PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

बैठकमा सहभागी हुन कालीकोट गएका कानुनमन्त्री भण्डारी ‘थ्रोट स्वाब’ लिएर फर्किए सुर्खेत



रासस

बैठकमा सहभागी हुन कालीकोट गएका कानुनमन्त्री भण्डारी ‘थ्रोट स्वाब’ लिएर फर्किए सुर्खेत
Photo: mantacc.com

सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका कानुनमन्त्री भण्डारी बैठक सम्पन्न भएपछि सोमवार नै पाँचजनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका हुन्।

मलेसियाबाट आएका सान्नी त्रिवेणी गाउँपालिका-१ कालीकोटका एक, वडा नम्बर २ का एक, कतारबाट आएका सोही गाउँपालिका वडा नम्बर ४ का दुई र कैलालीदेखि आएका शुभकालिका गाउँपालिका–३ कालीकोटका एकजनाको ‘थ्रोट स्वाब’ लिएर मन्त्री भण्डारी फर्किएका स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी कटक महतले जानकारी दिए।

‘नेपाल सरकारले विदेशबाट आएका नागरिकको थ्रोट स्वाब अनिवार्य जाँच गर्ने निर्देशनानुसार संकलन गरेर मन्त्रीकै सहयोगमा सुर्खेत पठाएका छौँ’, अधिकृत महतले भने, ‘१४ दिन पुगेकाले सबैजना अहिले घर फर्के पनि परीक्षणको रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ।’

कालीकोटभरि १६५ पुरुष र ११ महिला गरी १७६ लाई क्वारेन्टाइनमा राखिएकामा १४ दिन पूरा भइसकेकालाई घर फर्काउँदा हाल २९ जनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए।

कानुनमन्त्री भण्डारीले ‘कोभिड-१९’को प्रतिकार्य, रोकथाम र नियन्त्रणार्थ जिल्ला तथा स्थानीय तहको कार्यान्वयन अवस्थाबारे बुझ्न आइतवार दैलेख, कालीकोट हुँदै जुम्ला पुगेका थिए। आज कालीकोटको विपद् व्यवस्थापन समितिको बैठकबाट जिल्लाको हालसम्मको अवस्था सामान्य रहेको उनले बताए। कर्णाली प्रदेशको राजधानीस्थित प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण ल्याब भएकाले ‘थ्रोट स्वाब’ परीक्षणका लागि आफैँले साथमै लिएर आएको उनले जनाए।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको परिचालन तथा व्यवस्थापन समितिको संयोजकसमेत रहेका उनले ‘कोभिड–१९’को प्रतिकार्य, रोकथाम र नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन प्रतिष्ठानमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि पहल गर्ने निर्णय भएको बताए।

त्यस्तै, १२० आइसोलेसन वार्ड, आइसियू १० र पाँच भेन्टिलेटरसमेतको व्यवस्था गर्नेगरी प्रतिष्ठानको तयारी भइरहेको उनको भनाइ थियो। सोमवारको कालीकोटको विपद् व्यवस्था व्यवस्थापन समितिको बैठकमा उनले प्रजिअ कृष्णचन्द्र पौडेल, स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा भीष्मप्रसाद पोखेरेललगायत सुरक्षाकर्मी, जिसस तथा नौवटै स्थानीय तहका प्रमुखलाई निर्देशन दिएर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell