
- आयशा इम्तियाज-
पछिल्लो दुई सातायता कराँचीका किराना पसल अगाडि अनौठा दृश्य देखिँदै आएका छन्। कोभिड-१९ को संक्रमणबाट बच्न मानिसहरू सामान किनेर घरमा जानुको सट्टा अधिकांश पाकिस्तानीहरू बास नभएका गरिब मानिसहरूलाई खाना, पैसा तथा अन्य सहायता प्रदान गरिरहेका छन्। उदारताका यी उदाहरण सहायता पाउनेहरूको शुभेच्छाका साथ अगाडि बढ्छन्: 'कोरोना भाइरस छिट्टै सकियोस्।'
कोरोना भाइरसको महाव्याधिविरुद्ध अधिकांश देशहरूले अपनाएको कठोर उपाय पाकिस्तानले पनि अपनाएको छ। विद्यालय बन्द छन्। सार्वजनिक भेलामा रोक लगाइएको छ। किराना तथा औषधि बाहेकका पसल बन्द छन्।
तर, अरू देशले अपनाए जस्तो अनिश्चितकालीन लकडाउन लगाउँदा प्रभाव धेरै गम्भीर आर्थिक संकट र सम्भावित घातक परिणाम हुन सक्छ।
हालै कोरोना भाइरससम्बन्धी देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भनेका थिए, '२५ प्रतिशत पाकिस्तानीले दिनमा दुई छाक चलाउन पनि सक्दैनन्।' यदि यहाँ लकडाउनलाई कडाइ गर्दै मानिसहरूलाई घरभित्रै रहन दबाब दिने हो भने सडकमा ठेला चलाएर गुजारा चलाउनेदेखि जुत्ता सिलाउनेसम्मका धेरै मानिसहरूले सातासम्म कमाउन पाउने छैनन् र उनीहरू भोकै पर्नेछन्।
टेलिभिजनमा प्रसारित सम्बोधनलाई टुंग्याउँदै पाकिस्तानको गम्भीर वास्तविकता सम्झिएका थिए, 'यदि हामीले शहर सटडाउन गर्यौँ भने एकतर्फ हामीले उनीहरूलाई कोरोना भाइरसबाट बचाउने छौँ तर, अर्कोतर्फ उनीहरू भोकले मर्नेछन्। पाकिस्तानसँग अहिले अमेरिका वा युरोपको जस्तो अवस्था छैन। हाम्रो देशमा व्यापक गरिबी छ।'
तर यसमा पनि आशा भने छ।
महाव्याधिलाई लक्षित गर्दै पाकिस्तानीहरू एकापसमा बाँधिएका छन्- आफ्नो अद्वितीय र प्रेरणादायी तरिकाबाट कम आय भएकाहरूलाई सहयोग गर्न।
विशेषगरी अधिकांशले 'जाकात' दिइरहेका छन्। जाकात परम्परागत मुस्लिम च्यारिटी ट्याक्स हो जसले बास नभएका, स्वास्थ्य बीमा अथवा आर्थिक सुरक्षा नभएका दैनिक ज्यालादारीमा काम गर्नेलाई सहयोग गर्छ।
अरविकमा 'जाकात' अर्थ शुद्धीकरण हुन्छ। इस्लामका पाँच पिल्लर अनुसार यो एउटा धार्मिक कर्तव्य पनि हो। आफ्नो वार्षिक आयको २.५ प्रतिशत सम्पत्ति यसमा दिनु बाध्यकारी जस्तै छ। निसाव वा थ्रेसहोल्डका लागि कडा मापदण्ड छन्। यसबाट उनीहरूको सम्पत्ति जाकातका लागि उत्तरदायी हुन्छ। कसले यसलाई प्राप्त गर्ने हुन भन्ने पनि तोकिएको हुन्छ।
संसार क्षणिक हो र सबैलाई सृष्टिकर्ताको उदारताबाट प्रदान गरिएको छ भन्ने विश्वासबाट जाकातले जोसँग छैन वा जो कम भाग्यशाली छ उसले समुदायको हिस्सा प्राप्त गर्छ।
कोरोना भाइरस आउटब्रेकविरुद्ध विश्व भौतिक सरसफाइमा जुटिरहेका बेला पाकिस्तान आध्यात्मिक सफाइमा रहेको कराँचीको हमदर्द विश्वविद्यालयका मलिक्युलर बायोलोजिस्ट डाक्टर इम्तियाज अहमद खान बताउँछन्। 'जाकात आध्यात्मिक सफाइ हो,' धन हातको मैला हो भन्ने पुरानो उक्तिलाई स्मरण गर्दै उनले भने, 'जाकातले सम्पत्तिबाट हुने अशुद्धतालाई हटाउँछ। यदि कोही छिमेकी भोकै बिस्तारामा गयो भने म त्यसको उत्तरदायी हुन्छु। कोही भोकै सुत्दा मैले कसरी अधिक भण्डारण गरेर बस्न सक्छु?'
उदारताको यो भावना पाकिस्तानी डिएनएभित्र कडा रूपमा डेरा जमाएर बसेको छ। वास्तवमा विश्वका ४७ मुस्लिम बहुल देशहरूमा जाकात स्वयंसेवी रूपमा गरिने योगदानको रूपमा रहेको छ। तर, पाकिस्तान विश्वका छ यस्ता देशहरू मध्ये एक हो जहाँ जाकात अनिवार्य छ र सरकारले संकलन गर्छ।
'पाकिस्तान एउटामात्र यस्तो देश हो जुन इस्लामको नाममा स्थापना भएको हो र यसको कानुनमा पनि आध्यात्मिक चेत प्रतिविम्वित छ,' अक्सफोर्ड इन्साइक्लोपेडिया अफ इस्लामिक वर्ल्डका लेखक रिजवन हुसेनले भने।
स्टान्डर्ड सोसल इनोभेसन रिभ्युको तथ्याङ्क अनुसार पाकिस्तानको जिडिपीको एक प्रतिशत हिस्सा च्यारिटीले ओगटेको छ। जुन धनी राष्ट्रहरू संयुक्त राज्यमा १.३ र क्यानडामा १.२ प्रतिशत छ। जुन भारतको जिडिपीभन्दा दोब्बर हिस्सा हो। नेशनवाइड स्टडीको रिपोर्ट अनुसार ९८ प्रतिशत पाकिस्तानी च्यारिटीमा सहयोग गर्छन्।
'देशको रूपमा हामीसँग केही नहोला तर हामीसँग विशाल हृदय छ,' लम्बर्गमा बस्ने एक पाकिस्तानी एम सोहेल खानले भने, 'कुनै गाउँमा मात्र जानुस् सबैको ढोका तपाईँका लागि खुला हुनेछ। यो हाम्रो पहिलो संस्कार हो। हामीले अभाव भोगेका छौँ। हामीसँग करुणा र सहानुभूति छ।'
कोरोना भाइरसको संक्रमण फैलिएसँगै धेरै पाकिस्तानीहरूले अनिवार्य दिनुपर्ने २.५ प्रतिशतभन्दा बढी जाकात दिइरहेका छन्। जाकात दिन नसक्नेहरूले पनि आफ्नो क्षमता अनुसार सहयोग गरिरहेका छन्। र यो सहयोगलाई परिचालन गरिएको छ।
यो सहयोग मासिक रूपमा रासनका प्याकेट तयार पार्न खर्च भएको छ। जुन दैनिक ज्यालादारी गरेर दुई छाक टार्नेहरूलाई दिइँदै आएको छ। यी प्याकेटमा अत्यावश्यक खाद्य सामाग्री दाल, पिठो, घ्यु, तेल, चिनी, चिया राखिएका हुन्छन्। यी प्याकेट विशेषगरि रमादानमा वितरण गरिन्छ। अहिले भने कोरोना भाइरसको महामारीसँगै प्रभावित दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरूलाई वितरण गरिएका छन्। यो प्याकेटमा यसपटक साबुन पनि हालिएको छ।
फैसल भुखारीले दैनिक ज्यालादारी गरेर खानेहरूको लागि छुट्ट्याइएको क्षेत्रमा राहत बाँडिरहेका छन्।
'यस साता सोचिएभन्दा अधिक राहत संकलन भयो। सहयोगसम्बन्धी सोधी-खोजी गर्नेहरूले दैनिक १० देखि २५ कल गरिरहेका छन्। कहिलेकाहीँ बढी नै,' उनले भने।
अरूले पनि यस्तै पहल गरिरहेका छन्। पछिल्ला केही दिनमा सहयोग गर्ने यस्ता समूहहरू च्याउ जस्तै उम्रिएको अनुभव कराँची इन्स्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेसनका शिक्षक अहमद साजादले गरेका छन्। उनलाई यतिबेला २००५ को भूकम्पको झल्को आइरहेको छ। त्यतिबेला पनि यस्तै सहयोग वितरण गर्ने बढेका थिए।
लकडाउनका बेला सडकमा गएर राहत संकलन गर्नेभन्दा अहिले सामाजिक सञ्जालबाट राहत संकलन भइरहेको उनले बताए।
अन्तर्राष्ट्रिय च्यारिटी संस्था सार्क फाउन्डेसन चलाइरहेका शाविहा अख्लाकले अहिले अवस्था नाजुक रहेको बताइन्। 'हामी एक ठाउँमा राहत बाँडिरहेका थियौँ। एकजना कराउन थाले। किनकि उनका परिवारका अन्य चार सदस्यहरूले २९ घण्टादेखि खान पाइरहेका छैनन्।' कोभिड-१९ को लकडाउनका बाबजुद पनि सार्क फाउन्डेसनमा दानको बाढी नै चलेको उनले बताए।
'हामीले हरेक दिन २०० बढीलाई ताजा खाना खुवाइरहेका छौँ। र रासनका प्याकेट पनि बाँडिरहेका छौँ,' उनले भने।
पाकिस्तानभर अहिले ह्वाट्सएपसहितका सामाजिक सञ्जालहरूमा सहयोगका लागि अपिलहरूले भरिएका छन्। यसमा महिलाहरूले पनि ठूलो भूमिका खेलिरहेका छन्। उनीहरुले घरमै पिठो, दाल तथा तेलहरूको संकलन गरिरहेका छन्। अधिकांशले टेलिफोनको सहयोगमा सहायता पठाइरहेका छन्। यो अभ्यास पाकिस्तानमा यसअघि भएको थिएन।
रविनहुड आर्मी जस्ता स्वयंसेवी संस्था राहत सामाग्री वितरण गर्न व्यस्त छन्। इदी फाउन्डेसन, सयालानी वेलफेयर ट्रस्ट जस्ता संस्थालाई सामाजिक सञ्जाल तथा ह्वाट्सएपबाट सहयोगका लागि आग्रह गर्न सक्छन्। सोही बमोजिम यी संस्थाले सहयोग पुर्याउँदै आएका छन्।
अहिलेसम्म यसले पाकिस्तानलाई राहत दिइरहेको छ। कराँचीकी एक शिक्षिका सउविया साहिदलाई यतिबेला राहत बाँड्न भ्याइ-नभ्याई छ। उनलाई रविनहुड आर्मीले सहायता बाँड्न खटाएको छ। यसअघि राहत बाँडिएकाहरुलाई पुनः अप्रिल वा मेमा पनि पुग्न भनिएको छ।
पाकिस्तान सरकारको पछिल्लो तथ्याङ्क अनुसार २०१८-२०१९ मा मात्र सात अर्ब ३७ करोड ७६ लाख ७८ हजार जाकात संकलन भएको थियो। यो रकम राज्य कोषमा जम्मा भएको तथ्याङ्क मात्र हो। यसबाहेक प्रत्यक्ष रूपमा प्रदान गरिएको सहयोगको हिसाब छैन।
अहिले पनि धेरैलाई घरमै बसे पनि तलब दिइएको छ।
'एक उत्तरदायी राष्ट्रको नाताले पाकिस्तानमा केही हतसम्म व्यक्तिवादी र पुँजीपति सोच अझै छ,' पाकिस्तानका कर्पोरेट बैंकर इमरान ब्लोचले भने, 'जोसँग पुग्ने भाग्छ छ उनीहरूले नहुँनेहरूलाई सहयोग भने गरिरहेका छन्। किनकि उनीहरूले यसलाई आफ्नो कर्तव्यको रूपमा लिन्छन्। यस्तो भावना कोभिड-१९ जस्ता संकटको घडिमा अझ बढ्छ।'
मुस्लिमका लागि यस वर्ष अप्रिल २३ मा सुरु हुने रमादानमा जाकात प्रदान गर्ने परम्परागत चलन नै हो। यो संख्या अझ यो महिनाभर बढ्नेछ। पाकिस्तानको राष्ट्रिय प्रसारणमा कोभिड-१९ को महाव्याधिको बारेमा बोल्दै इस्लामिक विचारधारा परिषद्का अध्यक्ष डा. क्युवाला अयाजले यसपटक जाकातलाई पहिले नै दिन अनुरोध गर्दै यसले कोभिड-१९ विरुद्धको लडाईँमा मद्दत पुग्ने बताएका थिए।
महाव्याधिको यो समय पाकिस्तानका लागि सही त होइन। रमादानको अघिल्लो दुई महिनामा देखिएको कोभिड-१९ को महाव्याधिले धेरै पाकिस्तानीलाई निराश पक्कै बनाएको छ। किनकि उनीहरूका विवाहसहितका धार्मिक कार्यहरू पनि प्रभावित भएका छन्। तर पनि आशा अझै छन्। पाकिस्तानीहरूले हार भने मानेका छैनन्।
कराँचीमा रेडियो स्टेसन चलाउने सन्दुस रसिदले कराँचीको भावना अनुसार जाकातभन्दा माथि उठेर सहयोग गरेको बताए। मसँग व्यक्तिगत रूपमा त्यति धेरै बचत त छैन। तर पनि हामीले केही स्वास्थ्य सामाग्री वितरण गर्यौँ। म बस्ने ठाउँ नजिकै दैनिक ज्याला मजदुरी गर्ने धेरै छन्। हामीले चार सय प्याकेट वितरण गर्यौँ,' उनले भने।
पाकिस्तानमा जाकात र धार्मिक च्यारिटीलाई शक्ति मानिन्छ। महाव्याधि जस्ता संकटको बेला यस्ता सहयोगले संकट छिट्टै सकिने आशा जगाउँछ।
हामी पाकिस्तानीहरू विश्वास गर्छौँ कि एउटा असल कामले अर्को खराब कामलाई परास्त गर्छ। सम्भवतः हाम्रो उदारता भाइरसभन्दा चाँडो फैलिने छ।