित काम गर्दै आएका संघ संस्थाहरुको समन्वयमा घरघरमा औषधि पुर्‍याउन थालेपनि एक स्थानीय निकायदेखि अर्कोमा जान बन्द गर्ने निर्णयले भने समस्या आउन सक्ने उनको भनाइ छ।

हाल देशभर १८ हजार ५ सय ५५ जना एआरटी लिनेको संख्या रहेका छन्। समाजमा विद्यमान कुरीती र कुप्रथा एवं समाजमा ब्याप्त पुरानो विचारधारा, लान्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधि लिनेहरुमा समस्या देखिको छ। यद्यपी महासंघले आपसी समन्वयमा सम्बन्धित जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरी तत्काल समस्या समाधान गरिहेको छ।

एचआइभी संक्रमितले लिँदै आएको औषधि एआरटीको स्टक दुई महिनाको लागि मात्र रहेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ।

काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि लिँदै आएका छन्। ठूलो संख्यामा औषधि लिने एकै मात्र एआरटी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट आफ्ना औषधि लिनेहरुको घरघर औषधि पुर्‍याउने काम भइरहेको छ। हाल देशभर ८० वटा एआरटी सेन्टरबाट एचआइभी संक्रमितहरुले औषधि लिँदै आएका छन्। यस्तै देशभरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell