PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

किसानलाई कोरोनाको भन्दा बाली थन्क्याउनको चिन्ता, सावधानी अपनाउन चिकित्सकको सुझाव



राधेश्याम पटेल

किसानलाई कोरोनाको भन्दा बाली थन्क्याउनको चिन्ता, सावधानी अपनाउन चिकित्सकको सुझाव

वीरगंज : नेपाल सरकारले तेस्रोपटक लकडाउनको समयसीमा थपिरहँदा ग्रामीण भेगमा भने गहुँ भित्र्याउने चटारोले किसानहरू चिन्तित बनेका छन्।

केही किसानहरु एक साता घरभित्रै बसे तापनि अब विस्तारै खेतमा सुकिरहेको गहुँ काट्न र भित्र्याउन व्यस्त देखिएका छन्। वीरगंज–२१ लिपनीबिर्ताका नरेन्द्र पटेलले खेतको गहुँ बर्बाद भए भोलि के खाने भन्ने चिन्ता निम्तिने बताए। उनले शुरूमा कम्बाइन हार्भेस्टरबाट ५ कट्ठामा लगाइएको गहुँबाली भित्र्याउने सोचेको भएपनि कम्बाइन हार्भेस्टर नभेटिएपछि परम्परागत विधिबाट नै गाउँका दशजना लगाएर र घरपरिवार मिलेर गहुँ कटानी गरेको उनी सुनाउँछन्।

वीरगंज–२२ जगरनाथपुरका लालबाबू राउतले पनि अब धेरै दिन घरमै बसेर बालीनाली बर्बाद भएको देख्न नसक्ने अवस्था सिर्जना भएपछि गहुँ भित्र्याउन लागिरहेको बताए।

‘सरकारले खाली लकडाउन लगाइरहेको छ तर मान्छे घरभित्र खान नपाएर भोकभोकै बसिरहेका छन्। दैनिक ज्यालादारीमा काम गर्ने झनै पीडित भएका छन्,’ उनले भने, ‘अब खेतमा काम गर्नुको विकल्प छैन। गाउँमा हल्ला छ, शहरमा मात्र कोरोना लाग्छ, गाउँमा आउँदैन, त्यसकारण खेतमा काम गर्दैछु।’

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामचन्द्र यादवले कोरोनाले गर्दा खेती रोक्न नमिल्ने तर किसानलाई उचित सुरक्षा सतर्कता बारेमा स्थानीय तहमा रहेका कृषि कर्मचारी तथा जनप्रतिनिधिहरूले जनचेतना जगाउनुपर्ने बताए। पर्सामा यस वर्ष करिब २६ हजार हेक्टर जग्गामा गहुँबाली लगाइएको बताउँदै उनले सबै किसान तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई खेतमा काम गर्दा कम्तीमा ६ फिटको दुरी बनाएर काम गर्न आग्रह गरे।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा अरूणकुमार सिंहले विदेशबाट आएका कोरोना पीडितले परिवारजन र छिमेकमा कोरोना सार्ने दोस्रो चरणको अवस्थामा नेपाल गुज्रिरहेकोले खेतीपाती गर्ने किसान पनि जोखिममा रहेको बताए। सरकार र स्थानीय जनप्रतिनिधिले यस विषयमा गम्भीर बनेर गाउँलेहरूलाई प्रशिक्षण दिनुपर्ने उनले बताए।

‘खेतमा काम गर्न सकिन्छ तर सामाजिक दुरी र रूघाखोकीका बिरामीहरूबाट टाढै बस्न ठीक हुन्छ’, उनले सुझाव दिँदै भने, ‘पटकपटक साबुन पानीले हात धुन र मास्क लगाउन पर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell